नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीको मूल धार र मूल शक्ति आफूहरु भएको दावी गरेका छन्।
बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको केन्द्रीय समितिको बैठकलगत्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल लगायतका नेताहरुसहित तत्कालीन एमालेको कार्यालय रहेको बल्खुमा पुगेर मदन भण्डारीको सालिकमा माल्यापर्ण गरेपछि उनले यस्तो बताएका हुन्।
‘नेपाल कम्युनिस्ट पार्टी नेकपाको मूल धार हामी हौँ, मूल शक्ति हामी हौँ’, नेपालले भने, ‘अरु कसैले दावा नगर्दा हुन्छ।’

उनले चोइटिएर जानेलाई विगतका कमीकमजोरी स्वीकारेर एकतावद्ध हुन आग्रहसमेत गरे।
अहिले सिंगो राष्ट्र नै अनिश्चयको भूमरीमा परेको, ठूलो त्याग तपस्या र बलिदानबाट ल्याएको संविधान, जनताबाट निर्वाचित जनप्रतिनिधिलाई कुल्चने काम भएको र प्रतिनिधिसभालाई विघटन गर्ने कदम प्रधानमन्त्री ओलीबाट चालिएको बताए। उनले त्यो कदम आफूहरु अस्वीकार गर्ने बताए।
‘हामी त्यसलाई स्वीकार गर्न पक्षमा छैनौँ, प्रतिनिधिसभालाई तानाशाही तरिकाबाट विघटन गर्न पाइदैन, यो राजाको कदमजस्तै अर्को प्रतिगामी कदम हो’, उनले भने।

आम नेपाली जनतालाई, लोकतन्त्रका हिमायतीलाई प्रतिनिधिसभा विघटनका विरुद्ध लड्न आग्रहसमेत गरे।
नेकपाका केन्द्रीय समितिका ७० प्रतिशतभन्दा बढी सदस्यको उपस्थिति आफूहरुसँग रहेको उनको दावी थियो।
उनले बल्खु पार्टी कार्यालय रहेको जग्गा खरिद गर्ने, भवन निर्माण गर्ने र केन्द्रीय कार्यालय सञ्चालन गर्ने क्रममा आफू जोडिएको बताए। उनले नेता खनाल, अमृतकुमार बोहरा लगायतका नेताहरु पनि पार्टी कार्यलय निर्माण र सञ्चालनका क्रममा जोडिएको बताए।

उनले पार्टी कार्यालयसँग जोडिएका नेता प्रदीप नेपाल पार्टी एकताको पक्षमा रहेको नेता नेपालले बताए। उनले नेपाल अस्वस्थ भएका कारण आउन नसकेको जानकारी दिए।
उनले बाटो बिराएका सबैलाई फर्केर आउन आग्रह गरे।
उनले कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट पार्टी, लोकतन्त्र अगाडि बढ्ने भन्दै लोकतन्त्र, गणतन्त्र, संघीयतालाई कसैले समाप्त पार्न नसक्ने बताए।

प्रतिक्रिया