समाज


खोपमा सरकारको उल्टो नीति, मृत्युदर बढी हुने समूहको पालो मिचियो

खोपमा सरकारको उल्टो नीति, मृत्युदर बढी हुने समूहको पालो मिचियो

यज्ञराज जोशी
फागुन ३, २०७७ सोमबार ११:५१,

सरकारी तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुमा ५५ वर्षभन्दा मानिसको संख्या बढी छ।

तर, खोप लगाउँदा भने सरकारले ज्येष्ठ नागरिकहरुका लागि तोकिएको प्राथमिकता क्रम मिचेको छ। खोप अभियान सुरु भएको दुई साता नाघिसक्दा पनि सरकारको उल्टो नीतिका कारण मृत्युदर बढी भएका नागरिकले खोप पाउने टुंगो छैन।

आफँैले बनाएको प्राथमिकताविपरीत ज्येष्ठ नागरिकलाई खोप नलगाइएपछि जोखिम झनै बढेको विज्ञहरुले बताएका छन्।

स्वास्थ्य मन्त्रालयको माघ २१ गतेसम्मको तथ्यांकअनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेमध्ये ५५ वर्षमाथिका व्यक्तिको संख्या १ हजार ४३७ छ। अन्य उमेर समूहका ५९३ जनाको मात्रै मृत्यु भएको छ।

संक्रमण भएपछि ५५ देखि ६४ वर्ष उमेर समूहमा १.८४ प्रतिशत, ६५ देखि ७४ उमेर समूहमा ४.४५, ७५ देखि ८४ उमेर समूहमा ७.०९ र ८५ वर्षभन्दामाथिका लागि १०.१९ प्रतिशतको मृत्युदर देखिएको छ।

५५ देखि ६४ वर्ष उमेर समूहका २१ हजार ५९, ६५ देखि ७४ वर्षका ११ हजार ६९६, ७५ देखि ८४ वर्षका ५ हजार ३६३ र ८५ वर्षभन्दामाथिका १ हजार ४५२ जनालाई संक्रमण पुष्टि भइसकेको छ।

यसै तथ्यांकअनुरुप पनि सरकारको प्राथमिकतामा ५५ वर्षभन्दा माथिको जनसंख्या पर्नुपर्ने हो। तर, सरकारले उनीहरुलाई बेवास्ता गरेको छ।

No description available.सरकारले सुरुमा तोकेको प्राथमिकता

भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि गत माघ १४ गतेबाट सरकारले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको हो। पहिलो १० दिनमा फ्रन्टलाइनमा खटिनेहरुलाई खोप लगाइयो।

यो चरणमा चार लाख ३० हजारलाई खोप लगाउने लक्ष्य लिइएपनि १ लाख ८५ हजारले मात्रै खोप लगाए। जसअनुसार पहिलो चरणमा २ लाख ४५ हजार डोज खोप बचत भएको थियो।

त्यसपछि ५५ वर्षभन्दा माथिकालाई खोप लगाउने प्राथमिकता सरकारले तोकेको थियो। तर, बीचमै सरकारले नीति उल्ट्याएको छ।

सरकारले पहिलो चरणबाट बचेको खोप पत्रकार, कूटनीतिक निकायका प्रतिनिधिलाई लगायो। गत शुक्रबारसम्म चलेको उक्त खोप अभियानमा २ हजार २४० पत्रकार, ३४९ सयुंक्त राष्ट्र संघका कर्मचारी र ८९१ जना विभिन्न कूटनीतिक क्षेत्रका गरी ३ हजार ४८० जनाले खोप लगाए।

No description available.

त्यसपछि बचेको २ लाख ४० हजार डोज खोपमा पनि सरकारको प्राथमिकतामा जेष्ठ नागरिक परेनन्।

आइतबारबाट सुरु भएको पहिलो चरणको दोस्रो प्राथमिकता भन्दै सरकारले अहिले देशैभरि सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारीहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरु, सीमा पोस्टमा खटिएका सुरक्षाकर्मीहरु र पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई खोप लगाइरहेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट डा.अनुप बास्तोला मृत्युदरका हिसाबले पनि नेपालमा जेष्ठ नागरिकहरुले खोपमा प्राथमिकता पाउनुपर्ने बताउँछन।

‘युवापुस्तामा संक्रमणका लक्षण देखिएपनि मृत्यु हुने संख्या एकदमै कम छ,’ उनी भन्छन्, ‘धेरै सिकिस्त हुने र मृत्यु हुनेमा पनि वृद्धवृद्धा बढी हुनुहुन्छ। हामीले त्यही अनुसार खोपमा उहाँलाई प्राथमिकता दिनुपर्ने हो।’

उनका अनुसार टेकु अस्पतालमा ५५ वर्षभन्दा माथिका १ हजार जना संक्रमितको उपचार हुँदा ५० जना जतिको मृत्यु भएको छ।

बास्तोलाले दोस्रो चरणमा जेष्ठ नागरिकहरु प्राथमिकतामा परेपनि खोप आउने सुनिश्चितता नभएका कारण सरकारलाई झक्झक्याइरहनुपर्ने अवस्था रहेको बताए।

सरकारी तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी जोखिममा रहेका ५५ वर्षमाथिका मानिसको संख्या ३७ लाख ३३ हजार छ। तर, उनीहरुले खोप कहिले पाउने भन्ने टुंगो छैन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पहिलो चरणमा बचेको खोप जेष्ठ नागरिकलाई नपुग्ने भएकाले पत्रकार, कूटनीतिक नियोगका व्यक्ति र कर्मचारीहरुलाई लगाइएको हो।

‘जेष्ठ नागरिकका लागि २० लाख डोज चाहिन्छ। अहिले जम्मा पाँच लाख खोप हामीसँग उपलब्ध छ,’ डा. गौतमले भने, ‘त्यो खोपले उहाँहरुलाई नपुग्ने भएपछि अरुलाई लगाइएको हो। हामी खोप खरिदको प्रक्रियामा छौँ। छिट्टै नै उहाँहरुको पालो आउँछ।’

No description available.

उनले जेष्ठ नागरिकका लागि समुदायमै गएर लगाउनुपर्ने भएकाले त्यसअनुसारको तयारी पनि मन्त्रालयले थालेको जनाए। यसअघि अस्पताल तथा तोकिएका खोप केन्द्रबाट मात्रै खोप लगाउने व्यवस्था गरिएको थियो।

खोप उपलब्ध भएको अवस्थामा मन्त्रालयले फागुन अन्तिमदेखि जेष्ठ नागरिकलाई खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले फागुन २४ देखि समुदायस्तरमा खोप लगाउने योजना रहेको र त्यसै अभियानमा जेष्ठ नागरिकलाई पनि खोप लगाइने बताए।

‘हामीले खोप लगायौँ तर दुर्भाग्यवश हामीले जसलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने हो। उहाँहरुले लगाउन पाउनुभएको छैन,’ पोखरेलले भने, ‘खोप ल्याउन हामी कटिबद्ध छौँ। सकेसम्म फागुन २४ गतेबाटै समुदायस्तरमा गएर उहाँहरुलाई खोप लगाउँछौँ।’

पोखरेलले भारतबाट कोभिसिल्ड खोप खरिदको प्रक्रिया अन्तिम चरणमा रहेको तर ठ्याक्कै कहिलेसम्म आइपुग्छ भन्न नसकिने बताए। त्यसबाहेक यही फागुनभित्र कोभ्याक्स सुविधाबाट पाउने २२ लाख ५६ हजार खोप पाउने विश्वास सरकारले लिएको छ।

खोप अभियानमा राज्यले आफूहरुलाई बेवास्ता गरेको ज्येष्ठ नागरिकहरू बताउँछन्। विवेकशील साझा पार्टीको साझा ज्येष्ठ नागरिक संगठन संयोजक महेनमोहन श्रेष्ठले संक्रमणबाट मृत्यु हुनेमा सबैभन्दा उच्च जोखिममा रहेका ज्येष्ठ नागरिकहरूलाई सरकारले खोप अभियानको तेस्रो चरणसम्ममा पनि प्राथमिकतामा नपार्नु अत्यन्त दुःखद् र दुर्भाग्यपूर्ण भएको बताए।

एक विज्ञप्ति जारी गर्दै उनले विश्वभर ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखी खोप दिइँदै गरिएकोमा नेपालमा यो वर्गमाथि सरकारले गरेको विभेदले सामाजिक न्याय र सुरक्षाप्रति सरकार उदासीन देखिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .