समाज


विलक्षण १०० नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल यी हुन् चार नेपाली

विलक्षण १०० नर्स तथा मिडवाइफको सूचीमा पर्न सफल यी हुन् चार नेपाली

यज्ञराज जोशी
पुस ९, २०७७ बिहिबार ११:८,

गत चैतमा सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशभर लकडाउन घोषणा गर्‍यो। कोरोनाको त्रास थियो। यातायात चलेका थिएनन्। गर्भवतीहरुले स्वास्थ्य सेवा नपाउने जोखिम थियो।

भर्खरै मिडवाइफ (दक्ष प्रसूतिकर्मी)को स्नातक अध्ययन सकेर लाइसेन्स प्राप्त गरेका प्रशंसा बुढा लामा, रुकुमणी त्रिपाठी र सविता खड्का यसबाट झस्किए।

गर्भावस्थामा गर्नुपर्ने रेखदेख, जाँच, औषधि तथा शारीरिक र मानसिक रुपमा उनीहरुलाई तयार पार्नु मिडवाइफको मुख्य जिम्मेवारी हो। सोही सेवालाई लकडाउनका बेला पनि निरन्तरता दिन उनीहरुले आफ्नै पहलमा टोल फ्री नम्बरसहित अनलाइन/टेलिफोन काउन्सिलिङ सुरु गरे।

उनीहरुले आलोपालो घरबाटै सुरु गरेको सेवाबाट लकडाउन अवधिमा मात्रै तीन हजार बढी गर्भवतीहरु लाभान्वित भएको प्रशंसा बताउँछिन्। उनीहरु समस्या सुन्थे र समाधान बताउँथे। कुन त्रैमासिकमा कस्ता जोखिम हुन्छन्, तिनका लक्षण के हुन् र कतिबेला कतिबेला अस्पताल जानुपर्छ भनेर जानकारी दिन्थे।

कोरोना महामारीमा यसरी खटिएर मातृस्वास्थ्यमा विशेष भूमिका खेलेको भन्दै प्रसंशा र रुकुमणी विश्वका १०० उत्कृष्ट नर्स तथा मिडवाइफको सूचीमा परेका छन्।

विश्व स्वास्थ्य संगठन, यूएनएफपीए, अन्तर्राष्ट्रिय नर्सिङ परिषद् तथा अन्तर्राष्ट्रिय मिडवाइफ संघले संयुक्त रुपमा यो सूची प्रकाशन गरेको हो। जसमा नेपालका ४ जना नर्स र मिडवाइफ पनि छन्। जसमा मिडवाइफहरु प्रशंसा र रुकुमणीसहित नर्सहरु दुर्गा सापकोटा र सुष्मा योञ्जन छन्। वुमिन इन ग्लोबल हेल्थ नामक संस्थाबाट सार्वजनिक सूचीमा सहभागीहरुले कोरोना महामारीको समयमा खटिएर उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरिएको छ।

यो सूचीमा नेपालको प्रतिनिधित्व गर्न पाउँदा उत्साहित हुनुका साथसाथै जिम्मेवारी बढेको महसुस भएको प्रशंसाले बताइन्।

‘हामीले लकडाउनका समयमा आफ्नै पहलमा थालेको काउन्सिलिङका कारण यसमा हामी छनोट भयौँ,’ उनले भनिन्, ‘एकदमै खुसी लागेको छ। शीर्ष सयभित्र पर्दा जिम्मेवारी थपिएको महसुस पनि भएको छ। आगामी दिनमा काम गर्न यसले थप प्रेरणा, उत्साह थपेको महसुस भएको छ।’

अहिले उनीहरुले सञ्चालन गरेको टोल फ्री नम्बर थापाथलीस्थित परोपकार प्रसूति तथा महिला अस्पतालमा जडान गरिएको छ। अहिलेपनि उनीहरुको काउन्सिलिङ गरिरहेकै छन्। गर्भवतीहरुलाई कतिबेला अस्पताल जाने? के के कुराको तयारी गर्नुपर्छ? प्रसव पीडाबाट नडराउन शारीरिक र मानसिक रुपमा तयार पार्ने काममा उनीहरु सबैजना अहिले पनि खटिरहेका छन्।

भाइको जन्म हुँदा प्रशंसाको आमाको निधन भएको थियो। त्यही घटनाले उनलाई यो पेसामा लाग्न प्रेरित गरेको हो। सोहीकारण स्टाफ नर्स अध्ययनपछि उनले मिडविफ्र विषय रोजिन्।

यो सूचीमा परेकी अर्की मिडवाइफ रुकुमणी त्रिपाठीले यसअघि तीन वर्ष धुलिखेलमा अस्पतालमा मातृ स्वास्थ्यकै क्षेत्रमै काम गरेकी थिइन्। आमा र बच्चाकै स्वास्थ्यमा रमाइलो मान्दामान्दै आफूले यो विषय रोजेको र आज सय जनाको सूचीमा पर्दा निकै खुसी लागेको उनले बताइन्।

