पत्रकार शलिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई जिल्ला अदालत चितवनमा उपस्थित गराइएको छ।
बिहीबार नै पक्राउ गरिएका न्यूज २४ का सञ्चारकर्मी युवराज कँडेल तथा नर्स रुकु भनिने अस्मिता कार्कीलाई समेत अदालत उपस्थित गराइएको छ।
न्यायाधीश विनोदकुमार गौतमको इजालसमा पेश गरिएका उनलाई प्रहरीले थुनामा राखी अनुसन्धान गरिपाउँ भन्ने माग गरेको छ।
सम्बन्धित खबर: पत्रकार पुडासैनी आत्महत्या प्रकरण: रवि लामिछानेसहित तीन जना पक्राउ
कानुनअनुसार आत्महत्यामा दुरुत्साहन अभियोगमा अदालतबाट अनुमति लिएर प्रहरीले २५ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ।
प्रदर्शन गर्ने ५ जना पक्राउ
संगीन आरोप लागेका रवि लामिछानेको पक्षमा केही जनमत देखिएको छ। उनका समर्थकहरुले चितवन जिल्ला प्रहरी कार्यालय नजिकै प्रदर्शन गरेका छन्। प्रहरीले ५ प्रदर्शनकारी पक्राउ गरेको छ।
चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले राजमार्ग बन्द गराउन खोज्ने र उच्छृंखल गतिविधिमा संलगन ५ जनालाई नियन्त्रणमा लिएको बताए।
‘पाँच जनालाई नियन्त्रणमा लिएका छौं। चितवनको अवस्थामा सामान्य छ’, एसपी मल्लले टेलिफोनमा नेपालखबरसँग भने।
पत्रकार पुडासैनीले मर्नुअघि आफ्नै मोबाइलमा रेकर्ड गरेको भिडियो सार्वजनिक भएपछि रवि लामिछाने पक्राउ गर्न प्रहरीलाई दवाब परेको थियो। डिजिटल ल्याबबाट भिडियोको वास्तविकता चेकजाँचको निष्कर्ष पाएसँगै प्रहरीले ३ जनालाई बिहीबार पक्राउ गरेको हो।
भिडियोमा पत्रकार पुडासैनीले रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीले आत्महत्या गर्न विवश बनाएको उल्लेख छ।
यो पनि: पत्रकार शालिकराम पुडासैनीको भिडियो बयानः ‘मेरो हत्यारा रवि लामिछाने हो’
Shares

प्रतिक्रिया