समाज


उपत्यकामा आइसोलेसन सेन्टरलाई नै सरकारले बनायो कोभिड अस्पताल

उपत्यकामा आइसोलेसन सेन्टरलाई नै सरकारले बनायो कोभिड अस्पताल

यज्ञराज जोशी
असोज २६, २०७७ सोमबार ११:२९,

सरकारले हाल आइसोलेसन सेन्टरका रुपमा प्रयोग गरिएका केन्द्रहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन ह्वात्तै बढेर अस्पतालका बेडहरु नपुग्ने अवस्था सिर्जना भएपछि सरकारले सो निर्णय गरेको हो।

स्वास्थ्य मन्त्रालयले हाल दहचोकस्थित मनमोहन शिक्षण अस्पताल र कीर्तिपुरको राष्ट्रिय आर्युवेदिक तालिम केन्द्रलाई स्तरोन्नति गर्दै कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

अब यी आइसोलेसन सेन्टरमा कोभिड–१९ का बिरामीहरुको उपचार हुनेछ।

ManmohanHospital buildingआइसोलेसनका रुपमा प्रयोग गरिएको यस मनमोहन अस्पताल भवनलाई अब कोभिड अस्पताल बनाइने भएको छ।

दुबै आइसोलेसन सेन्टरलाई अस्पतालमा परिणत गरेपछि तीन-तीन सय बेडहरु हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल उपत्यकामा लक्षण नभएपनि संक्रमण पुष्टि भएका तर होम आइसोलेसनमा बस्न समस्या भएका संक्रमितहरुलाई आइसोलेसन सेन्टरमा राख्ने गरिएको छ।

लक्षण भएका बिरामीहरुलाई भने हाल अस्पताल भर्ना गर्ने गरिएको छ। आइसोलेसन सेन्टरलाई अस्पतालमा परिणत गरेपछि लक्षण भएका बिरामीको समेत त्यहाँ उपचार हुनेछ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले डिस्चार्ज हुनेभन्दा सक्रिय संक्रमित थपिने क्रम तीव्र रहेकाले अस्पतालका बेडहरुले नधान्ने अवस्था आइसकेको बताए।

संख्या निरन्तर बढ्दैै गएको र अस्पताल भरिएका कारण आइसोलेसन सेन्टरलाई अस्पतालका रुपमा परिणत गरिएको प्रवक्ता गौतमले बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारसम्म उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको संख्या १९ हजार ७ सय ३९ छ। तीमध्ये काठमाडौंमा १५ हजार ९ सय ५१, ललितपुरमा २४ सय ४१ र भक्तपुरमा १३ सय ४७ छन्।

उपत्यकामा अस्पताल र आइसोलेसनका बेडहरु मिलाएर ६ हजारमात्रै उपलब्ध छन। बाँकी संक्रमितहरु होम आइसोलेसनमा भएका कारण अहिले जसोतसो बेडहरु पुगिरहेका छन।

‘यसरी नै संक्रमण वृद्धिदर जारी रहँदा थप अस्पतालको सेवा र बेडहरु आवश्यक पर्ने देखिन्छ। थप बिरामीको भार धान्न अहिलेका आइसोलेसन सेन्टरहरुलाई पनि अस्पतालका रुपमा विकास गर्ने योजनाअघि सारिएको हो,’ प्रवक्ता गौतमले भने।

यस्तै मन्त्रालयले उपत्यकाका सबै सरकारी अस्पताललाई कोरोना बिरामीको उपचारमा केन्द्रित गराउने समेत निर्णय गरेको छ।

मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड अस्पतालका रुपमा प्रयोग गर्दा स्वास्थ्य सेवा विभागबाट आवश्यक सामग्रीहरु उपलब्ध गराउने निर्णय गरिएको उनले बताए।

त्यसबाहेक भएकै अस्पतालहरुको अधिकतम प्रयोग र क्षमता वृद्धिमा आफूहरु लागेको प्रवक्ता गौतमले बताए।

‘सुरुमा भएकै अस्पताल, संरचनाको अधिकतम सदुपयोग गर्नुपर्यो। कोभिडका कारण अन्य रोगका बिरामीहरु अस्पताल कम आउँदा अहिले अस्पतालहरु खाली पनि छन,’ प्रवक्ता गौतमले उदाहरण दिँदै भने, ‘वीर अस्पतालको क्षमता ३५० बेडको हो।

अहिले कोरोनाका लागि १४० बेडमात्रै छुट्टाएका छन। यसलाई बढाउने र थप विस्तार गर्ने योजना मन्त्रालयको छ।’

‘मोडरेट’ बिरामी राखिने, अक्सिजनसम्मको व्यवस्था
मन्त्रालयले कोभिड अस्पताल बनाउने निर्णय गरेको आइसोलेसन सेन्टरहरुमा मोडरेट (राेगकाे अवस्थाका आधारमा मध्यम खालका) बिरामीहरुको उपचार हुने जनाएको छ।

त्यहाँ अक्सिजन सुविधा उपलब्ध हुने मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए।

‘त्यहाँ २४सै घण्टा चिकित्सक, स्वास्थ्यकर्मीको टोली र अक्सिजनसम्मको व्यवस्था हुन्छ,’ उनले भने, ‘थप समस्या देखियो भने तत्काल अस्पताल रेफरका लागि एम्बुलेन्स तयार हुनेछ।’

अधिकारीले अहिले आइसोलेसन सेन्टरमा रहेका संक्रमितहरुलाई क्रमशः डिस्चार्ज गर्दै लगिने र मोडरेट बिरामीहरु बढेको खण्डमा उनीहरुलाई अर्को आइसोलेसनमा सार्न सकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .