समाज


दैनिक २० हजार सिलिन्डर अक्सिजन चाहिन सक्छ, क्षमता मात्र ७ हजार

दैनिक २० हजार सिलिन्डर अक्सिजन चाहिन सक्छ, क्षमता मात्र ७ हजार

यज्ञराज जोशी
बैशाख १२, २०७८ आइतबार १३:९,

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइतबार ५२ जना कोरोना संक्रमित उपचाररत् छन्। तीमध्ये ९० प्रतिशत बिरामीलाई अक्सिजन दिनुपरेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन्।

‘अक्सिजनको आवश्यकता एकदमै बढी छ। भर्ना भएकामध्ये ९० प्रतिशतलाई अक्सिजन दिनुपरेको छ,’ डा. राजभण्डारीले नेपालखबरसँग भने, ‘संक्रमित बढ्दै जाँदा यहीमात्रामा अक्सिजन चाहिने हो भने भविष्यमा अक्सिजनको चरम अभाव हुन सक्छ।’

अस्पतालमा एक वर्षअघि ‘लिक्विड अक्सिजन प्लान्ट’ जडान गरिएको थियो। प्लान्ट भएपनि अस्पतालले आफैँ अक्सिजन उत्पादन गर्दैन। बाहिरबाटै ल्याएर हाल्ने गरिएको छ। माग बढी हुँदा छिट्टै प्लान्ट रित्तिने गरेको उनले बताए। बजारमा अक्सिजन पर्याप्त उपलब्ध भए रित्तिएको १२ घण्टाभित्र प्लान्ट भर्ने गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबारसम्मको तथ्यांकअनुसार उपत्यकाका विभिन्न अस्पतालमा मात्रै आईसीयू–भेन्टिलेटरमा ११७ जनाको उपचार भइरहेको छ। देशभर १७३ जना आईसीयू र ५७ जना भेन्टिलेटरमा उपचाररत छन्। ती सबैलाई अक्सिजन आवश्यक पर्छ।

काठमाडौंको अस्पतालमा मात्रै आईसीयू–भेन्टिलेटरबाहेक ४७१ जना संक्रमित अस्पतालमा उपचाररत छन्। तीमध्ये कतिपयलाई अक्सिजन दिइँदै छ भने अरुलाई जुनसुकै बेला दिनुपर्ने हुनसक्छ।

त्रिवि शिक्षण अस्पतालको कोभिड–१९ उपचार संयोजक डा. सन्तकुमार दास मोडरेट केसमा बिरामीलाई अक्सिजन दिन सकियो भने भेन्टिलेटर र आईसीयू पुग्नबाट जोगाउन सकिने बताउँछन्।

‘ज्वरो आउने, सास फेर्न गाह्रो हुने, अक्सिजन नपुगेजस्तो महसुस हुने अवस्था मोडरेट हो,’ दासले भने, ‘यस्तो बेला मुख्य उपचार भनेको अक्सिजन थेरापी हो। कोरोनाका १५ प्रतिशत बिरामी मोडरेट अवस्थामा पुग्छन्। तीमध्ये १० प्रतिशतलाई अक्सिजन थेरापीले ठीक पार्न सकिन्छ। समयमै अक्सिजन पुर्‍याउन सकियो भने मोडरेटमध्ये ५ प्रतिशतलाई मात्रै भेन्टिलेटर, आईसीयूको आवश्यकता पर्ने गर्छ।’

मोडरेट चरणमा समयमै चिन्न सकिएन र अक्सिजन दिन सकिएन भने संक्रमण जटिल अवस्थामा पुग्ने भएकाले अक्सिजनको उपलब्धता महत्वपूर्ण भएको उनले बताए।

दैनिक साढे २० हजार सिलिन्डर आवश्यक पर्ने आकलन
स्वास्थ्य मन्त्रालयको गरेको प्रक्षेपणअनुसार नेपालमा संक्रमण उच्च दरमा पुगेका बेला दैनिक साढे २० हजार सिलिन्डर अक्सिजन आवश्यक पर्नसक्छ। जेठ–असारसम्म ६ लाखसम्म संक्रमित पुग्नसक्ने स्वास्थ्य मन्त्रालयको आकलन छ।

‘जेठ–असारसम्म ६ लाखजति सक्रिय संक्रमित हुन्छन् भनेर स्वास्थ्य मन्त्रालयले आकलन गरेको छ,’ मन्त्रालयका सह–प्रवक्ता डा. समीरमणि अधिकारीले भने, ‘एकदमै उत्कर्षमा पुगेका त्यसबेला कतिसम्म अक्सिजन चाहिन्छ भनेर हामीले अनुमान गरेका हौँ।’

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले अघिल्लो हप्ता प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा असारसम्म ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, त्यसमध्ये ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई आईसीयू आवश्यक पर्ने मन्त्रालयको अनुमान सुनाएका थिए।

मन्त्रालयले अस्पताल शैय्याका आधारमा गरिएको उक्त प्रक्षेपणमा दैनिक १४ हजार ३७३ सिलिन्डर अक्सिजन चाहिने उल्लेख गरिएको छ। त्यसबाहेक सरकारले एक हजार एचडीयू थप्ने निर्णय गरेकाले त्यसमा थप ६ हजार ३५३ अक्सिजन सिलिन्डर आवश्यक पर्छ।

त्यसबेला काठमाडौंमा मात्रै दैनिक ४ हजार ३९४ सिलिन्डर अक्सिजन आवश्यक हुनसक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ।

भारतमा अहिले अक्सिजनको हाहाकार छ। अस्पतालहरुले अक्सिजन सकिएको भन्दै हारगुहार गरिरहेका छन्। कतिपय अस्पतालमा अक्सिजन नपाएर बिरामीको ज्यान गएको छ। नेपालमा पनि संक्रमण बढ्दै गर्दा अक्सिजनको त्यस्तै अभाव हुनसक्ने चिन्ता व्यक्त गरिएको छ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित भन्छन्, ‘अक्सिजन उपलब्ध भएपछि आईसीयूमा धेरै कमलाई राख्न पर्छ। अक्सिजनको तयारी बढी चाहिन्थ्यो। त्यसमा ध्यान पुगेजस्तो लाग्दैन।’

स्वास्थ्य मन्त्रालयको प्रक्षेपणमा प्रदेशका मुख्य अस्पतालमा बढी मात्रामा सिलिन्डरको माग रहेको बताइएको छ। संक्रमण उत्कर्षमा हुँदा अहिलेको भन्दा १५० प्रतिशत बढी अक्सिजन चाहिनसक्ने मन्त्रालयको भनाइ छ।

आईसीयू, एचडीयू र साधारण शैय्यामा पुग्नेगरी अक्सिजनको व्यवस्था गरिनुपर्ने र त्यसबाहेक थप पाँच सय सिलिन्डर स्टक राख्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ। बागमतीमा भने सबै बेडलाई पुगिसकेपछि एक हजार सिलिन्डर स्टकमा राख्नुपर्ने मन्त्रालयको भनाइ छ।

बेड क्षमताका आधारमा प्रदेश १ मा २ हजार ७४, प्रदेश २ मा १ हजार १७१, बागमतीमा ५ हजार ९८४, गण्डकीमा १ हजार ७७४, लुम्बिनीमा २ हजार १४५, कर्णालीमा ५७८ र सुदूरपश्चिममा ६४७ सिलिन्डर दैनिक अक्सिजन आवश्यक पर्नसक्ने मन्त्रालयको आकलन छ।

दैनिक ७ हजार सिलिन्डर भर्ने क्षमता
दैनिक साढे २० हजार क्षमता अक्सिजन आवश्यक पर्ने आकलन भएपनि नेपालसँग अहिले दैनिक ७ हजार सिलिन्डर भर्ने क्षमता मात्रै छ। प्रक्षेपणअनुरुप अक्सिजन चाहिएमा नेपालमा चरम संकट हुने संकेत देखिएको छ।

‘अहिले देशभर निजी र सरकारी गरी प्रतिदिन ७ हजार सिलिन्डर भर्नसक्ने क्षमता छ,’ डा.अधिकारीले भने, ‘संक्रमण रोकिएन, केस बढ्दै गयो, अक्सिजनको कालोबजारी बढ्दै गयो भने गाह्रो हुने अवस्था आउनसक्छ। त्यो कुरा नआओस् भनेर हामीले सम्बन्धित निकायमा समन्वयको काम गरिरहेका छौँ।’

अस्पतालहरुका पनि आफ्नै अक्सिजन प्लान्ट रहेको, उनीहरुले पनि रिफिल गर्नसक्ने भएकाले मन्त्रालयको आकलनअनुसार अक्सिजन कमी नहुने अधिकारीले दाबी गरे। उनले अक्सिजन प्लान्ट बिग्रेका अस्पतालहरुलाई पनि बनाउन निर्देशन दिइसकेको जानकारी दिए।

‘अक्सिजन कति आवश्यक पर्ला भन्ने संक्रमण कतिसम्म जान्छ भन्नेले निधो गर्छ। संक्रमणको गति अहिलेकै अवस्थामा गयो भने अहिले नै अस्पतालमा गाह्रो स्थिति छ। बेड पाउन गाह्रो छ। भविष्यमा पनि गाह्रो पर्नसक्छ,’ डा. अधिकारीले भने, ‘एकदमै उत्कर्षमा पुग्दा जति अक्सिजन चाहिन्छ भन्ने आकलन गरेका थियौँ, त्यसका लागि पर्याप्त अक्सिजन व्यवस्था गर्दैछौं।’

मन्त्रालयले नेपालमा उत्पादित सबै अक्सिजन प्रयोग गर्न पाइने आशा गरेको छ। त्यसबाहेक मानिसहरुले जनस्वास्थ्यका मापदण्ड पालना गरिदिए संक्रमण घट्ने र अक्सिजनको माग समेत कम हुने विश्वास उसको छ।

तर प्रक्षेपणअनुसार नगए समस्या झनै बढ्नसक्ने डा. अधिकारी बताउँछन्।

‘संक्रमण रोक्न सबैको भूमिका बढ्छ भन्ने अनुमान गरेका छौँ। त्यो अनुमान मिलेन भने प्रक्षेपण फेल हुनसक्छ,’ अधिकारीले भने, ‘अहिलेसम्मको अनुमानले हामीलाई धेरै समस्या हुँदैन। समस्या हुने अवस्था आयो भने के गर्ने भन्ने तयारी गर्दैछौँ। त्यसका लागि अन्य देशसँग पनि कुराकानी गरेर अक्सिजन आपूर्ति गर्नुपर्ने मन्त्रालयले अनुमान गरेको छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .