समाज


महामारीका बेला गाउँगाउँ पुगेर सेवा दिँदैछिन् बिल गेट्सकी हिरो लक्ष्मी

महामारीका बेला गाउँगाउँ पुगेर सेवा दिँदैछिन् बिल गेट्सकी हिरो लक्ष्मी

यज्ञराज जोशी
असोज २९, २०७७ बिहिबार १३:२४,

साउनमा लक्ष्मी रायमाझीलाई काभ्रेको खानीखोला गाउँपालिकाको मिल्चे, तालढुंगा, फलामेटार लगायत स्थानमा परिवार नियोजनसम्बन्धी सेवा दिन पुग्नु थियो। तर, एकातिर कोरोना भाइरसका संक्रमण फैलिरहेको थियो भने अर्कातिर वर्षाका कारण बाटोघाटो बिग्रिएको थियो।

मेरी स्टोप्स सेन्टरमा भिजिटिङ सर्भिस प्रोभाइडर अर्थात् गाउँगाउँ पुगेर सेवा दिने जिम्मेवारी बोकेकी लक्ष्मीले यी दुवै चुनौतीलाई पन्छाइन् र सेवा प्रदान गर्न हिँडिन्।

बनेपाबाट हिँडेको उनको कार्यालयको गाडी बाटो बिग्रिएका कारण बीचबाटै फर्कियो। लक्ष्मी भने पिठ्युमा गह्रौं झोला बोकिन्, लौरो टेकिन् र हिँडेरै गाउँतर्फ लागिन्।

No description available.

महामारीका कारण प्रायः मानिसहरु घरमै थिए। यसबेला कतिले प्रयोग गरिरहेको परिवार नियोजनका अस्थायी साधनको समयावधि सकिएको थियो। कतिलाई नयाँ प्रयोग गर्नुपर्ने थियो। संक्रमण र लकडाउनका कारण कति स्वास्थ्य संस्थासम्म पुग्न सकेका थिएनन। समयमै सेवा दिन नसके स्थानीयलाई अनावश्यक गर्भ रहने समस्या हुन्थ्यो। त्यसले शारीरिक र मानसिक समस्या सिर्जना गर्नसक्थ्यो।

‘उकाली, ओराली दुर्गम सडकमा गह्रौं भारी बोक्दै लगातार तीन घण्टा हिँडेँ। वर्षातमा बढेका खोल्सा तर्दा लगाएका चप्पल नै बगे,’ लक्ष्मीले सम्झिइन्, ‘त्यसरी गन्तव्यमा पुगेर सेवा पाउँदा स्थानीय खुसी हुन्थे। उनीहरुको मुहारमा खुसी देख्दा हामी दुःख बिर्सिन्थ्यौं।’

त्यसबेला लक्ष्मीले मिल्चेमा २५, फलामेटारमा ९ र तालढुंगामा १४ जनालाई सेवा दिएकी थिइन्। यी स्थानहरुमा पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्न दुई तीन घण्टाको बाटो तय गर्दै जानुपथ्र्यो।

कोरोना महामारीका क्रममा यसरी दुर्गममा कष्टप्रद बाटो पार गर्दै लक्ष्मीले सेवा दिएको यो पहिलो पटक होइन। लकडाउनयताका आठ महिनामा दुर्गमका सयौं महिलालाई उनले परिवार नियोजनसम्बन्धी सेवा दिएकी छन्। एक महिनामै २० ठाउँ पुगेको सम्झना उनलाई छ।

कामप्रतिको उनको यही समर्पणका कारण माइक्रोसप्टका संस्थापक खर्बपति बिल गेट्सले आफ्नो ब्लगमा लक्ष्मीलाई महामारीका बेला आफ्नो कर्ममा खटिने छायाँमा परेका नायकमध्ये एक भनेका छन्।

गेट्सले आफ्नो ब्लगमा ‘महामारीमा छायाँमा परेका ७ हिरोहरु’ शीर्षकमा एक आलेख प्रकाशित गर्दै कोरोना महामारीका बेला पनि सक्रिय विश्वका ७ जना कर्मठबारे चर्चा गरेका छन्।

लक्ष्मीका बारेमा गेट्स लेख्छन्, ‘घण्टौँको कठिन यात्र गरेर लक्ष्मी दुर्गम गाउँमा सेवा दिन पुग्छिन्। महामारीले उनको यात्रामा चुनौती झनै बढाइदिएको छ। तर त्यसका बाबजुद लक्ष्मीजस्ता स्वास्थ्यकर्मीको खटाइकै कारण दुर्गमका महिलाहरु परिवार नियोजनसम्बन्धी सेवाबाट वञ्चित हुनुपरेको छैन।’

No description available.

ग्रामीण क्षेत्रमा पुगेर स्थानीयलाई यसरी सेवा दिन थालेको लक्ष्मीले चार वर्ष पुग्यो। यसअघि तीन वर्ष उनले मकवानपुरका गाउँगाउँ पुगेर सेवा दिइन्। लकडाउनकै बेला उनको सरुवा गृहजिल्ला काभ्रेमा भएको हो।

बिल गेट्सले समेत उनको कामको प्रशंसा गरेपछि लक्ष्मीलाई अहिले बधाईको ओइरो लागेको छ। विश्व चर्चित व्यक्तिले आफ्नो कामको पहिचान गरेर सार्वजनिक गर्दा आफूले थप प्रेरणा प्राप्त गरेको उनी बताउँछिन्।

‘पत्रपत्रिकामा खबर आएपछि लगातार बधाई आउन थाल्यो। आफूलाई पनि धेरै खुसी लाग्यो,’ लक्ष्मीले भनिन्, ‘यो मेरोमात्रै नभएर हामी सबै स्वास्थ्यकर्मीको पहिचान हो जस्तो लाग्छ। महामारीका बेला पनि सुखदुखका साथ खटिएका सम्पूर्णलाई यसले प्रेरणा दिने विश्वास गरेकी छु।’

गेट्सले संसारभरी नै आफ्ना सम्पर्क कार्यालयहरुमार्फत यसरी महामारीमा खटिएर सेवा दिइरहेका मानिसहरुको सूची बनाएका थिए। त्यसैक्रममा महामारीका बेला दुर्गममा निरन्तर सेवा निरन्तर दिइरहेका मेरी स्टोप्स सेन्टरमा गेट्सका प्रतिनिधि पुगेका थिए। मेरी स्टोप्सले नै प्रेरणादायी पात्रका रुपमा लक्ष्मीलाई छानेको हो।

‘बिल गेट्सजस्ता प्रसिद्ध परोपकारी व्यक्तिले महामारीका बेला छायाँमा परेकी नायकका रुपमा हाम्री लक्ष्मी रायमाझीलाई चिनाउँदा हामी निकै खुसी भएका छौं,’ मेरिस्टोप्सका सत्यजित प्रधान भन्छन्, ‘लक्ष्मीजस्ता सेवाप्रदायकले महामारीमा आफ्नो ज्यान जोखिममा राखेर गरेको कार्यलाई यसले सच्चा पहिचान पनि दिएको छ।’

कोरोना त्रासका कारण अधिकांश कार्यालयहरुमा घरबाटै काम भइरकोको छ। यस्तो बेला गाउँगाउँ हिँड्दा लक्ष्मीलाई संक्रमणको जोखिम छ।

‘धेरैलाई भेट्नुपर्ने भएकाले हामीलाई उच्च जोखिम त हुन्छ नै। तर सक्दो सावधानी अपनाएकै कारण अहिलेसम्म सुरक्षित छौं,’ उनले भनिन्, ‘संक्रमण बढ्दै जाँदा थुप्रैले स्वास्थ्य संस्था गएर सेवा लिन सकिरहेका थिएनन्। हामी गाउँ पुगेपछि सेवाग्राही निकै खुसी हुन्छन र धन्यवाद दिन्छन्। त्यसैले हामीलाई काम गर्ने उर्जा थप्छ।’

महामारीकै बेला खटिने सरकारी स्वास्थ्यकर्मीलाई भने सरकारले प्रोत्साहन भत्ता लगायत सेवा सुुविधा दिएको छ। तर लक्ष्मीजस्ता स्वास्थ्यकर्मीलाई राज्यले नजरअन्दाज गरेको छ। आफूहरुजस्ता महामारीमा खट्ने स्वास्थ्यकर्मीका लागि समेत सरकारले केही प्रोत्साहनको कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .