महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिने सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यकाको २ वटा ट्राफिक कार्यालयहरूमा सेवा विस्तार गरेको छ।
ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूबाट खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले संचालनमा ल्याईरहेको ‘ट्राफिक भायोसेलन रेकर्ड सिस्टम (टीभीआरएस) सफ्टवेयर’ आजदेखि लागू हुने गरी महानगरीय ट्राफिक प्रहरी वृत्त, सिंहदरवार र महानगरीय ट्राफिक प्रहरी वृत्त, जनसेवामा समेत विस्तार गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता लिन सरल र सहज होस् भन्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको हो। यसले सम्बन्धित एरियाको ट्राफिक कार्यालयबाट नै कागजपत्रका प्राप्त गर्ने हुँदा महाशाखामा गई लाईन बस्नुपर्ने झन्झटबाट मुक्त भई समयको बचत हुने जानकारी उाले दिए।
सिंहदरबार एरियाका कारवाहीको लागि खिचिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी वृत्त, सिंहदरबारबाट तथा जनसेवा एरियामा कारवाहीको लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी वृत्त, जनसेवाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरे पश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाइएको छ।
यसअघि सो सेवा महाशाखासहित महाराजगञ्ज, थापाथली, कालिमाटी, कलंकी, सातदोबाटो, दरवारमार्ग, बौद्ध, कोटेश्वर, भक्तपुर, नयाँ बसपार्क तथा गौशालाबाट प्रदान गर्दै आएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले दिए।
उनले भने, ‘मापसे, लेन र रात्तो बत्ती कारवाहीमा परेका कागजपत्रहरू भने महाशाखाबाट सचेतना कक्षा पश्चात महाशाखाबाटै लिन सकिने व्यवस्था गरिएको छ।’

प्रतिक्रिया