समाज


दोस्रो डोज खोप भोलिबाट, ४ लाख ३८ हजारलाई लगाइने

दोस्रो डोज खोप भोलिबाट, ४ लाख ३८ हजारलाई लगाइने

यज्ञराज जोशी
बैशाख ६, २०७८ सोमबार ११:४५,

नेपालमा मंगलबारदेखि कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा लगाइँदै छ। माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा दिइनेछ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले वैशाख ११ गतेसम्ममा ४ लाख ३८ हजारलाई दोस्रो मात्रा कोभिसिल्ड खोप लगाइने बताए। पहिलो चरणमा सरकारले अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाएको थियो। उनीहरुलाई नै दोस्रो मात्रा खोप दिइन लागिएको हो।

उनले आफूलाई पायक पर्ने खोप केन्द्रमा गई पुरानो खोप कार्ड र परिचय झल्कने अन्य कार्डसहित दोस्रो मात्रा खोप लगाउन सकिने जनाए।

‘पहिलो डोजले केही मात्रामा मात्रै काम गर्छ। दोस्रो डोज थपेपछि यसले ७२ देखि ८० प्रतिशतमा काम गर्छ,’ गौतमले भने, ‘एक डोजमात्रै लगायो भने एन्टिबडी केही महिनामा हराएर जान्छ। पहिलो डोज लगाएकाले दोस्रो डोज लगाएन भने कोभिड लाग्ने सम्भावना बढेर जान्छ। त्यही भएर दोस्रो लगाउनुपर्छ।’

पाँच दिन चल्ने दोस्रो मात्राको खोप अभियानमा मन्त्रालयले माघ १४ देखि १६ तथा माघ २७ देखि २९ गतेसम्म पहिलो मात्रा लगाएकाले वैशाख ७ गते खोप लगाउने तालिका बनाएको छ।

यस्तै माघ १८ देखि २२ गते र फागुन २ गते लगाएकाले ८ गते, माघ २३ र फागुन ३ गतेदेखि ५ गतेसम्म लगाएकाले ९ गते, माघ २४ गते र फागुन ६, ८ र ९ गते लगाएकाले १० गते तथा माघ ३०, फागुन ७ र १० गते लगाएकाले वैशाख ११ गते दोस्रो मात्राको खोप लगाउने तालिका बनाइएको छ।

मन्त्रालयले दोस्रो मात्राको खोपका लागि उपत्यकाका विभिन्न २० केन्द्रबाट खोप लगाउने व्यवस्था मिलाएको छ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र अस्पताल, निजामति कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा दोस्रो डोज खोप लगाइने मन्त्रालयले जनाएको छ।

त्यस्तै, नेपाल प्रहरी अस्पताल, नेपाल मेडिकल कलेज, ओम हस्पिटल एन्ड रिसर्च सेन्टर, काठमाडौं मेडिकल कलेज, क्षेत्रपाटी निशुल्क चिकित्सालय, हिमाल अस्पताल, जनमैत्री अस्पताल, स्तुपा अस्पताल, मदरल्यान्ड अस्पताल र ह्याम्स अस्पतालमा पनि दोस्रो डोज खोप लगाइने छ।

खोप बिहान १० बजेदेखि ४ बजेसम्म लगाउन सकिनेछ।

खोप अभाव हुँदैन
मन्त्रालयले यस चरणमा खोप अभाव नहुने जनाएको छ। भारतबाट किनेको १० लाख डोज नआएको अवस्थामा खोप अभाव हुने आशंका बढेको थियो।

भारतले सुरुमा उपहारस्वरुप दिएको १० लाख, खरिद गरेको १० लाख र कोभ्याक्स सुविधामार्फत पाएको साढे ३ लाख गरी नेपालसँग साढे २३ लाख डोज कोभिसिल्ड खोप थियो। यसअघिका खोप अभियानमा १६ लाख ७३ हजार जनालाई पहिलो मात्रा लगाइसकिएको छ।

बाँकी ६ लाख खोप सरकारले दोस्रो मात्राका रुपमा प्रयोग गर्न लागेको हो।

‘अहिलेको चरणमा लगाउन हामीसँग पर्याप्त खोप छ। हामीले गिन्ती गरेर राखेका छौँ। अभाव हुन दिदैँनौं,’ गौतमले भने।

फागुन अन्त्यमा सरकारले दोस्रो चरणमा ६५ वर्षमाथिको उमेर समूहलाई खोप लगाएको थियो। उक्त उमेर समूहका व्यक्तिले भने नयाँ खोप नल्याए दोस्रो डोज पाउन मुस्किल हुनेछ।

फागुन ६ मा नेपालले भारतको सेरम इन्सिच्युटलाई २० लाख डोज खोप खरिदका लागि ९३ करोड रुपैयाँ भुक्तानी गरेको थियो।

त्यसमध्ये १० लाख डोज खोप सेरमले नेपाल पठाएपनि हालसम्म बाँकी १० लाख डोज खोप पठाएको छैन। यहीबीच भारतले खोप निर्यातमा पनि प्रतिबन्ध लगाएको छ।

गौतमले रकम भुक्तानी गरिएको उक्त खोप नेपाल आउने टुंगो नभएको बताए।

‘कुराकानी जारी छ। माग बढी र उत्पादन कम भएकाले गाह्रो भएको छ। कहिले आउँछ मिति भने तय भएको छैन,’ प्रवक्ता गौतले भने।

दोस्रो चरणमा लगाएकालाई तीन महिना पछि दोस्रो खोप लगाउने भएकाले त्यसबेलासम्म खोप आउने गौतमको विश्वास छ।

१ लाख २३ हजारले लगाए चिनियाँ खोप
यसैबीच चीन सरकारले उपहार दिएको ८ लाख डोज खोप ‘भेरोसेल’ सोमबारसम्म एक लाख २३ हजारले लगाएका छन्।

मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक गौतमले सात जिल्लाका ४० देखि ५९ वर्षसम्मका एक लाख २३ हजारलाई भेरोसेल खोप लगाइ सकिएको बताए।

भेरोसेल चैत २५ देखि वैशाख ५ गतेसम्म काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, काभे्रपलाञ्चोक र सिन्धुपाञ्चोकका ४० वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको थियो।

चैत १६ गते चीन सरकारको अनुदानमा आठ लाख डोज खोप नेपाल आएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .