राजनीति


बागमती सरकार गठनका लागि संवाद गर्न नेकपाले बनायो कार्यदल

बागमती सरकार गठनका लागि संवाद गर्न नेकपाले बनायो कार्यदल

सुनिता विष्ट
साउन १२, २०८३ मंगलबार २०:१४, हेटौंडा

बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने उद्देश्यले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कार्यदल गठन गरेको छ। 

नेकपा बागमती प्रदेश संसदीय दलले पाँच सदस्यीय कार्यदल गठन गरेको हो। मंगलबार हेटौँडास्थित संसदीय दलको कार्यालयमा बसेको दलको बैठकले सरकार गठन प्रक्रियालाई सहज बनाउन सत्ता साझेदार दल नेकपा (एमाले) सहित अन्य सम्भावित दलहरूसँग संवाद र छलफल गर्ने जिम्मेवारीसहित पाँच सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलको संयोजकमा नेकपा बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल रहेका छन्। सदस्यमा कृष्णप्रसाद खनाल, रत्न ढकाल, सरल सहयात्री र कुमारी मोक्तान छन्। 

नेकपा बागमती प्रदेश संसदीय दलका सचेतक रत्न ढकालका अनुसार कार्यदलले सरकार गठनका लागि आवश्यक राजनीतिक सहमति जुटाउन सत्ता साझेदार एमालेसहित सम्भावित अन्य दलहरूसँग संवाद र वार्ता गर्नेछ।

बागमती प्रदेशमा सरकार गठनको प्रक्रिया केही दिनदेखि अलमलमा परिरहेका बेला आवश्यक राजनीतिक सहमति जुटाउन कार्यदल गठन गरिएको उनले बताए। बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे समेत छलफल भएको थियो। 

प्रदेश सरकार गठनको पछिल्लो अवस्थाबारे सांसदहरूको धारणा सुन्ने र त्यसको समीक्षा गर्ने काम पनि बैठकले गरेको सचेतक ढकालले जानकारी दिए।

केन्द्रमा नेकपा–एमालेबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने निर्णय भइसकेको छ। सोहीअनुसार एमालेले प्रदेश सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। 

यद्यपि, नयाँ सरकार गठनका लागि आवश्यक बहुमतको दाबी भने अहिलेसम्म प्रदेश प्रमुखसमक्ष पेश हुन सकेको छैन। सरकार गठनमा भइरहेको ढिलाइबीच नेकपाले वार्ता कार्यदल गठन गरेपछि सत्ता साझेदार दलहरूबीच छलफलले गति लिने र नयाँ सरकार गठनको प्रक्रिया छिट्टै अघि बढ्ने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad