भारतमा कोरोना संक्रमणले हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको छ।
ओल्र्डओमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ६ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय ३८ जनाले ज्यान गुमाएका छन्।
भारतमा हिजो पुष्टि भएको संक्रमणदर कोरोना महामारी सुरु भएयताकै सबैभन्दा बढी हो।
विगत एक सातायता भारतमा दैनिक रुपमा लगातार एक लाखभन्दा बढीलाई संक्रमण देखिएको छ। यसअघि अप्रिल ५ मा १ लाख ३ हजार ५ सय ५८, अप्रिल ७ मा १ लाख १५ हजार ७ सय ३६, अप्रिल ८ मा १ लाख २६ हजार ७ सय ८९ र अप्रिल ९ मा १ लाख ३१ हजार ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
भारतका ३६ राज्य तथा प्रदेशहरूमध्ये पछिल्लो समय महाराष्ट्र, उत्तर प्रदेश, मध्यप्रदेश, छत्तिसगढ, कर्नाटक, दिल्ली, पञ्जाब, जम्मु–कश्मीर र गुजरातमा संक्रमण तीव्र छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण १० हजार ९ सय ३६ जनाले ज्यान गुमाएका छन्। यस बीचमा साढे ६ लाख भन्दा धेरैमा संक्रमण पुष्टि भएको ओल्र्डओमिटरले जनाएको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण सबैभन्दा धेरै ब्राजिलमा २ हजार ५ सय ३५ जनाले ज्यान गुमाएका छन्।
Shares

प्रतिक्रिया