समाज


महिला अधिकारकर्मी भन्छन्ः नेताले बोल्ने भाषाले बलात्कार संस्कृति बढायो

महिला अधिकारकर्मी भन्छन्ः नेताले बोल्ने भाषाले बलात्कार संस्कृति बढायो

यज्ञराज जोशी
माघ ३०, २०७७ शुक्रबार १३:४,

महिला अधिकारकर्मी तथा अभियान्ताहरुले नेपालमा बलात्कार बढ्नुमा पदासीन व्यक्तिहरुले प्रयोग गर्ने भाषा जिम्मेवार रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा भएको महिला मार्चमा लेखक तथा अभियान्ता डा.अर्चना थापाले नेताले बोल्ने भाषा र गर्ने व्यवहार महिलाप्रति विभेदपूर्ण हुने गरेको र त्यसले बलात्कार संस्कृति बढाउन मद्दत पुग्ने बताइन्।

‘नेताहरु लोकतन्त्रमाथि बलात्कार भयो। संविधानको चिरहरण भयो भन्छन्,’ उनले भनिन्, ‘के लोकतन्त्र, सविधान महिला हो? हिम्मत राख्ने भए त्यसका ठाउँमा संविधानको दौरा सुरुवालको इजार खुस्कियो भनौँ। नत्र हिंसालाई प्रवर्द्धन गर्ने भाषालाई परिवर्तन नगरेसम्म बलात्कार संस्कृति कम हुँदैन।’

‘हामीले बोल्ने, मजाक गर्ने शब्द, फिल्म, गीतमा महिलालाई सेक्स अब्जेक्टका रुपमा देखाउँछौं, कमजोर देखाउँछौं। यसले हिंसात्मक प्रवृत्ति रोकिन्न,’ उनले थपिन्, ‘गृहमन्त्रीले बलात्कारीको संख्या चिन्ताजनक छैन भन्नु बलात्कार संस्कृतिलाई प्रवर्द्धन गर्नु हो।’

थापाले नेपालमा कसैको बलात्कार भएमा पीडितमाथि नै दोष थोपर्ने परिपाटी रहेको बताइन्। उनले मोबाइल बोकेकोे, छोटो लुगा लगाएको, घरमा एक्लै भएको, प्रेम सम्बन्ध कायम गरेको, डेटिङमा गएको, उत्ताउलो भएको भएको, आदि कारणले बलात्कार भएको भन्दै महिलामाथि नै आरोप लाग्ने गरेको दृष्टान्त दिइन्।

उनले सञ्चारमाध्यममा बलात्कारका घटनासँग सम्बन्धित समाचारमा डराएकी महिलाको स्केच प्रयोग गरिँदा त्यसले महिला कमजोर हो भन्ने सन्देश जाने र त्यसले बलात्कारीलाई उत्प्रेरित गर्ने बताइन्।

अध्यागमन कार्यालयले ४० वर्षभन्दा कम उमेर भएका महिलाहरुलाई भिजिट भिसामा विदेश जाँदा वडाको सिफारिस वा परिवारको अनुमति चाहिने गरी संशोधन गर्न लागेको कार्यविधिको अभियानकर्ताहरुले विरोध गरेका छन्।

महिला अधिकारकर्मी तथा अभियान्ता हिमा विष्टले आज भ्रमणमा जान वडाको सिफारिस माग्नेले भोलि बच्चा जन्माउन पनि वडाकै सिफारिस ल्याउन लगाउनसक्ने बताइन्।

‘४० वर्षभन्दा मुनिका महिलालाई सिफारिसबिना भ्रमणमा जान नदिने रे,’ उनले भनिन्, ‘भोलि गएर बच्चा जन्माउन पनि त्यही वडाको सिफारिस चाहिने होला हैन? अब गाउँगाउँ, घरघरबाट किशोरीहरु उठ्नुपर्छ। आफ्नो हकका लागि बोल्नुपर्छ।’

उनले विगत डेढ वर्षभित्र ५ हजार ७ सयको बलात्कार भएको तथ्यांक सुनाउँदै उही प्रधानमन्त्री उही गृहमन्त्री हुँदा पनि निर्मला पन्तदेखि भागरथी भट्टसम्मले न्याय नपाएको गुनासो गरिन्।

‘भुइँ मान्छे सत्तामा पुगेपछि उसलाई फरक नपर्दो रहेछ तर उसलाई सत्तामा जानलाई भोट हाम्रै चाहिन्छ,’ विष्टले चेतावनी दिइन्, ‘विचार गर्नुस फेरि चुनाव हुन्छ। त्यसबेला ‘माइ भजाइना विल भोट यू आउट।’

सपना सन्जिवनीले मैथिली भाषामा कविता सुनाउँदै समाजले महिलाहरुलाई सदियौंदेखि सरस्वती जस्तै ज्ञानी, सीताजस्तै सहनशील, गान्धारीजस्तै आँखामा पट्टी बाँधेर बस्न सिकाएको बताइन्। अबको महिला त्यस्तो नबन्ने उनले बताइन्।

कवि प्रणिका कोयूले संविधानको रक्षा गरौं भनेर अहिले नारा लगाएको तर विगतदेखि नै यो संविधान महिला, आदिवासी, दलित, महिला, यौनिक अल्पसंख्यकको नरहेकोले त्यो सच्चाउन अहिले कदम चालेको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .