राजनीति


सुनसरी घटनामा उच्चस्तरीय छानबिन गरेर दोषीमाथि कारबाही गर्न एमालेको माग

सुनसरी घटनामा उच्चस्तरीय छानबिन गरेर दोषीमाथि कारबाही गर्न एमालेको माग

नेपालखबर
साउन १२, २०८३ मंगलबार १९:२७, काठमाडौँ

नेकपा एमालेले सुनसरी घटनाबारे उच्चस्तरीय छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेको हो।

महासचिव शंकर पोखरेलले आज (बुधबार) एक विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारबाही गर्दै पीडित पक्षलाई राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको अविलम्ब, प्रभावकारी र पूर्ण निःशुल्क उपचारको व्यवस्था मिलाउन, पीडित परिवारलाई उचित राहत एवं क्षतिपूर्ति प्रदान गर्न तथा घटनाको निष्पक्ष र उच्चस्तरीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न नेकपा (एमाले) सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

उनले राज्यलाई आफ्नो दमनकारी रवैया तत्काल रोकेर संयमताका साथ समस्याको दीर्घकालीन र शान्तिपूर्ण समाधान खोज्न आग्रह पनि गरेको छ।

एमालेले ‘देवानगञ्ज गाउँपालिकामा दुई दिनदेखि उत्पन्न तनावग्रस्त परिस्थिति र त्यस क्रममा राज्य पक्षबाट भएको अत्यधिक बल प्रयोगका कारण स्थानीय युवा ओमप्रकाश मेहताको गोली लागेर भएको दुःखद निधन तथा अन्य नागरिकहरू गम्भीर घाइते भएको’ भनेको छ।

‘नागरिकको जिउधनको सुरक्षा गर्ने र मुलुकमा शान्ति–सुरक्षा कायम गर्ने प्राथमिक जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन यति संवेदनशील विषयमा चरम गैरजिम्मेवार, उदासीन र दिशाहीन देखिनु अत्यन्तै भर्त्सनायोग्य विषय हो,’ विज्ञप्तिमा लेखिएको छ।

विवाद समाधानका लागि समयमै सार्थक संवाद र समन्वयको पहल गर्नुको सट्टा राज्य संयन्त्रबाट अनावश्यक बल प्रयोग गर्ने, तुजुक देखाउने र त्रासको वातावरण सिर्जना गर्ने कार्यले परिस्थितिलाई थप उत्तेजित बनाएको पनि एमालेले जनाएको छ।

साथै एमालेले कुनै पनि प्रकारको अफवाहमा नलागी वर्षौँदेखि कायम रहँदै आएको धार्मिक, सामाजिक र जातीय सद्भाव, आपसी एकतालाई अक्षुण्ण राख्न आह्वान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad