सप्तरीकी महिलाको हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
गत असोज १० गते राति तिरहुत गाउँपालिका २ मैनाकडरीका शिक्षक शिवनारायण यादवकी श्रीमती ५० वर्षीया दाइमनदेबी यादवको हत्या भएको थियो।
हत्या अभियोगमा सोही ठाउँका २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भन्ने ओमप्रकाश यादव, सप्तरीको कन्चनपुर नगरपालिका ११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह पक्राउ परेको प्रदेश नं २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए।
असोज १० गते राति घरमा एक्लै भएको समयमा यादवको हत्या भएको थियो। उनीहरुले डोरीले घाँटीमा बाँधेर हत्या गरेको खुलेको छ। बमबहादुरले हत्या गरेको र अरु दुई जनाले बाहिर कोही आउँछ कि भनेर रेक्की गरेको खुलेको छ।
मृतक यादवकी देवरानीसँग ओमप्रकाशको अनैतिक सम्बन्ध रहेको र उक्त कुरा ती महिलाले थाहा पाएपछि हत्या गरेको पाइएको छ। यस्तै अजय यादव र मृतकको बीच जग्गा विवाद समेत रहेको पाइएको छ। मृतकको दुई बिघा जग्गा अजयका बुबाले २०४७ सालदेखि जोतभोग गरेकोमा बाली नबुझाउँदा विवाद थियो।
पक्राउ परेका बम बहादुर साह विगतमा सशस्त्र समूह मधेश मुक्ति टाइगर्समा आबद्ध भएको र त्यसबेला शिक्षक रामनारायण साहको हत्या गरेका थिए। उनी उक्त घटनामा ८ वर्ष जेल बसी २ वर्षपहिले मात्रै जेलमुक्त भएका थिए। उनलाई ओमप्रकाश र अजयले संलग्न गराएको पाइएको छ।
Shares

प्रतिक्रिया