समाज


कक्षा १२ को नतिजा दश दिनभित्र सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा दश दिनभित्र सार्वजनिक गर्ने तयारी

नेपालखबर
माघ २, २०७७ शुक्रबार १:१२,

कक्षा १२ को नतिजा आगामी १० दिनभित्र सार्वजनिक हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी १० दिनभित्र कक्षा १२ को नतिजा सार्वजनिक भइसक्ने जानकारी दिएका हुन्। बोर्डले यसअघि पुसको दोस्रो साताभित्र परीक्षाको नतिजा सार्वजनिक गरिसक्ने घोषणा गरेको थियो। तर अझै उत्तरपुस्तिका रुजुको काम सकिएको छैन।

‘हामीले पुसको दोस्रो साताभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेका थियौँ,’ शिक्षा पत्रकार सञ्जाल (इजोन)ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पौडेलले भने, ‘तर, विद्यालयहरुले निर्देशनअनुसार उत्तरपुस्तिका परीक्षण गरेर नपठाएकाले नतिजा सार्वजनिक गर्न ढिला भएको हो। अबको १० दिनभित्र नतिजा सार्वजनिक गर्ने गरी हामी काम गरिरहेका छौँ।’

अहिलेसम्म उत्तर पुस्तिकाको विवरण ‘इन्ट्री गर्ने कार्य सकिएको पौडेलले जानकारी दिए। ‘उत्तरपुस्तिका रुजु गर्ने कार्य अझै ६० प्रतिशत बाँकी छ। विद्यालयले उत्तरपुस्तिका परीक्षण गरेपछि जथाभावीरुपमा अङ्क विवरण पठाउँदा समस्या भएको हो।’

केन्द्राध्यक्षहरुलाई तालिम दिँदा विवरण पठाउने तरिक सिकाइएको भए पनि उनीहरुमा सामान्य ‘कमनसेन्स’ पनि नदेखिएको पौडेलले बताए। ‘जथाभावी किसिमले हातैले मार्क इन्ट्री गरेर विद्यालयहरुले उत्तर पुस्तिका पठाएका छन्,’ उनले भने।

कोभिड–१९ का कारण बोर्डले ४० अङ्कको मात्र लिखित परीक्षा सञ्चालन गरेको थियो । बाँकी अङ्क कक्षा ११ को र आन्तरिक मूल्याङ्कनका आधारमा गणना गर्ने बोर्डको तयारी छ। यस वर्ष करिब चार लाख ३१ हजार विद्यार्थी कक्षा १२ को परीक्षमा सहभागी भएका छन्। कोभिडका कारण विद्यार्थीको पायक पर्ने विद्यालयलाई नै परीक्षा केन्द्र बनाइएको थियो।

यसैबीच कक्षा ११ को रजिष्ट्रेसन फाराम र कक्षा १२ को आवेदन फाराम अनलाइन विधिमार्फत छिटै खुला गर्ने तयारी पनि बोर्डले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad