सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरी घटनाबारे छलफल गर्न सर्वदलीय बैठक डाकेको छ।
सभापति रवि लामिछानेले बुधबार विहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेका हुन्।
विहान ८ बजे लेखा समितिको बैठक कक्षमा हुने छलफलमा संसदमा रहेका सबै दलसहित उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको रास्वपका महामन्त्री विपिन आचार्यले जानकारी दिए।
बैठकमा सहभागिताका लागि सभापति लामिछानेले नेताहरूलाई नेताहरूलाई फोन गरेर आमन्त्रण गरेका छन्।
‘अत्यन्तै संवेदनशील र दुःखद घटना तथा त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरि सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रुपमा पनि सामुहिक सन्देश र अपीलको आवश्यकताबोध भएकाले छलफल आयोजना’ गरिएको महामन्त्री आचार्यले बताए।
सुनसरीको देवानगन्जमा आइतबार राति दुई समूहबिच भएको झडपमा एक जनाको मृत्यु भएपछि सुनसरीसहित पूर्वी क्षेत्र तनावग्रस्त बनेको छ।
सुनसरीबाट सुरु भएको प्रदर्शन विराटनगरसम्म फैलिएको छ।
आइतबार राति भएको झडप नियन्त्रण गर्न भनेर प्रहरीले चलाएको गोली लागेर देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने २२ जना घाइते भएका छन्। उनीहरू विभिन्न अस्पतालमा उपचाररत छन्।
Shares

प्रतिक्रिया