समाज


नेपालमा चार सयबढी पत्रकार कोरोनाबाट संक्रमित, चार जनाको मृत्यु

नेपालमा चार सयबढी पत्रकार कोरोनाबाट संक्रमित, चार जनाको मृत्यु

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ९:२७,

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ। संक्रमणको दर वृद्धि भएसँगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ।

नेपाल पत्रकार महासंघका अनुसार पछिल्लो समय ४ सयभन्दा बढी पत्रकारलाई कोरोना संक्रमण भएको छ भने ४ जना पत्रकारको कोरोनाका कारण निधन हुन गएको छ।

उच्च जोखिमका बीच कोरोना संक्रमणको विषयमा नागरिकलाई सुसूचित, सचेत र जागरुक गराउने कार्यमा जुटेका पत्रकारहरुलाई एकातिर कोरोनाको कारण देखाई विभिन्न सञ्चार गृहबाट नियमित पारिश्रमिक नदिने, बेतलवी बिदामा राख्ने, बिनाकारण निष्कासन र सरुवा गर्ने जस्ता क्रम बढिरहेको र अर्कोतिर जोखिमका बीच पनि अग्रभागमा रहेर काम गरेकै कारण पत्रकारहरुमा कोरोना संक्रमण बढिरहेको भन्दै महासंघले चिन्ता जाहेर गरेको छ।

‘दोहोरो मारको चपेटा झेलिरहेका पत्रकारहरु संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा कोरोना संक्रिमत भई यतिखेर आफ्नै खर्चबाट पीसीआर परीक्षण र उपचार गर्नुपर्ने बाध्यता हाम्रा सामु छ’ आइतबार विज्ञप्ति प्रकाशित गरी महासंघले भनेको छ, ‘यो विषम परिस्थितिमा मन्त्री, सांसद् तथा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई राज्यबाट निःशुल्क पीसीआर परीक्षण र उपचार भइरहेको सन्दर्भमा संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मी र आम नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै संक्रमित पत्रकारसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछ।’

साथै, महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पनि महासंघले आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad