पाठेघरको क्यान्सरबाट पीडित म्याग्दीकी ३१ वर्षीया अञ्जेली नेपालीको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका २ का गंगालाल नेपाली र जुना नेपालीकी छोरी अञ्जेलीको तीन महिनादेखि बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, चितवनमा उपचाररत छिन्।
परिवारको आर्थिक अवस्था निकै नै कमजोर रहेको र दैनिक ज्याला मजदुरी गरेर छाक टार्नुपर्ने भएका कारण उपचारका लागि रकम जुटाउन सबैसँग हारगुहार गरेको उनका दाजु प्रेम नेपालीले बताए।
अस्पतालले अञ्जेलीको उपचारका लागि १०–१२ लाख खर्च लाग्ने बताएको प्रेमले बताए।
‘हाम्रो आर्थिक अवस्था निकै नै कमजोर छ, बहिनी (अञ्जेली)को उपचारका लागि लाग्ने खर्च परिवारले जुटाउन असम्भव भएका कारण सबैसँग सहयोगका लागि अपिल गरेका हौँ’, उनले भने, ‘सहयोगी महानुभावहरुले सक्दो सहयोग गरे अञ्जलीले पुनर्जीवन पाउँथिन।’
उनले अहिले पनि अञ्जेलीको विभिन्न व्यक्ति र संघसंस्थाको सहयोगमा उपचार भइरहेको र विभिन्न ठाउँबाट सहयोग आइरहेको भए पनि उपचारका लागि प्रयाप्त नभएको बताए।
प्रेमले सहयोगी महानुभावहरुलाई आफ्नो नाममा रहेको नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको खाता नम्बर मा सहयोग जम्मा गरिदिन वा ९८५७६४२५४० मा सम्पर्क गर्न अनुरोध गरे।
अञ्जेलीको उपचारका लागि काठमाडौँ र विदेशमा रहेका म्याग्देलीहरुसँग सहयोगका लागि अपिल गरिएको र अहिले आउने क्रम जारी रहेको म्याग्दी पोखरा विद्यार्थी सम्पर्क समितिका पूर्व अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए।
‘हामीले पोखरा, काठमाडौँ लगायत देशबाहिर रहेका म्याग्दीवासी दाजुभाइ दिदीबहिनीसँग सहयोगका लागि अपिल गरेका छौँ’, पौडेलले भने, ‘अहिले केही सहयोग प्राप्त भएको छ र केहीले सहयोग गर्छौँ भन्ने वचन दिनुभएको छ।’ उनले सहयोगका लागि सबैमा अपिल समेत गरे।
उनले सहयोग जुटाउन आफूहरु लागि परेको र रकम जुटाएर अञ्जेलीको जीवन बचाउन सफल हुने विश्वास समेत व्यक्त गरे।
Shares

प्रतिक्रिया