नेपाली कम्युनिस्ट पाटी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान यथावत रहेको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै दुलाल संसद् सुचारु गराउने र प्रधानमन्त्रीको अभिव्यक्तिको स्पष्टीकरण संसद्मा आउनुपर्ने अडानबाट आफनो पार्टी पछि नहटेको बताए। प्रधानमन्त्रीको नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने बताए।
‘हाम्रो पार्टीको स्पष्ट धारणा छ– सम्माननीय प्रधानमन्त्रीको उक्त भनाई संसदको रेकर्डबाट हटाउनु पर्दछ र त्यो कुरामा राज्यको धारणा के हो भन्ने कुरामा सम्माननीय प्रधानमन्त्रीज्यूकै मुखबाट भन्नुपर्छ भन्ने पार्टीको धारणा राख्न चाहन्छु,’ उनले भने।
सरकार जिम्मेवार भएर अघि नबढेको उनको भनाइ थियो। आफूहरू जिम्मेवार भएर संसद् चलाउनका लागि एक कदम पछि हटेको उनले बताए।
‘जिम्मेवार भएर संसदलाई सुचारु गराउन हामी एक कदम पछाडि हटेका छौँ। यसको अर्थ यो होइन कि सम्माननीय प्रधानमन्त्रीज्यूले सीमा मिचेको सवालमा बोल्नु भएको अभिव्यक्तीमा हामीले माफी दियौ भन्ने होइन,’ दुलालले भने।
Shares

प्रतिक्रिया