उक्त सुचिका लागि कसले मनोनयन गर्यो भन्ने पनि रुकुमणीलाई थाहा छैन। ‘आफूहरुले महामारीमा खेलेको भूमिकाबाट धेरै महिलालाई फाइदा पुगेका कारण कसैले मनोनयन गरेको होला,’ उनी भन्छिन्।

रुकुमणी र प्रशंसा नेपालको पहिलो ब्याचका मिडवाइफ हुन्। उनीसँगै पहिलो ब्याचका ११ जना जना चैतमा पासआउट भएका थिए। पहिलो ब्याच भएकोले आफूहरुलाई चुनौती र अवसर दुवै रहेको रुकुमणीले बताइन्।

नेपालमा पहिलो ब्याचका मिडवाइफहलाई अहिले सरकारले करारमा काममा राख्ने काम थालेको छ। थापाथलीस्थित परोपकार महिला तथा प्रसूति केन्द्रसँगै चितवन र जुम्लामा करार खोलिएको छ।

‘मातृ मृत्युदर र नवजात मृत्युदर घटाउनका लागि नेपालमा बढीभन्दा बढी मिडवाइफ जनशक्ति उत्पादनमा सरकारले ध्यान दिनुपर्छ,’ उनले भनिन्, ‘सधैँभरी करारमा मात्रै काम गर्न सकिँदैन। पहिलेदेखि पनि काम गरिरहेका मिडवाइफ पनि हुनुहुन्छ। मिडविफ्री सेवालाई दिगो बनाउन लोकसेवा खुलाएर स्थायी नियुक्तिको व्यवस्था थालिनुपर्छ र योग्यताअनुसार अस्पताल, मन्त्रालय, विभागमा पदहरु खुलाउनुपर्‍यो’

यस्तै, उनले मिडवाइफ नयाँ जनशक्ति भएकाले काम गर्ने वातावरण निर्माणमा पनि ध्यान दिनुपर्ने बताए। उनले अस्पतालमा रहेका अन्य स्वास्थ्यकर्मीलाई समेत मिडवाइफबारे जानकारी गराउने तथा बर्थिङ सेन्टरहरुको व्यवस्था गर्नुपर्ने बताइन्।

‘काम गर्न अझै जाँगर थपिएको छ’
नर्स दुर्गा सापकोटाले उक्त सूचीमा पर्दा काम गर्ने जाँगर थपिएको बताएकी छिन्। उनी विगत दश वर्ष यता क्लिनिकल र पब्लिक हेल्थ क्षेत्रमा आवद्ध छिन्। यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी उनका थुप्रै अनुसन्धान प्रकाशित छन्।

‘विश्वकै सय जनाको सुचीमा परौँला भनेर कल्पना नै गरेको थिइनँ,’ उनले भनिन्, ‘यसले हामी अझ प्रोत्साहित पारेको छ। आगामी दिनमा यो क्षेत्रमा काम गर्न जाँगर थपिएको छ।’

नर्सिङमा स्नातकोत्तर अध्ययनरत उनी कानुनकी विद्यार्थी पनि हुन्। सोहीकारण यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी नीति निर्माणमा पनि उनको भूमिका रहँदै आएको छ।

पाँच वर्ष नर्सका रुपमा काम गरेपछि दुर्गाको रुचि जनस्वास्थ्यतर्फ बढेको हो। सुरक्षित मातृत्व तथा प्रजननमा उनको भूमिका देखेर नै अघिल्लो वर्ष जोनसन एन्ड जोनसनले उनलाई ६ महिनाको फेलोसिप दिएको थियो।

उनले नुवाकोट, कपिलवस्तु, दाङमा गएर समेत सेवा दिएकी छिन्। उनी कार्यरत कर्म हेल्थले दाङको राजपुर गाउँपालिकामा स्थानीय तहसँग मिलेर स्वास्थ्य चौकी सञ्चालन गर्दै आएको छ। जहाँ यौन तथा प्रजनन् स्वास्थ्य सेवा दुर्गाले नै दिने गर्छिन्। लकडाउनका समयमा पनि रेडियोमार्फत यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी कार्यक्रमहरु बनाएर प्रसारण गरेको उनले बताइन्।

त्यस्तै, सूचीमा परेकी सुष्मा योन्जन नर्ससँगै ट्रेनर, पोषण अधिकृत पनि हुन्। उनले युनिसेफ नेपालको जिल्ला संयोजकका रुपमा पनि काम गरिसकेकी छिन्। उनले सामुदायका महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिवृद्धिका लागि समेत भूमिका खेल्दै आएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .