समाज


खाेप पाएकाे एक साताभित्र नागरिकलाई लगाउने यस्तो छ सरकारी तयारी

खाेप पाएकाे एक साताभित्र नागरिकलाई लगाउने यस्तो छ सरकारी तयारी

यज्ञराज जोशी
पुस २७, २०७७ सोमबार ११:३,

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले छिमेकी मुलुक भारतले आगामी शनिबारदेखि खोप लगाउन सुरु गर्नै लाग्दा नेपालमा पनि खोप भित्रिने सम्भावना बढेको बताएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले छिमेकी मुलुकमा खोप लगाइरहँदा नेपालीहरुले पनि धेरै कुर्नु नपर्ने धारणा राखेका छन्।

मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा उनले खोप प्राप्तिको एक साताभित्र नागरिकलाई लगाउने गरी तयारी थालेको बताए।

‘जहाँजहाँ खोप बनेको छ त्यहाँका सरकारसँग निकटम सम्बन्ध राखेर खोप प्राप्तिका लागि अघि बढेका छौं’, मन्त्री त्रिपाठीले भने, ‘मैले कार्यभार सम्हालेपछि खोपकै सन्दर्भमा रुस, भारत र यूएईको राजदूतसँग कुरा गरेको छु। मलाई विश्वास छ खोप लगाउने सन्दर्भमा हामी छिमेकीभन्दा धेरै पछाडि हुनेछैनौँ।’

मन्त्री त्रिपाठीले स्वास्थ्यमन्त्रीको कार्यभार सम्हालेको १५ दिनमात्रै भएको छ। उनले आफ्नो पहिलो प्राथमिकता नै खोप प्राप्तिदेखि लगाउनेसम्म खोप अभियान सञ्चालन गर्नु रहेको बताए।

भारतको औषधि नियामक निकायले एस्ट्राजेनेकाले अक्सफोर्ड यूनिभर्सिटीसँग मिलेर बनाएको कोभिशिल्ड र भारतीय कम्पनी भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सिन खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।

दुवै खोप नेपाली पूर्वाधारसँग मेल खाने भएकाले सरकारी अधिकारी पनि भारतबाट खोप पाउनेमा हौसिएका छन्। लगत्तै हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणको प्रमुख एजेन्डा पनि भारतबाट खोप प्राप्त गर्ने भन्ने हुनेछ।

मन्त्री त्रिपाठीले सरकारले सबैलाई निशुल्क खोप लगाउँने तयारी गरेक बताए। उनले २ देखि ८ सेन्टिग्रेड तापक्रममा १ करोड ७० लाख लिटर खोप भण्डारण गर्ने क्षमता नेपालसँग रहेको स्पष्ट पारे। यस्तै खोप आएपछि १६ हजार खोप केन्द्रबाट खोप अभियान सञ्चालन गर्ने सरकारको तयारी छ।

सरकारले खोप अभियानमा ५ हजार कर्मचारी तथा ५२ हजार महिला स्वयंसेवक खटाउने तयारी गरेको छ। यस्तै खोप ढुवानीको पनि सुनिश्चितता गरिसकेको मन्त्री त्रिपाठीले बताए।

स्वास्थ्यसचिव लक्ष्मण अर्यालले पनि खोप प्राप्त भएको ७ दिनभित्र लगाउँन सुरु गर्ने गरी कार्ययोजना मन्त्रालयले बनाइसकेको बताए। उनले माइनस २० को खोप पाएपनि ३ प्रतिशत अर्थात ९ लाख ११ हजार जनसंख्यालाई पुग्ने गरी भण्डारण क्षमता विस्तार गर्न लागिएको बताए। उनले सातवटै प्रदेश र केन्द्रमा थप एक÷एकवटा कोल्डचेनको निर्माण गर्ने काम अघि बढिसकेको जनाए।

सरकारले आगामी अप्रिलसम्म कोभ्याक्स सुविधाबाट २० प्रतिशत खोप पाउँने आशा गरेको छ। उक्त खोप सरकारले अंग्रपन्तिमा खटिने तीन प्रतिशत स्वास्थ्यकर्मी तथा बाँकी बढी जोखिममा रहेका १७ प्रतिशतलाई पहिलो प्राथमिकतामा राख्ने गरेर कार्ययोजना बनाएको छ।

यस्तै उत्पादन कम्पनीहरुले चाँडो खोप उपलब्ध गराउन सक्ने भएपछि सुरुमा २० प्रतिशत खोप खरिद गर्ने योजना समेत सरकारको छ। त्यसका लागि हाल तेस्रो चरणमा रहेका आठवटै उत्पादन कम्पनीलाई खोप माग गर्दै सरकारले पत्र पठाएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको खोप विज्ञ समूहका सदस्य डा. झलक शर्मा गौतमका अनुसार नेपालका २ करोड १६ लाख जनतालाई खोप लगाउने सरकारको तयारी छ। त्यसका लागि करिब ५ करोड डोज खोप चाहिने आकलन गरिएको छ। उक्त संख्यामा खोप लगाउनका लागि ४८ अर्ब रुपैयाँ लाग्ने र त्यसको प्रतिबद्धता अर्थ मन्त्रालयले जनाइसकेको मन्त्रालयले जनाएको छ।

नेपालले कसलाई पहिले खोप दिने भन्नेबारे कार्ययोजना पनि बनाइसकेको छ। स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा खटिएकापछि दोस्रो चरणमा ५५ वर्षमाथिका जेष्ठ नागरिक र र दीर्घ रोगीलाई खोप लगाउने तयारी गरिएको छ। उक्त समूहको संख्या नेपालमा ५१ लाख रहेको मन्त्रालयले जनाएको छ।

यस्तै तेस्रो चरणमामा ४० देखि ५४ वर्षका २९ लाख र १५ देखि ३९ वर्षका बाँकी १ करोड २७ लाखलाई अन्तिम चरणमा खोप दिने योजना सरकारको छ।

स्वास्थ्यमन्त्री त्रिपाठीले पारदर्शी हिसाबले सबैलाई न्यायोचित रुपमा खोप लगाइने प्रतिबद्धता जनाए।

‘सबैलाई पारदर्शी हिसाबले खोप दिइनेछ। यस सम्बन्धमा गैरजिम्मेवारी र विकृतिको आशंकालाई झुटो सावित गर्छौ,’ मन्त्री त्रिपाठीले भने, ‘खोप चाडैँ आउँछ र आएपछि सबैलाई न्यायोचित ढंगले लगाउँछाैँ।’

भिडियाेः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .