समाज


संक्रमितको मृत्यु भई आफन्तले शव व्यवस्थापन गर्नुपरेमा यस्ताे छ कार्यविधि

संक्रमितको मृत्यु भई आफन्तले शव व्यवस्थापन गर्नुपरेमा यस्ताे छ कार्यविधि

यज्ञराज जोशी
कात्तिक ३, २०७७ सोमबार ९:३१,

घरमै आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु भएमा आफन्तहरुले नै शव व्यवस्थापन गर्नसक्ने बाटो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोलिदिएको छ।

मन्त्रालयले कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि संशोधन गर्दै आफन्तहरुले नै शव व्यवस्थापन गर्नसक्ने मापदण्ड जारी गरेको हो।

यसअघि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र वा स्थानीय अधिकारीहरुको अनुरोधमा नेपाली सेनाको टोलीले संक्रमित मृतकको शव व्यवस्थापन गर्दै आएका थिए।

घरमै आइसोलेसनमा बस्नेहरुको संख्या बढ्दै गएको र दुर्गम लगायतका स्थानमा समयमै सेनाको टोली नपुग्ने अवस्था सिर्जना भएपछि सुरक्षाको मापदण्ड अपनाउँदै आफन्तले नै शव व्यवस्थापन गर्नसक्ने गरी कार्यविधि संशोधन गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

‘आइसोलेसन तथा अस्पतालहरुमा मृत्यु भएकाहरुको शव अहिले पनि सेनाको टोलीबाटै व्यवस्थापन भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘घरमै आइसोलेसनमा बस्नुहुनेको संख्या बढ्दो छ। सबै ठाउँमा सेनाको टोली पुग्न पनि असहज हुन्छ। त्यही भएर स्थानीय तह र प्रहरीलाई खबर गरेर आफन्तले नै शव व्यवस्थापन गर्नसक्ने कार्यविधि तयार भएको हो।’

सेनाकाे टाेलीले अहिले पनि आफ्नाे काम गरिरहेकै छ। साे टाेली समयमा पुग्न नसक्ने अवस्थामा सम्बन्धित आफन्तबाटै पनि ताेकिएकाे विधिअनुसार शव व्यवस्थापन हुन सकाेस् भनी याे वैकल्पिक व्यवस्था गरिएकाे मन्त्रालयका अधिकारीहरुकाे भनाइ छ। 

घरमै मृत्यु भए कसरी शव व्यवस्थापन गर्ने?
शव व्यवस्थापन सम्बन्धी कार्याविधिमा होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले सुरुमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्ने उल्लेख छ। स्थानीय तहले सीसीएमसी वा जिल्ला सीसीएमसीलाई खबर गर्नेछन।

शव व्यवस्थापन कार्यमा बच्चा र ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक लगायत जोखिम समूहमा पर्ने व्यक्तिहरुलाई सहभागि नगराउन कार्यविधिमा अनुरोध गरिएको छ।

‘व्यक्तिगत सुरक्षाका सामग्री जस्तै पन्जा, मास्क, पूरा बाहुला भएको गाउन प्रयोग गरि शवलाई बेर्ने र बडी ब्यागमा राख्ने काम सम्बन्धित आफन्तले नै गर्नुपर्दछ। शववाहन वा सो कार्यका लागि प्रयोग गरिने साधन शव बोक्ने व्यक्तिले मृत शरीर नछुने गरी तयार गर्नुपर्छ,’ कार्यविधिमा भनिएको छ।

घरमा मृत्युु भएको अवस्थामा नातेदारले शव व्यवस्थापन गर्दा पञ्जा, सर्जिकल मास्क, पूरा बाहुला भएको गाउन र चस्मा लगाउनुपर्ने, अन्तेष्टिमा सहभागी हुने नातेदारहरु तथा अन्यले व्यक्तिहरुले पञ्जा र सर्जिकल मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ।

शववाहन चालकले सर्जिकल मास्क र पञ्जा तथा अन्तेष्टिमा सहभागी हुनेले सर्जिकल मास्क र पञ्जा लगाउनुपर्ने उल्लेख छ।

शवको नाक र मुखबाट तरल पदार्थ चुहावट रोक्नका लागि मुख र नाकका प्वालहरु बन्द गरिदिने, शरीर कपडाले लपेटेर शव ब्यागमा राख्नुपर्ने उल्लेख छ।

मृत शरीर राखेका सतहहरु जस्तै, भुईं, टेबुल, ओछ्यान, छेउछाउ र अन्त्येष्टि गर्ने स्थानमा लगेपछि शववाहन र स्ट्रेचरलाई सोडियम हाइपोक्वालेराइट सोलुसन र इथानेल वा केही नभए साबुन पानीले सफा गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

मृतकले प्रयोग गरेका सबै लत्ताकपडाहरु उचित सावधानीका साथ बायोहाजार्ड वा प्लास्टिकको झोलामा राख्नुपर्ने र झोलाको बाहिरी सतह सोडियम हाइपोक्वालेराईट सोलुसनले सफा गर्नुपर्ने, पुनः प्रयोग हुने सामग्रीहरु जस्तै घडी, गरगहनाहरु ७० प्रतिशत अल्कोहल मिसाइएका स्यानीटाइजरले निसंक्रमण गरेपछि घाममा सुकाएरमात्रै प्रयोग गर्न भनिएको छ।

त्यसपछि आफ्नो धर्म परम्पराअनुसार स्थानीय निकायको समन्वयमा शवको अन्त्येष्टि गर्नसक्ने कार्यविधिमा उल्लेख छ।

अन्त्येष्टि गर्ने स्थलमा सुरक्षा
अन्त्येष्टि कार्यमा संलग्न सबैले नियमित हात धुने, मास्क र पन्जाको प्रयोग गर्ने, अन्त्येष्टि स्थलमा बडी ब्याग नखोली दूरी कायम गरेर माला चढाउन सकिने, मृत शरीलाई मुसार्ने, अंगालो हाल्ने, ढोग्ने, चुम्बन गर्ने कार्य नगर्न कार्यविधिमा भनिएको छ।

यस्तै शवको खरानीले कुनै जोखिम पैदा नगर्ने भएकाले अन्तिम संस्कारका लागि खरानी संकलन गर्न सकिने उल्लेख छ।

कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापनसम्बन्धी कार्यबिधि यस्तो छः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .