कर्णाली प्रदेशमा देखिएको समस्याबारेमा नेकपाका नेताहरुले आज कर्णाली प्रदेशका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्।
कर्णाली प्रदेशमा नेकपाका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार अविश्वास प्रस्ताव ल्याएपछि समस्या चर्किएको थियो।
सो समस्या हल गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई सबै गतिविधि रोकेर काठमाडौं बोलाएका छन्।
प्रदेशका ती नेताहरु बिहीबार काठमाडौं आइपुगेका छन्। काठमाडौं उत्रिएलगत्तै उनीहरुले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम लगायतसँग छलफल गरेको एक नेताले जानकारी दिए।
‘हामीले काठमाडौं आएलगत्तै अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल र वामदेव गौतमसँग छुट्टाछुट्टै भेट गर्याैँ,’ ती नेताले भने, ‘उहाँहरुसँग कर्णाली घटनाको बारेमा विस्तृत जानकारी गराएका छौं।’
अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने यामलाल कँडेलले बिहीबार दिउँसो प्रचण्डसँग भेट गरेका थिए।
त्यसलगत्तै अविश्वास प्रस्तावमा हस्ताक्षर गरेर फिर्ता लिने पक्षका नेताहरूले प्रचण्डलाई खुमलटार पुगेर कर्णाली घटनाको बारेमा जानकारी गराएको सांसद चन्द्रबहादुर शाहीले बताए।
‘म लगायत दुईजना माननीयले अध्यक्ष प्रचण्डलाई कर्णाली घटनाको बारेमा स्पष्ट पारेका छौं,’ उनले भने, ‘त्यसपछि वरिष्ठ नेता र उपाध्यक्षलाई पनि भेट्यौं।’
कर्णालीका नेताहरू सँग समस्या समाधानका विषयमा अध्यक्ष तथा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग शुक्रबार दिउँसो छ्लफल हुँदैछ।
‘आज छलफल गर्ने कुरा थियो तर प्रधानमन्त्री व्यस्त हुनु भएछ, अब भोलि दिउँसो छलफल हुन्छु,’ सांसद शाहीले भने, ‘भोलिकै छलफलबाट एउटा निष्कर्ष निस्कन्छ।’
यसैबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि अध्यक्ष प्रचण्ड, सो क्षेत्रका इन्चार्ज जनार्दन शर्मालगायत नेतासँग छलफल गरेका छन्।
उनले समस्या समाधान गरेरै जाने बताएका थिए।
मुख्यमन्त्री शाहीबिरुद्व अविश्वास प्रस्ताव ल्याएपछि उनले आइतबार नै प्रमुख सचेतक गुलाव जंग शाहलाई हटाएर सचेतक सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए।
मुख्यमन्त्रीले रिक्त पदमा नेपाल पक्षकै कुर्मराज शाहीलाई सचेतक नियुक्त गरे भने नेपाल पक्षका सांसदहरूले अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरेका थिए।
दुवैपक्ष आआफ्नो ढंगबाट अघि बढेपछि दुई अध्यक्षले हस्तक्षेप गरी दुवैतर्फका नेताहरुलाई छलफलका लागि काठमाडौं बोलाएका हुन्।
Shares

प्रतिक्रिया