समाज


६० किलोमिटर सडक क्षेत्रमा महानगरले आधुनिक बत्ती जडान गर्ने

६० किलोमिटर सडक क्षेत्रमा महानगरले आधुनिक बत्ती जडान गर्ने

नेपालखबर
पुस २४, २०७७ शुक्रबार १५:५६,

काठमाडौं महानगरले करीब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ।

काठमाडौं महानगरका ठूला योजनाका विषयमा कार्यपालिका सदस्यहरुलाई जानकारी दिने क्रममा मेयर विद्यासुन्दर शाक्यले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत सडक बत्ति जडान गर्न लागिएको बताएका हुन्।

आज राष्ट्रिय सभा गृहमा सम्पन्न ५५ औं कार्यपालिका बैठकमा मेयर शाक्यले, गएको मङ्सिर २५ गते काठमाडौं महानगरपालिका, नेपाल विद्युत प्राधिकरण र सडक विभागबीच सहमति पत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढाएको बताए।

उनले भने ‘महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो संघीय राजधानीको चिनारी दिन मेयर उज्यालो अभियान अन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो । यसअन्तर्गत करीब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिनसक्ने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको छ।’

मेयर शाक्यले बैठकमा थप्दै भने, ‘यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न र सहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य–मुख्य सडकमा करीब १७ सय ५० वटा आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आव्हानको चरणमा पुगिसकेको छ।’

महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानी रहने छ।

औपचारिक रुपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानी रहने छ। मेयर शाक्यकाअनुसार उपलब्ध श्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरेर बत्ती जडान कार्यलाई छिटो सम्पन्न गरिनेछ।

सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाकाअनुसार पहिलो चरणमा विमानस्थलदेखि त्रिपुरेश्वरहुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिनेछ। पुतली सडकदेखि बालुवाटारसम्म र त्रिभुवन विमानस्थलदेखि हायात होटलसम्मको सडक खण्ड पनि पहिलो चरणमा समेटिएको छ। यस चरणमा करीब ६० किलोमिटर सडक खण्डमा करीब १७ सय ५० बटा बत्ती जडान गर्ने तयारी भएको छ।

थापाले नयाँ बानेश्वर, माइतीघरलगगायतका स्थानमा अहिलेकै पोल प्रयोग गरेर आधुनिक बत्ती जडान गरिने योजना सुनाए।

‘ती स्थानमा अहिले भइरहेका सोलार प्यानलको पुनः प्रयोगका लागि स्थान पहिचान गरिरहेका छौँ।’ थापाले भने, ‘पहिलो चरणको बत्ती जडानका लागि करीव ११ करोड रुपैयाँ लागत हुनेछ।’

चालु आ .व. मा बत्ती जडानमा प्राधिकरणको भागमा पर्ने ४० प्रतिशत लगानी महानगरले नै गरिदिनेछ। यो रकम दोस्रो चरणको बत्ती जडान योजनामा समायोजना हुनेछ।

बत्ती जडानका लागि लागत अनुमान तयार गर्ने, प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरीवेक्षण गर्नेलगायतका काम प्राधिकरणले गर्नेछ।

यस क्रममा नयाँ पोल थप्नका लागि स्थानको स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा विग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण गर्ने काम सडक विभागले गर्नेछ।

सहमतिपत्रमा काठमाडौँ महानगरपालिकाकातर्फबाट प्रमु्ख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, नेपाल विद्युत प्राधिकरणकातर्फबाट कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र सडक विभागको तर्फबाट महानिर्देशक केशवकुमार शर्माले हस्ताक्षर गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad