समाज


३२ करोड कमिसनको खेलले रोकियो खोप खरिदको प्रक्रिया

३२ करोड कमिसनको खेलले रोकियो खोप खरिदको प्रक्रिया

यज्ञराज जोशी
फागुन २७, २०७७ बिहिबार १२:१३,

एजेन्टले कमिसन मागेपछि भारतबाट कोरोनाविरुद्धको खोप किन्ने प्रक्रिया अवरुद्ध भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन दोस्रो साता कोरोनाविरुद्धको ५० लाख डोज खोप खरिदका लागि भारतस्थित सेरम इन्स्टिच्युटलाई पत्राचार गरेको थियो।

सेरमले उत्पादन गरेको कोभिसिल्ड खोप नै अहिले नेपालमा प्रयोगमा ल्याइएको छ। सुरुमा भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो।

त्यसपछि नेपालले सेरमबाट नै २० लाख डोज खोप किन्यो। जसमध्ये १० लाख डोज खोप नेपाल पुगेपनि बाँकी खोप आइपुगेकाे छैन।

यहीबीच सरकारले थप ५० लाख डोज खोप खरिदका लागि अघि बढाएको प्रक्रिया भने कमिसनको बार्गेनिङमा अल्झिएको छ।

सेरम इन्स्टिच्युटको नेपालस्थित अधिकारिक बिक्रेता हुकुम इन्टरप्राइजेज हो। उक्त कम्पनीले नेपालले खरिद गर्ने खोपमा १० प्रतिशत कमिसन मागेको छ। सेरमले पनि नेपाललाई कमिसन रकम जोडेरै पैसाको प्रस्ताव पठाएपछि खोप खरिदको प्रक्रिया अघि बढ्न सकेको छैन।

‘हुकुम इन्टरप्राइजेज उसको अधिकारिक बिक्रेता हो। उसको कमिसनको पैसा जोडेर सेरमले खोप खरिदको प्रस्ताव गरेको छ,’ खोप खरिदको जिम्मेवारी पाएको स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख भीमसिंह तिंकरीले भने, ‘तर मन्त्रालय त्यसमा सहमत छैन। हामीले सीधै कम्पनीबाट आउने मूल्यमा दिनुपर्छ भन्ने कुरो गरिरहेका छौँ।’

एजेन्टलाई कमिसन नदिने भन्दै सरकारले सोझै कम्पनीसँग खोप खरिदका लागि पत्राचार गरेको थियो। तर पटकपटक पत्राचार गर्दा पनि सेरमले जवाफ दिएको छैन। बरु, एजेन्टमार्फत आउन दबाब दिइरहेको छ। त्यसो गरे नेपालले थप १० प्रतिशत कमिसन एजेन्टलाई तिर्नुपर्ने हुन्छ।

‘हामीले सीधै कम्पनीसँग कुरा गरेको हो। कम्पनीले हाम्रो एजेन्ट छ भन्छ,’ तिंकरीले भने, ‘तर पनि हामीले लगातार पत्र लेखिरहेका छौँ। धेरै दिनदेखि कम्पनीले जवाफ दिएको छैन।’

यसअघि २० लाख डोज खोप सरकारले सेरमबाट प्रतिडोज ४ डलरमा खरिद गरेको थियो। यसपटक सरकारले ५.५० डलरमा खोप खरिदको प्रस्ताव कम्पनीसँग राखेको छ। त्यसमा पनि एजेन्टलाई १० प्रतिशत कमिसन दिँदा खोपको मूल्य ६ डलरभन्दा माथि पर्ने देखिन्छ।

सरकारको प्रस्तावअनुसार ५० लाख डोज खोप ५.५० डलरका दरले खरिद गर्दा ३ अर्ब २० करोड ७० लाख रुपैयाँ लाग्छ। तर, त्यसमा १० प्रतिशत कमिसन रकम पनि जोड्दा ३२ करोड ७० लाख रुपैयाँ थप तिर्नुपर्ने हुन्छ।

‘सेरमले कमिसन जोडेर ६ डलरभन्दा बढीमा प्रस्ताव गरेको छ। ६ डलर हामीले तिर्दैनौं भनेका छौँ,’ तिंकरीले भने, ‘हामीले पठाएको पत्रको कम्पनीले कुनै जवाफ दिएको छैन। सायद मन्त्रीज्यूहरुको पहलबाट केही भए खोप आउने बाटो खुल्ला।’

पहिलेकै मूल्यमा अब खोप आउँदैन: प्रवक्ता गौतम
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम पहिलेको मूल्यमा अब खोप नपाइने बताए।

‘उसबेला भारतले निशुल्क खोप दिँदा मानिसहरु निशुल्क पाइने रहेछ भन्थे,’ प्रवक्ता गौतमले भने, ‘त्यसपछि भारतले सहुलियतमा चार डलरमा दियो। अहिले त्यही रकममा पाइँदैन नि!’

उनले मूल्यका विषयमा कम्पनी र मन्त्रालयबीच दुई पक्षीय कुराकानी भइरहेको बताए। उनले सरकारले सीधै कम्पनीसँग खरिद गर्ने भएकाले एजेन्टलाई कमिसन दिनुपर्ने अवस्था नआउने दाबी गरे।

‘कम्पनीसँग दुईपक्षीय बैठक भइरहेको छ। फाइनल भएपछि मात्रै प्रतिडोज कतिमा आउँछ भन्न सकिन्छ,’ प्रवक्ता गौतमले भने, ‘भारतलाई जुन रेटमा दिएको छ हामीलाई त्यही रेटमा दिनुस् भनेका छौँ। कम्पनीसँग सीधै खरिद गर्न लागेकाले एजेन्टले केही पनि पाउँदैन।’

गौतमका अनुसार सेरमले भारतलाई साढे ५ डलरमा प्रतिडोज खोप दिएकाले त्यही हाराहारीमा नेपाललाई पनि दिन प्रस्ताव पठाइएको छ।

तर, प्रवक्ता गौतमको दाबी विपरीत सेरमले भारतलाई प्रतिडोज २.८९ डलरमै खोप दिएको छ। सेरमबाट उक्त मूल्यमा खोप खरिद गरेको त्यहाँको लोकसभामा स्वास्थ्य तथा परिवार कल्याण यूनियनमन्त्री आश्विनीकुमार चौबेले लिखित जवाफ दिएका थिए। तर स्वास्थ्यमन्त्रीले भने यसअघि पनि ४ डलरमा खोप खरिद गर्दा नेपालले सहुलियतमा खोप पाएको दाबी गर्दै आएका थिए।

खरिद गरेको खोप आउने टुंगो छैन
सरकारले सेरमबाट खरिद गरेको २० लाख डोज खोपमध्ये १० लाख डोज गत फागुन ९ गते नै नेपाल आएको थियो।

उक्त खोप अहिले ६५ वर्षमाथिका जेष्ठ नागरिक, अध्यापक, चालक, सहचालक र अघिल्लो चरणमा छुटेका अंग्रपंक्तिमा खटिनेहरुलाई लगाइँदैछ।

तर, नेपालले खरिद गरेर पैसा बुझाइसकेको बाँकी १० लाख डोज खोप कहिले आउँछ भन्ने टुंगो छैन। विभागका व्यवस्थापन महाशाखा प्रमुख तिंकरीले मार्च १५ सम्म नेपाल आउने अनौपचारिक कुराकानी भएको जानकारी दिए।

‘१५ मार्चसम्म अनौपचारिक रुपमा बाँकी दश लाख आउँछ भन्ने कुरो भएको छ तर हामीलाई लिखित रुपमा केही आएको छैन,’ उनले भने, ‘माग बढी भएकाले उनीहरुलाई धान्नै गाह्रो छ। हामी निरन्तर फलोअप गरिरहेका छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .