समाज


युवापुस्तामा बढी देखिन थाल्यो कोरोना, विज्ञ भन्छन्– चिन्ताजनक संकेत

युवापुस्तामा बढी देखिन थाल्यो कोरोना, विज्ञ भन्छन्– चिन्ताजनक संकेत

यज्ञराज जोशी
चैत २६, २०७७ बिहिबार १२:१८,

काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूमा बिहीबार १३ जना कोरोना संक्रमित आइसीयूमा उपचाररत् छन्।

तीमध्ये आधा ५० वर्षमुनिको उमेर समूहका हुन्।

अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोला यो तथ्यांकका कारण चिन्तित छन्। नेपालमा भेटिएका कोरोनाको पहिलो बिरामीदेखि उपचारमा खटिइरहेका उनले यसअघि आइसीयू तथा भेन्टिलेटरमा पुगेकामध्ये अधिकांश बृद्धहरु हुने गरेकाे बताए। तर केहि समययता आईसीयूमा भर्ना हुनेमा युवाहरुकै संख्या बढेको र याे स्थिति चिन्ताजनक रहेको उनी दोहोर्‍याउँछन्।

‘अहिले हाम्रो आइसीयूमा रहेका १३ मध्ये आधा बिरामी ५० वर्षमुनिको युवा उमेर समूहका हुनुहुन्छ,’ बास्तोलाले बिहीबार नेपालखबरसँग भने, ‘यसअघि बृद्ध बिरामीलाई कोरोनाले बढी जटिलता ल्याउँथ्यो र उहाँहरुलाई आइसीयू–भेन्टिलेटरमा भर्ना गर्नुपर्थ्याे तर अहिले त त्यो क्रम युवापुस्तामा देखिन थालेको छ।’

उनले युवाहरु बाहिर घुम्ने, भोजभतेरमा रमाउने, पार्टी डिस्को जाने, चाडपर्व मनाउने लगायत गतिबिधिमा सहभागी हुँदा जनस्वास्थ्यका मापदण्ड पालना नगरेका कारण उनीहरुमा संक्रमणको बढी जोखिम देखिएको बताए।

शैक्षिक संस्थामा जनस्वास्थ्यको मापदण्ड पालना नगर्दा विद्यार्थी तथा शिक्षक संक्रमित हुने क्रम बढेको समेत बास्तोलाले बताए। केहीदिन अघिमात्रै पाँच–छ जना शिक्षक तथा विधार्थी अस्पताल भर्ना भएको उनले बताए।

केहीअघि भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयका १० विद्यार्थीलाई संक्रमण देखिएको थियो। यस्तै काठमाडौं विश्वविद्यालय (केयू)का पाँच जना विद्यार्थीमा पनि संक्रमण देखिएपछि बिहीबारदेखि भौतिक कक्षा बन्द गरिएको छ। केयूको स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङका कक्षाहरु अनलाइनबाटै हुने भएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पनि पछिल्लो समयमा शैक्षिक संस्थाहरु कोरोनाको हटस्पट बन्दै गइरहेको बताए।

‘टेकू अस्पतालमा संक्रमण भई भर्ना हुनेमा कलेजमा पढाउने शिक्षकहरु तथा विद्यार्थीहरु धेरै हुनुहुन्छ,’ उनले भने, ‘शैक्षिक संस्थामा जनस्वास्थ्यका मापदण्डको नियम बनाइएको छ तर कार्यान्वयन पक्ष फितलो छ। मास्कको प्रयोगमात्रै राम्रोसँग गरिदिने हो भने धेरैहदसम्म जोगिन सकिन्छ।’

उनले स्वास्थ्य शिक्षक र विद्यार्थीबिना शैक्षिक क्रियाकलाप अघि बढाउन नसकिने भएकाले शैक्षिक संस्थालाई कोरोना जोखिमरहित क्षेत्र बनाउन सबैले जोड दिनुपर्ने बताए।

उपत्यकाका केस इन्भेष्टिगेसन (अनुसन्धान) को जिम्मा लिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि कम उमेरमा संक्रमण देखिएका कारण थप सचेत हुनुपर्ने अवस्था आएको बताएकाे छ।

महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले बेलायतमा देखिएको जस्तै नयाँ भेरियन्ट (प्रकार)को कोरोना नेपालमा बढी युवापुस्तामा देखिएको बताए।

‘सामान्य अवस्थामा यसअघि जसलाई रोगबाट धेरै जोखिम हुँदैन भन्ने गरिन्थ्यो अहिले चाहिँ त्यहि युवा उमेर समूहमा बढी संक्रमण देखियो,’ डा. पौडेलले भने, ‘नयाँ भेरियन्टको संक्रमणको चपेटामा युवा उमेरका मानिस देखिएका छन्।’

उनका अनुसार वागमती र गण्डकी प्रदेशमा नयाँ भेरियन्टसँग मिल्दोजल्दो लक्षणका संक्रमितहरु भेटिएका छन्। यस भेरियन्टको संक्रमणदर सामान्यभन्दा ७० प्रतिशत बढी हुनेहुँदा जोखिम बढेको उनले बताए।

‘पहिले जटिलता र अस्पताल भर्ना हुने दर उमेर बढेसँगै बढी थियो। अहिले युवा उमेरका व्यक्तिमा पनि जटिलता देखिएको छ,’ पौडेलले भने, ‘अधिकांश विद्यालय जाने उमेरका वा ५० वर्षभन्दा कम उमेरका मानिसहरु अस्पताल जानेक्रम बढेको छ। उनीहरुमा नयाँ भेरियन्ट पनि देखिएको छ।’

उनले आफूहरुले शिक्षा मन्त्रालयसँग शैक्षिक संस्थालाई कसरी व्यवस्थित रुपमा सञ्चालन गर्नसकिन्छ भन्नेबारे भने छलफल गर्न लागेको बताए। शैक्षिक संस्थामा कडाई नगरे पछुताउनुपर्ने स्थिति आउने उनको चेतावनी छ।

भारतबाट आउनेहरुमा एन्टिजेन परीक्षण गर्दा पनि बेलायती भेरियन्टसँग मिल्दोजुल्दो लक्षण देखिएको उनले बताए।

उनले संक्रमण बढ्न नदिन पालिकाहरुलाई आ–आफ्नो क्षेत्रमा केस इन्भेष्टिगेसन (अनुसन्धान) र कन्ट्याक्ट ट्रेसिङ (संक्रमितलाई पहिचान र सम्पर्क) बढाउन सूचना दिइसकेको बताए।

यही चैतदेखि नेपालमा संक्रमणदर बढ्दै गएको छ। मन्त्रालयको तथ्यांकअनुसार अघिल्लो हप्ताभन्दा यो हप्ता बागमती प्रदेशमा संक्रमितकाे संख्या ४३ प्रतिशतले बढेको छ। यस्तै लुम्बिनी, कर्णाली र प्रदेश २ मा ४० प्रतिशतभन्दा बढीले संक्रमित संख्या बढेको छ।

गत सोमबारदेखि बुधबारसम्म १२ हजार ८ सय ७९ पीसीआर परीक्षण गर्दा ८ सय २४ जनामा संक्रमण देखिएको छ। बुधबारसम्म देशभर २ हजार २ सय १ जना सक्रिय संक्रमित छन्। यो हप्ता पनि संक्रमण रोकिने छाँट देखिएको छैन। आइतबार १ सय ७६, सोमबार २ सय ६६, मंगलबार २ सय ६० र बुधबार २ सय ९८ जनामा संक्रमण देखिएको छ।

इपिडिमेयोलोजिष्ट डा. अर्चना श्रेष्ठले परीक्षण अनुसारको संक्रमित हुनेहरुको औसत संख्या (पजिटिभिटी रेसियो) पनि बढ्दै गएकाले नेपालमा समुदायस्तरमै संक्रमण फैलने जोखिम बढ्दो रहेको बताइन्।

‘समुदायमा कुन गतिमा सरिरहेको छ भन्ने कुरा कति परीक्षण भयो र कति संख्यामा पोजिटिभिटि रेट आयो भन्नेमा निर्भर गर्छ,’ उनले भनिन्, ‘चैतमा पोजिटिभिटी दर पनि बढ्दै गएकाले समुदायमा संक्रमण फैलन सुरु गरेको निष्कर्ष निकाल्न सकिन्छ।’

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले अघिल्लो चरणको अनुभव हेर्दा आगामी जेठ–असारमा संक्रमणदर उच्च हुनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन्। उनले संसदमा सम्बोधन गर्दै आफूहरु संक्रमण बढ्न नदिन सम्पूर्णरुपमा लागिरहेको बताए।

‘अबका दिनमा जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ,’ मन्त्री त्रिपाठीले भने, ‘आतंकित हुनुपर्ने अवस्था छैन। सतर्क हुनुपर्छ। यसको सामना गर्नसक्छौं भन्ने विगतको अनुभव पनि छ। अवस्था थप बिग्रन नदिनका लागि सम्पूर्ण अवयव प्रयोग गर्छौं।’

उनले चैत लागेयता संक्रमणदर बढ्दै गएकाले सीमा नाकामा एन्टिजेन टेस्ट गर्ने, आवागमनलाई थप व्यवस्थित गर्ने, रोगको शिघ्र पहिचान र आइसोलेसनमा राख्ने, शंकास्पद व्यक्तिलाई अनिवार्य क्वारेन्टिन र जनस्वास्थ्यका मापदण्डको पालना गर्न कडाई गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .