समाज


शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या ३ सय नाघ्यो, व्यवस्थापन चुनौतीपूर्ण

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या ३ सय नाघ्यो, व्यवस्थापन चुनौतीपूर्ण

नेपालखबर
असार ५, २०८३ शुक्रबार १३:५७, कञ्चनपुर

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ । संरक्षण कार्यक्रम सुरु भएको करिब डेढ दशकपछि कृष्णसारको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ्दो सङ्ख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हो।

निकुञ्जको पछिल्लो तथ्याङ्कअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी १०२, अर्धवयस्क पोथी २६ र लिङ्ग पहिचान हुन बाँकी ८४ पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए । उनका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको सङ्ख्या निरन्तर बढिरहेको छ।

‘अहिले मुख्य चुनौती व्यवस्थापनको हो’, सूचना अधिकारी वाग्लेले भने, ‘एउटै क्षेत्रमा धेरै सङ्ख्या हुँदा रोगको जोखिम बढ्ने भएकाले प्राकृतिक बासस्थानमा खुला रूपमा छाड्ने वा अन्य उपयुक्त क्षेत्रमा स्थानान्तरण गर्ने विकल्पबारे विभागले अध्ययन गरिरहेको छ।’

वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार शुक्लाफाँटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले-पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुनःस्थापना गर्ने तयारी भइरहेको छ। ‘वंशानुगत (जेनेटिक) विविधता कायम राख्न पनि यो आवश्यक छ’, वाग्लेले भने, ‘ब्रिडिङ व्यवस्थापन योजनाअनुसार एउटै घेराभित्र मात्र राखिरहनुभन्दा विभिन्न क्षेत्रमा फैलाएर संरक्षण गर्नु दीर्घकालीन रूपमा प्रभावकारी हुन्छ, नयाँपुस्तामा सुधार हुन्छ।’

निकुञ्जको हीरापुर फाँटामा हाल ५८ दशमलव आठ हेक्टर क्षेत्रफलमा तारबार गरी कृष्णसार संरक्षण गरिएको छ । प्रारम्भमा सन् २०१२ मा सात दशमलव पाँच हेक्टर क्षेत्रबाट सुरु भएको संरक्षण क्षेत्र चरणबद्ध रूपमा विस्तार गरी हालको आकारमा पुर्‍याइएको हो।

कृष्णसारलाई खुला घाँसे मैदान मन पर्ने भएकाले प्राकृतिक बासस्थानमा छाड्दा चितुवा, भुस्याहा कुकुर तथा चोरी सिकारीबाट जोगाउनु चुनौतीपूर्ण हुने देखिएको छ । यससँगै छाडा चौपायाबाट सर्ने सङ्क्रामक रोग पनि संरक्षणका मुख्य चुनौतीका रूपमा रहेको सूचना अधिकारी वाग्लेले बताए।

चरन क्षेत्रको संरक्षण, घाँसे मैदान व्यवस्थापन तथा मकै, मसुरोलगायत बाली रोपेर आहार व्यवस्थापन गर्ने काम निकुञ्जले गर्दै आएको छ । नियमित बजेट अभावका कारण पछिल्लो समय भने स्रोत व्यवस्थापनमा कठिनाइ भइरहेको सूचना अधिकारी वाग्लेले बताए । शुक्लाफाँटामा कृष्णसार संरक्षणका लागि सन् २०१२ मा नेपालगञ्जको मिनी चिडियाखानाबाट दुई वयस्क भाले, चार अर्धवयस्क भाले, १२ वयस्क पोथी र चार अर्धवयस्क पोथी गरी २२ वटा कृष्णसार ल्याइएको थियो।

सोही वर्ष ललितपुरस्थित सदर चिडियाखानाबाट तीन वयस्क भाले, दुई वयस्क पोथी र लिङ्ग नखुलेको एक गरी छ वटा कृष्णसार पुनःस्थापनाका लागि स्थानान्तरण गरिएको थियो । सन् २०१५ मा बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट तीन वयस्क भाले, एक अर्धवयस्क भाले र १० अर्धवयस्क पोथी गरी १४ वटा कृष्णसार स्थानान्तरण गरी ल्याइएको थियो।

तीनवटै क्षेत्रबाट वयस्क भाले आठ, अर्धवयस्क भाले पाँच, वयस्क पोथी २४, अर्धवयस्क पोथी चार र लिङ्ग नखुलेको एक गरी कुल ४२ वटा कृष्णसार स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरी ल्याइएका ४२ वटा कृष्णसारको सङ्ख्या करिब डेढ दशकमै बढेर ३१३ पुगेको छ जुन करिब सात गुणाबढीले वृद्धि भएको निकुञ्जको तथ्याङ्कले देखाएको छ।

कृष्णसारको स्वास्थ्य संरक्षणका लागि नियमित रूपमा दाना, चोकर, ढुटो, मकै र चना खुवाइने गरिएको छ । जुका, किर्नालगायत परजीवीको सङ्क्रमण रोक्न समयसमयमा औषधि मिश्रित आहारसमेत उपलब्ध गराइने सूचना अधिकारी वाग्लेले जानकारी दिए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कृष्णसार नेपालका संरक्षित वन्यजन्तुमध्ये एक हो । कुनै समय नेपाल, भारत र बङ्गलादेशका खुला घाँसे मैदानमा प्रशस्त पाइने यो प्रजाति बासस्थानको विनाश, चोरी सिकार र प्राकृतिक विपद्का कारण लोपोन्मुख अवस्थामा पुगेको थियो।

हीरापुर संरक्षण क्षेत्र अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्रसमेत बन्दै गएको छ । कृष्णसार अवलोकनका लागि दैनिक रूपमा आन्तरिक पर्यटक पुग्ने गरेका छन् । दुर्लभ र आकर्षक वन्यजन्तु कृष्णसारको मुख्य आहारा घाँस, दुबो, सिरु, काँसलगायत हुन् । हिन्दू धर्ममा यसलाई ‘भगवान् श्रीकृष्णको साथी’का रूपमा पनि लिइन्छ।

कृष्णसार संरक्षण क्षेत्रलाई अझै व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले बताए । उनका अनुसार कृष्णसार संरक्षण क्षेत्र नजिकैको सिमलफाँटा बस्तीमा घरबास (होमस्टे) कार्यक्रम सुरु गरिएको छ।

“घरबासको स्तरोन्नति गरी पर्यटकलाई कृष्णसार संरक्षण क्षेत्रमा घुमाउने व्यवस्थाका लागि पहल हुन आवश्यक छ”, उनले भने, “यसले स्थानीय बासिन्दाको आयआर्जनमा टेवा पुग्नुका साथै निकुञ्जको आन्तरिक आयसमेत वृद्धि हुन्छ।” पर्यटकीय पूर्वाधारमा जोड दिनुपर्ने उनको भनाइ छ।

निकुञ्जका सहायक मुख्य संरक्षण अधिकृत विनयकुमार झाले कृष्णसार संरक्षणसँगै पर्या–पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकतामा राखिएको बताउँदै स्थानीय समुदायको सहभागिता र संरक्षणबीच सन्तुलन कायम गर्दै संरक्षण क्षेत्रलाई थप व्यवस्थित गरिँदै लगिएको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad