समाज


भारतसँग कोरोना खोप खरिद प्रक्रिया अन्तिम चरणमा

भारतसँग कोरोना खोप खरिद प्रक्रिया अन्तिम चरणमा

यज्ञराज जोशी
माघ २४, २०७७ शनिबार ११:३५,

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले भारतबाट कोरोनाविरुद्धको खोप खरिदको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन्।

विभागमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेरम इन्स्टिट्युटले उत्पादन गरेको कोभिशिल्ड खोप खरिद गर्न लागेको हो। उक्त खोप अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रोजेनिकाले विकास गरेका हुन्।

‘हामीले सेरम इन्सच्युटको खोप ल्याउन लागेका हौं। अरु खोप हाम्रो पूर्वाधारले धान्दैन’ उनले भने, ‘खरिदको प्रक्रिया अन्तिम–अन्तिम चरणमा पुगेको छ। मन्त्रालयबाट केही प्रक्रिया सकिएपछि खरिदको टुंगो लाग्छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले पनि यसअघि नै खरिदको प्रक्रिया अघि बढेको सार्वजनिक कार्यक्रममै बताएका थिए।

सरकारले २० लाख डोज खोप खरिदको लागि प्रस्ताव गरेको हो। तर, विश्वभर नै खोपको माग भएकाले कम्पनीले कति खोप दिनसक्छ त्यही मात्रामा खोप ल्याउने तयारीमा स्वास्थ्य मन्त्रालय छ।

‘ठ्याक्कै यति आउँछ भन्ने स्थिति छैन। उनीहरुले कति दिनसक्छन्, त्यति आउँछ,’ महानिर्देशक सिंहले भने।

गत माघ १४ गतेबाट नेपालमा भारत सरकारले उपहारमा दिएको सेरम इन्सिच्युटको खोप अग्रपंक्तिमा खटिनेहरुलाई लगाइन थालिएको छ। उक्त पहिलो चरणको खोप अभियान शनिबारसम्म चल्नेछ।

शुक्रबारसम्म देशभरका एक लाख ७१ हजार ४८६ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले शुक्रबारसम्म देशभरका दुई सय एक खोप केन्द्रबाट खोप लगाउन थालेको थियो।

भारतले दिएको १० लाख डोज खोप ४ लाख ३० हजार अग्रपंक्तिमा खटिनेलाई लगाउने योजना बनाए पनि सो संख्यामा खोप लगाउन नपुग्ने भएपछि पहिलो चरणमा खोप बच्ने भएको हो।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पहिलो चरणबाट बचेको खोप प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने बताए।

‘अहिलेसम्म हामीले स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिएकालाई मात्र लगाएका थियौँ,’ उनले भने, ‘अब प्राथमिकता परेका अध्यागमन कार्यालय, भन्सार कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल र वृद्धाआश्रममा गएर खोप लगाउँछौँ।’

प्रवक्ता गौतमका अनुसार अब दोस्रो चरणमा पत्रकार र कूटनीतिक क्षेत्र र स्थानीय निकायका कर्मचारीहरुलाई खोप दिइनेछ। दोस्रो चरणको खोप सोमबारबाट सुरु हुनेछ।

स्वास्थ्य सेवा विभागले दोस्रो चरणको खोप अभियान सञ्चालनका लागि शनिबारसम्म तथ्यांक उपलब्ध गराइदिन सातै प्रदेशका प्रादेशिक स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई पत्राचार गरेको छ।

विभागको पत्र अनुसार दोस्रो चरणमा स्थानीय तहका पालिका, जिल्ला तथा इलाका प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी, मालपोत, नापी, विद्युत, खानेपानी, हुलाक, टेलिकम, बैंक, कर, कृषि–पशु र यातायात कार्यालयका कर्मचारीलाई समेत खोप लगाउने तयारी गरेको छ।

यस्तै यही चरणमा ५५ वर्षमाथि जेष्ठ नागरिक र दीर्घरोगीहरुलाई समेत खोप लगाउने तयारी रहेको छ।

चीन र कोभ्यास सुविधाबाट पनि खोप आउँदै
परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार चीनले नेपाललाई ५ लाख डोज कोभिड खोप उपलब्ध गराउने भएको छ।

मन्त्रालयका अनुसार शुक्रबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भएको टेलिफोन वार्ताका क्रममा चिनियाँ मन्त्री तथा स्टेट काउन्सिलर वाङले सो सहयोग गर्ने घोषणा गरेका हुन।

चीनले उक्त खोप तत्काल उपलब्ध गराउने घोषणा गरे पनि कहिले आउँछ भन्ने निश्चित भएको छैन।

त्यसैगरी विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधामार्फत पहिलो चरणमा नेपालले २२ लाख ५६ हजार डोज खोप पाउने निश्चित भएको छ।

कोभ्याक्सले पनि नेपाललाई भारतको सेरम इन्सटिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप नै दिन लागेको हो। यद्यपी यो खोप पनि कहिले आइपुग्छ टुंगो छैन। मन्त्रालयले फागुन महिनाभित्र कोभ्याक्समार्फत खोप आउने विश्वास व्यक्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .