जिल्ला प्रहरी कार्यालय चितवनले लुटपाट गर्ने एक जनालाई आज पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका– ३ बाह्रघरे बस्ने ३३ वर्षीय विकल क्षेत्री रहेका छन्। लुटिएको सामान किन्ने भरतपुर महानगरपालिका–११ का २९ वर्षीय सन्तोष विश्वकर्मालाई पनि पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले क्षेत्रीले तनहुँकी एक महिलालाई नारायणगढमा बोलाएर लुटपाट गरेको जनाएको छ। निजले ३९ वर्षीया महिलालाई धारिलो हतियार देखाई लुटपाट गरेका हुन्।
क्षेत्रीले महिलालाई कुटपिट र लछारपछार गरी कान र हातमा समेत चोट पु¥याइ लगाएको सुनको झुम्का, सिक्री, ब्रासलेट, दुई वटा औँठी, हातमा लगाएको घडी, दुई वटा मोबाइल र नगद रु १७ हजार गरी जम्मा रु पाँच लाख ६३ हजार २५० बराबरको सामान लुटी लगेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निज क्षेत्रीले झुम्का र ब्रासलेट विश्वकर्मालाई बिक्री गरेको बयानका आधारमा उनलाई पक्राउ गरिएको हो घाइते महिलाको अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया