नेपालमा बिहीबारसम्म २ लाख ७७ हजार जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यसमध्ये १ लाख २८ हजार जना उपत्यकाका हुन्।
हालसम्म काठमाडौंमा १ लाख ३ हजार, भक्तपुरमा ९ हजार र ललितपुरमा १६ हजार जनामा संक्रमण पुष्टि भएको छ। अहिलेपनि देशभरको दैनिक जम्मा संक्रमितमध्ये आधाजसो उपत्यकाका हुने गर्छन्।
बुधबार मात्रै देशभर १६२ जनामा संक्रमण देखिँदा काठमाडौँमा ५० जना संक्रमित भएका थिए। मंगलबार जम्मा १६७ जना संक्रमित भेटिँदा काठमाडौंमा ७८, ललितपुरमा ७ र भक्तपुरमा ४ जना संक्रमित भेटिएका थिए।
बाक्लो जनसंख्या, बढी ओहोरदोहार, जनस्वास्थ्यका मापदण्ड पालनामा कमीजस्ता कारणले उपत्यकामा बढी संक्रमण देखिएको हो। ४० लाख बढी जनसंख्या रहेको उपत्यकाका विभिन्न नाकाबाट दैनिक हजारौँ मानिसहरु ओहोरदोहोर गर्छन्।
भीडभाड हुने बजारलगायत क्षेत्रमा मास्क लगाउने, दुरी कायम गर्ने र सफसफाइमा ध्यान दिने प्रचलन पनि एकदमै कम भएको छ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक तथा जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी नागरिकहरुले कोरोना संक्रमणलाई निम्ता दिएजस्तो देखिएको बताए।
‘जताततै भीडभाड छ। जनस्वास्थ्यका मापदण्ड पटक्कै पालना भएका छैनन्,’ उनी भन्छन्, ‘मास्क लगाउने, दुरी कायम गर्ने प्रचलन एकदमै फितलो भयो। यसरी त एकदमै संक्रमण बढ्ने देखिन्छ।’
देशकै अर्थतन्त्रको मुटु उपत्यकालाई जोगाउन सरकारसँग ठोस योजना हुनुपर्नेमा त्यसो नभएको उनले बताए।
‘उपत्यकामा संक्रमण बढ्दै गयो र बजारपसल बन्द गर्नुप¥यो भने त्यसले अर्थतन्त्रमा पनि ठूलो असर गर्छ,’ उनले भने, ‘यहाँ धेरै मान्छे आश्रित छन्। उनीहरु पनि भोकै हुन्छन्। जनसंख्या बढी भएकाले मृत्युदर पनि बढी हुन्छ। त्यसैले उपत्यकालाई संक्रमणबाट जोगाउन विशेष योजना आवश्यक छ।’
मास्क नलगाउने, दुरी कायम नगर्नेलाई तत्कालै जरिवानासहित कारबाही गर्नुपर्ने उनको भनाइ छ।
‘उपत्यकामा पहिलेको जस्तै संक्रमण बढ्ने सम्भावना एकदमै बढी छ। यहाँ सबैतिरबाट दैनिक हजारौँ मान्छेहरु प्रवेश गर्छन्। ती मान्छे थुप्रै ठाउँ पुग्छन्,’ मरासिनीले भने, ‘दोस्रो लहर बढ्नुअघि नै उपत्यकालाई कसरी जोगाउने भनेर सोच्नुपर्छ। नत्र भयावह स्थिति बन्नसक्छ।’
उपत्यकामा दोस्रो लहरको जोखिम उच्च रहेको स्वास्थ्य मन्त्रालयकै अधिकारीहरु स्वीकार्छन्। तर उपत्यकालाई जोगाउने विषयमा भने मन्त्रालयसँग कुनै खास योजना छैन।
उपत्यकामा कन्ट्याक्ट ट्रेसिङ तथा केस इन्भेस्टिगेसनको जिम्मा पाएको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल उपत्यकामा जोखिम बढ्दो क्रममा रहेको बताउँछन्।
‘उपत्यकामा संक्रमण बढ्दो क्रममा रहेको तथ्यांकले देखाइरहेको छ। अस्पतालहरुमा बिरामी संख्या बढेका छन्। आईसीयूमा पनि बिरामी थपिएका छन्,’ उनी भन्छन्, ‘उपत्यकालाई संक्रमणबाट जोगाउनु अबको मुख्य चुनौती हो। केस इन्भेस्टिगेसन र कन्ट्याक्ट ट्रेसिङमा ध्यान दिनुपर्ने छ।’
उपत्यकामा संक्रमण भित्रिन नदिन नाकाहरुमा विशेष सतर्कता अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा परीक्षण गर्न सम्बन्धित पालिकालाई सूचित गरिसकेको उनले जानकारी दिए।
‘स्वास्थ्य कार्यालय, पालिकालाई जोखिमयुक्त क्षेत्र पहिचान गरी आवश्यकताअनुसार परीक्षण गर्न भनिसकेका छौं। पालिकाहरुमा केस इन्भेस्टिगेसन गर्छन्,’ उनले भने, ‘उपत्यकाका नाकाहरुलाई पनि हटस्पट मानेर एन्टिजेन टेस्ट गर्न भनेका छौँ। स्वास्थ्य मन्त्रालयले पनि टेस्ट गर्ने निर्णय गरेको छ।’
बुधबार मात्रै स्वास्थ्य मन्त्रालयमा बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले काठमाडौँ उपत्यका प्रवेश गर्नेहरुको समय समयमा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको थियो। यसैगरी मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई जिल्लाभित्र भेला, सभा जुलुसहरु रोक्न अनुरोध गरेको छ।
संक्रमण जतिबेला पनि बढ्नसक्ने भन्दै उपत्यकाभित्रका सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन पनि दिइसकेको डा.पौडेलले बताए।
जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितले जनघनत्वका हिसाबले उपत्यकासहित ठूला सहरहरु जोखिममा रहने भएकाले एकदमै सतर्कता अपनाउनुपर्ने जनाए।
‘जनघनत्वका हिसाबले उपत्यकासहित ठूला सहरमा सर्ने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘संक्रमण जतिबेला पनि बढ्न सक्छ। त्यसैले आइसोलेसन, अस्पताल तयारी अवस्थामा राख्नुपर्छ। कहीँ न कहीँ कोही न कोही जटिल अवस्थाका बिरामी कुनै पनि बेला आउन सक्छन्। त्यसका लागि बेड, आईसीयू, भेन्टिलेटर तयारी अवस्थामा राख्नुपर्छ।’
प्रतिक्रिया