ad ad

समाज


बैतडी जिप दुर्घटना : बिहे तयारीको उत्साहमा रहेको परिवार शोकमा डुब्यो

बैतडी जिप दुर्घटना : बिहे तयारीको उत्साहमा रहेको परिवार शोकमा डुब्यो

गोकुल जोशी
मंसिर ९, २०७७ मंगलबार १३:३४,

बैतडीको दशरथचन्द नगरपालिका–५ की ७२ वर्षीया पार्वती चन्द सोमवार पेन्सनका लागि झुलाघाट नाका भएर भारत पुगिन्।

चैत महिनायता पेन्सन बुझ्न नपाएकी पार्वतीमा केही दिनका लागि झुलाघाट नाका खुलेपछि खुशी छाएको थियो।

मंसिर १२ का दिन कान्छा छोरा रविन्द्रको बिहे गर्ने तय भएको थियो। जीवनको उताद्र्ध काट्दै गर्दा पार्वतीलाई आफ्ना कान्छा छोराको बिहे हेर्र्नेे चाहनाले औधी उत्साहित बनाएको थियो।

तर उनको यो चाहना अधुरै रह्यो। मंगलवार दिउँसो झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको उनीसहित १० जना यात्रु रहेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका–१० स्थित बुढ्ढा नजिकै दुर्घटनामा प¥यो। सो दुर्घटनामा पार्वतीले ज्यान गुमाइन्।

उनीसहित पेन्सन बुझेर फर्केका चारजनाको सो दुर्घटनामा ज्यान गएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी सुर्नया गाउँपालिका–४ की ७५ वर्षीया कलावती चन्द, पाटन नगरपालिका–४ का ७७ वर्षीय भगिरथ पाण्डेय, दशरथचन्द नगरपालिका–५ का ७२ वर्षीय पार्वती चन्द र दशरथचन्द नगरपालिका–२ का ५८ वर्षीय कृष्ण लावडले पनि ज्यान गुमाए।

यो पनि : बैतडीमा भारतबाट पेन्सन बुझेर फर्किएका सवार जिप दुर्घटना, ५ जनाको मृत्यु, ४ जना घाइते

दशरथचन्द नगरपालिकाकी उपप्रमुख मिना चन्दका अनुसार मृतक पार्वतीको साथमा मंसिर १२ गतेका लागि बिहे तय भएका उनका कान्छा छोरा रविन्द्र पनि थिए।

उनका तीन छोरा छन्। तीमध्ये एक जना काठमाडौँ बस्छन् भने अर्का रोजगारीको सिलसिलामा बिदेश छन्।

‘बिहेका लागि रविन्द्रको घरमा तयारी भइरहेको थियो। परिवारका सबै सदस्य घरमा जम्मा भएका थिए। तर उहाँले आमा गुमाउनु परेको छ।’

दशरथचन्द नगरपालिकाकी उपप्रमुख मिना चन्दले भनिन्, ‘रविन्द्र पनि घाइते हुनुभएको छ। उहाँको टाउकोमा चोट लागेको छ।’

दुर्घटनामा ठूलो मानवीय क्षति भएपछि दशरथचन्द नगरपालिका शोकमा डुबेको छ।

दुर्घटनामा परी रविन्द्र चन्द, प्रदिप लावड, खगेन्द्र जोशी र कृष्णानन्द भट्ट घाइते भएका छन्।

‘उहाँहरु पेन्सन बुझेर फर्किरहनु भएको थियो। बाटोमै दुर्घटनामा पर्नु भएको छ,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकबहादुर धामीले भने।

दुर्घटनामा परी घाइते भएकाहरुको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। जीप सडकबाट करिब सय मिटर तल खसेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .