समाज


सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन: सेवा बन्द नगर्नू, दोषीलाई कारबाही हुँदै छ

सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन: सेवा बन्द नगर्नू, दोषीलाई कारबाही हुँदै छ

स्वास्थ्यमन्त्री निशा मेहता


नेपालखबर
साउन १२, २०८३ मंगलबार ९:३३, काठमाडौँ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा बन्द नगर्न देशभरिका अस्पताललाई निर्देशन दिएको छ।

मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीविरुद्ध आक्रमणमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार जारी गरेको विज्ञप्तिमा पछिल्ला दिनमा चिकित्सक,स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाविरुद्ध भएका हमलाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेको मन्त्रालयले जनाएको छ।

नारायणी अस्पतालमा चिकित्सकविरुद्ध गरिएको आक्रमणपछि स्वास्थ्यमन्त्री निशा मेहताले घाइते चिकित्सक डा. प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ ल्याउने व्यवस्था मिलाउनुका साथै ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्। 

मन्त्री मेहताले दोषीविरुद्ध कडा कारबाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन निरन्तर पहल गरिरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले मंगलबार सबै अस्पताललाई स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको हो।

मन्त्रालयले स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने उल्लेख गरेको छ। 

विज्ञप्तिमा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै नागरिकको उपचार सेवामा अवरोध नपुर्‍याई स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबै अस्पताललाई अपिल गरिएको छ।

वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई गरिएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आज (मंगलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको घोषणा गरेको छ। 

चिकित्सक संघले विज्ञप्ति जारी गरी भनेको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले गरेको दमनको विरोधस्वरूप मिति २०८३-०४-१२ गते मंगलबारका दिन देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्दछौँ।’

साथै बुधबार सर्वपक्षीय भेला गरी आन्दोलनका थप कार्यक्रम तय गरिने संघले जनाएको छ।

यही साउन ९ गते वीरगन्जको नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्नहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गरिएको अवस्थामा जिल्ला प्रशासन कार्यालय, पर्सामा वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा त्यहाँका प्रहरी प्रमुखद्वारा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यकारिणी समितिका सदस्य र संघको नारायणी शाखाका अध्यक्षलगायत चिकित्सकहरूलाई गालीगलौज गरी दुर्व्यवहार गरिएको चिकित्सक संघले जनाएको छ। 

संघका अनुसार डा. प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको छ। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गर्ने कार्यमा संलग्न दोषीहरूलाई अविलम्ब पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ। साथै चिकित्सकहरुको मानमर्दन गर्ने कार्यमा संलग्न पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई समेत कारबाही गर्न माग गर्दछौँ।’

यसैको विरोधमा आज मंगलबारका दिन देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको उल्लेख गर्दै चिकित्सक संघले यसबाट बिरामीहरूलाई हुने असुविधाको लागि क्षमा मागेको छ र यसको जिम्मेवार नेपाल सरकार रहेको जिकिर गरेको छ।

यो पनि : वीरगन्जमा डाक्टर कुटिएपछि देशभर आन्दोलन, कारबाही नहुञ्जेल नारायणी अस्पताल नखुल्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad