सशस्त्र प्रहरी बलमा एक एआईजीसहित ३५ अधिकृतहरु एकसाथ अवकाश भएका छन्। बुधबार एआईजी नारायणबाबु थापासहित ३५ अधिकारीले अवकाश पाएको सशस्त्र प्रहरीले जनाएको छ।
बुधबार अवकाश पाएकामध्ये १ एआईजी, १२ एसएसपी, १३ एसपी र ९ डीएसपी छन्। तीन जनाले त तीन दिन अघि मात्रै एसएसपीको फूली लगाएका हुन्। गृहमन्त्री रामबहादुर थापाले अवकाशको एकसाता पहिले मात्रै उनीहरुलाई कायमुकायम बढुवा दिने निर्णय गरेका हुन्।
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले कायमुकायम एसएसपीमा बढुवा भएका अधिकारीहरुलाई सोमबार मात्रै दज्र्यानी चिन्ह प्रदान गरेका थिए। तर उनीहरुमध्ये तीन जनाले भने पूरा तीन दिन पनि एसएसपीको फूली लगाउन पाएनन्।
एसएसपी भएको तीन दिनमै अवकाश हुनेमा सोमबहादुर गुरुङ, गाहारधन राई र प्रेमध्वज शाह छन्।
सोमबहादुर गुरुङ
गृहमन्त्रीले पुस २४ गते ९ जनालाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम बढुवा गर्ने निर्णय गरेका थिए। सशस्त्र प्रहरीको नियमावली अनुसार एसपीबाट एसएसपीमा बढुवा हुन चार वर्ष एसपीमा काम गरेको हुनुपर्छ। तर, चार वर्ष एसपी भई काम गरेको अधिकृत नहुँदा कायमुकाम बढुवा गर्ने निर्णय मन्त्री थापाले गरेका थिए। तीमध्ये तीन अधिकारीले ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाश भएका हुन्।
अवकाश हुने अन्य ९ एसएसपीमा इन्द्रराज कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री, प्रकाश श्रेष्ठ, प्रेमराज पोख्रेल, शान्तिकुमार कार्की, श्याम कोइराला, सुदेशकुमार गुरुङ र राजेन्द्र कुमार अधिकारी छन्।
प्रेमध्वज शाह
यस्तै १३ एसपीले बुधबार नै अवकाश पाएका छन्। उनीहरुले पनि ३० वर्षे सेवाअवधिका कारण अनिवार्य अवकाश भएका हुन्। सेवाबाट अवकाश पाउने एसपीहरुमा मातृकाप्रसाद कोइराला, ओजेश ओली, राजु पाँडे, समरबहादुर श्रेष्ठ, कृष्णप्रसाद कोइराला, खेमबहादुर थापा, तुलसीराम दाहाल, रोशन श्रेष्ठ, वसन्तकुमार बोगटी, दिलबहादुर पन्थ, दलबहादुर श्रेष्ठ, तारिक चन्द चैधरी र अर्जुनप्रसाद सापकोटा छन्।
३० वर्षे सेवाअवधिकै कारण ९ डीएसपीले पनि अवकाश पाएका छन्। बुधबारबाट अवकाश हुने डीएसपीहरूमा अजयकुमार छत्कुली, भरत बस्नेत, जीवनबहादुर भण्डारी, डिल्लीकुमार कार्की, प्रकाशकुमार माझी, रूमबहादुर कार्की, शंकरकुमार पोख्रेल, जगदीश प्रसाद थारू र उपेन्द्रबहादुर बुढा क्षेत्री छन्।
गाहारधन राई
यस्तै अब सशस्त्र प्रहरीमा एक एआईजीको दरबन्दी नै खारेज भएको छ। एआईजी नारायणबाबु थापाले अवकाश पाएसँगै उक्त दरबन्दी नै खारेज भएको हो। सशस्त्र प्रहरीमा अब पुष्पराम केसी र रामशरण पौडेल मात्रै एआईजी रहनेछन्।
सरकारले यसअघि नै एक जना एआईजीको दरबन्दी कटौती गर्ने निर्णय गरिसकेको छ। सरकारले निर्णय गर्दा तीन एआईजी कार्यरत रहेकाले अवकाशसँगै दरबन्दी पनि खारेज हुने निर्णय गरेको थियो। सोही निर्णयका कारण अव दुई एआईजी कायम भएको हो।
एआईजी नारायणबाबु थापा
एआईजी थापालाई सशस्त्रले बुधबार विशेष समारोहकाबीच विदा गरिसकेको छ।
Shares

प्रतिक्रिया