समाज


कमला ह्यारिससँग प्रबल गुरुङले जोडेको नेपाली साइनो

कमला ह्यारिससँग प्रबल गुरुङले जोडेको नेपाली साइनो

यज्ञराज जोशी
माघ ९, २०७७ शुक्रबार १४:२३,

शपथग्रहणको भोलिपल्ट प्रार्थना सभामा उपस्थित हुँदा अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस रातो ऊनीको पोसाकमा सजिएकी थिइन्।

त्यही पोसाकले विश्वकै शक्तिशाली प्रशासन हाँक्न तयार भएकी ह्यारिसलाई नेपालसँग जोडिदिएको छ। जसका कारण हुन्– डिजाइनर प्रबल गुरुङ।

ह्यारिसको सो पोसाक गुरुङको न्युयोर्कस्थित डिजाइन वर्कशपमा हातबाटै बनेको थियो। डिजानर गुरुङ र त्यो पोसाकबारे अहिले विश्वभर चर्चा भइरहेको छ।

उसो त ह्यारिसका लागि गुरुङले पहिलो पटक पोसाक डिजाइन गरेका होइनन्। यसअघि डेमोक्रेटिक पार्टीको राष्ट्रिय सम्मेलनका क्रममा समेत ह्यारिसले उनकै डिजाइनको कपडा लगाएकी थिइन्।

prabal gurung dress

ह्यारिसको परिवारका अरु सदस्यले पनि गुरुङले डिजाइन गरेका लुगा लगाउने गर्छन्। तिनैमध्ये एकमा पर्छिन, ह्यारिसकी भतिजी मीना। जो गुरुङ र ह्यारिसबीच सम्पर्क माध्यम पनि हुन्।

‘ह्यारिसले मेरो डिजाइनको कपडा लगाएर प्रार्थनामा आएको क्षणलाई शब्दमा बयान गर्न सक्दिनँ। आफू सम्मानित भएको महसुस गरेको छु। उहाँप्रति आभारी छु,’ प्रबल गुरुङले भने, ‘म एक आप्रवासी हुँ। जो सिंगापुरमा जन्मिएँ, नेपालमा हुर्किएँ र भारतमा अध्ययनका साथै काम सिकेँ। मजस्ता आप्रवासीहरुको काम विश्वकै शक्तिशाली प्रशासनको केन्द्रमा पुग्दा उत्साहित बनाएको छ।’

ह्यारिस अमेरिकाको पहिलो महिला, अश्वेत र दक्षिण एसियाली मूलकी उपराष्ट्रपति हुन्। त्यसैले राष्ट्रपतीय निर्वाचनमा उनी सधैँ चर्चामा रहिन्। बाइडेन–ह्यारिस प्रशासनमा डोनाल्ड ट्रम्पले आप्रवासीप्रति अपनाएको असहिष्णु नीति अन्त्य हुने अपेक्षा गुरुङजस्ता करोडौँ आप्रवासीले गरेका छन्।

Kamala9

‘अमेरिका अन्त्यहीन महत्वाकांक्षा पुरा गर्ने ठूलो सम्भावनायुक्त देश हो। ह्यारिसले मजस्ता आप्रवासीको सामान प्रयोग गरेर थुप्रैलाई आशाको सञ्चार गर्नुभएको छ,’ गुरुङले भने, ‘जो बाइडेन र ह्यारिसले प्रशासन सम्हालेपछि अमेरिका न्यायसंगत र समान रुपमा अघि बढ्ने विश्वास बढेको छ। ममा पनि नयाँ शिराबाट आशाको सञ्चार भएको महसुस गरेको छु।’

गुरुङका बुबा सिंगापुर प्रहरीमा थिए। उनको जन्म त्यहीँ भयो। उनले स्कुले शिक्षा भने काठमाडौँको सेन्ट जेभियर्स स्कुलबाट पुरा गरे। लुगा र रङसँग उनको पहिलेदेखि नै लगाव थियो। सोहीकारण नयाँ दिल्लीको नेसनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजीबाट फेसन डिजाइनिङ कोर्स गरे।

दिल्लीमा अध्ययनका क्रममै उनले स्थानीय उत्पादन कम्पनी र बलिउडका डिजाइनरहरुसँग सम्बन्ध स्थापित गरिसकेका थिए। उनले बलिउडका चर्चित अभिनेत्रीहरुका लागि पोसाक डिजाइन गरिसकेका थिए। प्रियंका चोपडादेखि दीपिका पादुकोणसम्मले उनको डिजाइनको पहिरन लगाएका छन्।

Prabal4

दिल्लीमा काम गर्दागर्दै फेसन शोका लागि उनी लन्डन, सिड्नी लगायत सहर पुगिसकेका थिए। थप अध्ययनका लागि उनी सन् १९९९ मा न्युयोर्क पुगे। त्यहाँको फेसन डिजाइनसम्बन्धी प्रतिष्ठित कलेज पार्सन्स स्कुल अफ डिजाइनमा अध्ययन गर्न थाले। त्यहाँको वार्षिक फेसन डिजाइनिङ प्रतियोगितामा उनी उत्कृष्ट चुनिएका थिए।

सोहीकारण प्रसिद्ध अमेरिकी डिजाइनर डोना क्यारनको फेसन हाउसमा उनले इन्टर्नसिप गर्ने अवसर पाए। अध्ययनपछि गुरुङले दुई वर्ष अर्की फेसन डिजाइनर सिन्थिया रलीको टोलीमा काम गरे। त्यसपछि पाँच वर्ष बिल ब्लासको कम्पनीमा फेसन निर्देशकका रुपमा काम गरेका उनले सन् २००९ मा आफ्नै ‘प्रबल गुरुङ’ ब्रान्ड खोले।

Prabal2

ब्रान्ड खोलेकाे अर्को वर्ष नै तत्कालीन प्रथम महिला मिसेल ओबामाले गुरुङको डिजाइनको पोसाक लगाएर एक कार्यक्रममा सहभागी भइन्। त्यहीँबाट गुरुङको चर्चा चुलियो।

‘तिम्रो सफलता अब तिमीमा मात्रै सिमित रहेन। यो नेपाल, अमेरिकाका ती कयौं मान्छेहरुको पनि सफलता हो, जो टाढाबाट आएर यो सम्भव छैन भन्ने सोच्छन्,’ आमाले त्यसबेला भनेको कुरा सम्झिँदै गुरुङले भने, ‘त्यो मेरा लागि अविष्मरणीय क्षण थियो। त्यसपछि मेरो जीवन नै बदिलियो।’

पछि ह्वाइट हाउसमा आयोजित ‘गर्ल्स राइजिङ’ नामक कार्यक्रममा पनि उनले निम्तो पाए। उक्त कार्यक्रममा आमा र भान्जीसँगै पुगेका गुरुङले मिसेल ओबामासँग भेटको मौका पाएका थिए।

न्युयोर्क, मिलान, पेरिस, लन्डनलगायत विश्वका ठूला सहरमा आयोजना हुने फेसन शोमा प्रबलको डिजाइन सधैँ दाबेदार रहन्छ। हलिउड–बलिउडका अधिकांश सेलेब्रिटीको रोजाइमा उनी पर्छन्।

Prabal3

‘म मनैदेखि डिजाइन गर्छु। त्यसैले उहाँहरुको रोजाइमा पर्छु होला,’ उनले भने ‘महिलाहरुलाई सुन्दर बनाउँदै उहाँहरुको आत्मविश्वास अझै बढोस् भन्ने मेरो उदेश्य हुन्छ।’

गुरुङले अहिले नेपालको नागरिकता त्यागिसकेका छन्। यद्यपि मनमा भने नेपाल कायमै रहेको उनको भनाइ छ।

‘कामका लागि युरोपसहित विश्वका विभिन्न देशमा भ्रमण गरिरहनुपर्छ। नेपाली पासपोर्टले सबै देशमा भिसा पाउन निकै समस्या पर्छ,’ उनी भन्छन्, ‘व्यवसायिक कारणले नागरिकता त्याग्नु परेपनि मेरो मनमा नेपाल छ। नेपालमा फाउन्डेसन खोलेको छु। बेलाबेला नेपाल आइरहन्छु।’

२०११ यता उनी र उनको परिवारले स्थापना गरेको शिक्षा फाउन्डेसनले गरिब, असहाय बच्चाहरुलाई सहयोग गरिरहेको छ। शिक्षा फाउन्डेसनबाट ६० बढी बालबालिका लाभान्वित भइसकेका छन्। फाउन्डेसनले शिक्षकहरुको स्तरवृत्तिमा समेत सहयोग गर्छ।

सोही वर्ष उनी माइती नेपालको गुडविल एम्बास्डर पनि नियुक्त भएका थिए। २०१५ मा नेपालमा भूकम्प जाँदा उनले सहायता कोष स्थापना गरेर सहयोग उठाएका थिए। जसमार्फत १० लाख डलर जम्मा भएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .