समाज


महामारीका तथ्यांकले देखाउँछन्- नेपालले पछ्याउँदैछ भारतकै ट्रेन्ड

महामारीका तथ्यांकले देखाउँछन्- नेपालले पछ्याउँदैछ भारतकै ट्रेन्ड

यज्ञराज जोशी
बैशाख १६, २०७८ बिहिबार १२:१,

पछिल्लो तथ्यांकअनुसार नेपालको कोरोना संक्रमणदर भारतको जस्तै अघि बढेको महामारी विज्ञहरुले बताएका छन्। संक्रमित संख्या, पोजिटिभिटी दर र मृत्युदरमा नेपालले भारतलाई पछ्याएको तथ्यांकले देखाएको छ।

गत सोमबारदेखि बुधबारसम्म नेपालमा ४० हजार ९५१ पीसीआर परीक्षण गर्दा १२ हजार ५८० मा संक्रमण देखिएको थियो। त्योसँगै नेपालमा ३० हजार २०९ सक्रिय संक्रमित पुगेका छन्। २ हजार ६४ संस्थागत आइसोलेसनमा छन् भने २७ हजार ८४५ होम आइसोलेसनमा छन्।

बुधबारसम्म ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत छन्। एपिडिमेयोलोजिस्ट डा. अर्चना श्रेष्ठले नेपालका पछिल्ला तथ्यांकले यहाँको अवस्था भारतजस्तै देखिएको बताइन्।

CovidGraphics 6

‘गतवर्ष कोरोना महामारीमा नेपाल भारतभन्दा एक महिना पछाडि परेको थियो। यसवर्ष पनि तथ्यांकमा हेर्दा भारतजस्तै मोड नेपालले लिँदैछ,’ श्रेष्ठले भनिन्, ‘संक्रमितको संख्या, मृतकको संख्या नेपालमा भारतजस्तै अघि बढेको छ। टेस्ट पोजिटिभिटी रेटमा त नेपाल अझ अघि देखिएको छ।’

श्रेष्ठका अनुसार गत हप्ताभन्दा यस हप्ता नेपालमा संक्रमित संख्या २२८ प्रतिशतले बढेको छ। यसले महामारी द्रुत गतिमा बढिरहेको पुष्टि गर्ने उनले बताइन्।

‘गत चार हप्तामा नेपालमा एकदमै छिटो संक्रमण बढेको छ। भारतमा पनि यस्तै देखिएको थियो। नेपालमा पनि त्यही रुपमा अघि बढेको देखिएको छ,’ कोरोना संक्रमितको तथ्यांक विश्लेषण गर्दै आएकी उनले थपिन्, ‘नेपालको पोजिटिभिटी रेट पनि उच्च भएकाले समुदायमा पनि संक्रमण त्यसरी नै फैलिएको देखिन्छ।’

CovidGraphics 3

हाल नेपालमा परीक्षण गरिएका मध्ये १२.८ प्रतिशतलाई संक्रमण देखिने गरेको छ। नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ। शनिबार १४, आइतबार २८, सोमबार १२, मंगलबार १८ र बुधबार १७ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। बिहीबार मृतकको संख्या ३५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयमा तथ्यांक विश्लेषण गर्दै आएकी डा. श्रेष्ठले भारतमा झैँ नेपालमा पनि मृतक संख्या एकदमै छिटो बढिरहेको बताइन्।

‘अहिलेका हरेक तथ्यांकले नेपालमा कोरोना संक्रमण फैलने दर एकदमै उच्च रहेको संकेत गर्छ,’ उनले थपिन्, ‘यही दरमा संक्रमण फैलिने हो र रोकथामका उपाय प्रभावकारी नहुने हो भने अबको एक महिनामा दैनिक दैनिक झण्डै १ लाख ९३ हजार संक्रमित हुनसक्ने देखिन्छ।’

यही संख्यामा संक्रमण बढे यसअघि नेपालमा एक वर्षमा देखिएको संक्रमित संख्या अबको तीन महिनामा नै देखिने आकलन उनले गरिन्। त्यसरी संक्रमित बढ्दा मृत्युदर पनि बढ्ने भएकाले यहीक्रम रहे अब एक महिनामा दैनिक १४९ जनाको मृत्यु हुनसक्ने उनले बताइन्।

CovidGraphics 7

मापदण्ड पालना नगर्नु र यूके भेरियन्ट मुख्य जिम्मेवार
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले पनि पछिल्लो तथ्यांकले नेपालले भारतलाई पछ्याइरहेको देखिने बताए।

‘दिनानुदिन हाम्रोमा संक्रमितहरुको संख्या उकालो लागिरहेको छ। तीनचार हप्तायता भारतको संक्रमणलाई हामी पछ्याइरहेका छौँ,’ उनले भने, ‘यसरी संक्रमण बढ्नुमा जनस्वास्थ्यका मापदण्ड भुल्नु र नयाँ भेरियन्ट मुख्य कारक देखिएको छ।’

बिहीबारबाट काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। त्यसले संक्रमणको विस्तार रोक्न भूमिका खेल्ने उनले बताए। निषेधाज्ञाले तत्काल संक्रमण नघट्ने तर प्रभावकारी कार्यान्वयन भए यसको असर केही समयपछि देखिने उनले बताए।

‘नेपालमा पनि यूके भेरियन्ट तथा डबल म्युटेन्ट भेरियन्ट देखिएको छ। यसले एक व्यक्तिबाट चार वटालाई सार्न सक्छ,’ डा. पौडेलले भने, ‘भारतमा छिटो संक्रमण बढ्नुमा यूके भेरियन्ट जिम्मेवार मानिएको छ। नेपालमा पनि यो देखिसकेकाले संक्रमण अझै बढ्ने जोखिम छ।’

CovidGraphics 8

निषेधाज्ञाको प्रभावशाली पालना
एपिडिमियोलोजिस्ट डा. श्रेष्ठले बिहीबारदेखि लागू भएको निषेधाज्ञाले संक्रमणको विस्तारलाई रोक्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन्।

‘एकदमै गम्भीर परिस्थितिमा आइपुगेका छौँ। निषेधाज्ञाले मानिस–मानिसबीच सम्पर्क हुन रोक्छ। द्रुत गतिमा फैलने क्रम न्यूनीकरण हुँदै जान्छ,’ उनले भनिन्, ‘प्रभावकारी निषेधाज्ञा भएमा जति संक्रमण तीन महिनामा देखिने अनुमान गरेका छौँ, त्यो पुग्न वर्ष दिन लाग्छ र हाम्रो स्वास्थ्य प्रणालीले धान्ने अवस्था रहन्छ।’

निषेधाज्ञाको पालना गर्ने, जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र अत्यावश्यक कामबाहेक घरबाट ननिस्कने गर्नाले हजारौंको ज्यान जोगाउन सकिने भएकाले सबैले जिम्मेवार बनेर महामारीको वेगलाई रोक्न भूमिका खेल्न उनले अनुरोध गरिन्।

CovidGraphics 2

शंका लागे परीक्षण गराऔँ
डा. श्रेष्ठले कोभिडको शंका लागे तुरुन्त जाँच गर्न सुझाव दिइन्। जाँच गर्दा यसले एकातिर आफ्नो स्वास्थ्यको निगरानी हुने र अर्कोतिर आफ्ना आफन्त छरछिमेकलाई संक्रमणबाट जोगाउन सकिने उनले बताइन्।

‘समयमा स्वास्थ्य संस्थामा पुग्यौँ भने मृत्यु हुने सम्भावना एकदमै कम हुन्छ। जति ढिलाइ भयो, त्यति ज्यान जाने सम्भावना हुन्छ,’ श्रेष्ठले भनिन्, ‘सोहीकारण शंका लाग्नेबित्तिकै परीक्षण गर्नुपर्छ र अप्ठेरो भए तुरुन्त अस्पताल पुग्नुपर्छ।’

होम आइसोलेसनमा बस्दा अक्सिमिटरले अक्सिजनको मात्रा जाँचिरहनु पर्ने उनको भनाइ छ। अक्सिजन ९२ प्रतिशत भन्दा कम र श्वासप्रश्वास प्रतिमिनेट ३० भन्दा कम भए अस्पताल जान उनले सुझाव दिइन्।

संक्रमण रोक्न कन्ट्याक्ट ट्रेसिङको भूमिका महत्वपूर्ण हुने भएकाले अहिलेको अवस्थामा सम्बन्धित निकायले मात्रै नभएर संक्रमित व्यक्ति आफैँले कन्ट्याक्ट ट्रेसिङ गर्न जरुरी रहेको उनको भनाइ छ। आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई खबर गरेर सेल्फ क्वारेन्टिनमा बस्न सुझाउनु पर्ने उनले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .