अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताएका छन्।
यस झडपमा सरकार समर्थक लडाकूका कमान्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको छ। तालिबान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाइएको छ। तालिबान लडाकू पाँचसहित नौ जना घाइते भएका पनि साफीले बताएका छन्।
सयौं तालिवान लडाकूहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकूमाथि आक्रमण गरेका थिए। उक्त आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन्।
कुन्दुज प्रान्तीय परिषद्का प्रमुख मोहम्मद युसुफले यस झडपमा सरकार समर्थक १६ लडाकूको मृत्यु भएको पुष्टि गरेका छन्। तालिबान लडाकू समूहले भने यस झडप र हताहतिको कुनै टिप्पणी गरेका छैनन्। रासस/सिन्ह्वा

प्रतिक्रिया