समाज


रुसबाट ८० लाख खोप किन्ने प्रयास, प्रतिडोज १७ सय २० रुपैयाँ मूल्य प्रस्ताव

रुसबाट ८० लाख खोप किन्ने प्रयास, प्रतिडोज १७ सय २० रुपैयाँ मूल्य प्रस्ताव

यज्ञराज जोशी
बैशाख १७, २०७८ शुक्रबार १३:२८,

अग्रिम भुक्तानी गरेर किनेको खोप भारतले नदिएपछि नेपालले रुसबाट खोप किन्ने प्रक्रिया अघि बढाएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई भेटेर रुसी अधिकारीहरुले आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख मात्रा खोप दिने प्रतिबद्धता जनाएका छन्।

यही बुधबार रुसी अधिकारीहरुसँग छलफल गरेको मन्त्री त्रिपाठीले बताए।

‘हामीले ८० लाख खोप किन्ने प्रस्ताव राखेका छौँ। त्यसमा उहाँहरु सकरात्मक हुनुहुन्छ,’ मन्त्री त्रिपाठीले नेपालखबरसँग भने, ‘डिसेम्बरसम्म उक्त खोप ल्याउने कुराकानी अगाडि बढेको छ। बाँकी कुरा टुंगो लाग्न सकेको छैन।’

मन्त्री त्रिपाठीसँगको छलफलपश्चात उक्त टोली र नेपालस्थित रुसी राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थिए। भेटमा ओलीले नेपालले खरिद गर्न लागेको खोप तत्काल उपलब्ध गराउने पहल गरिदिन राजदूतसँग आग्रह गरेका थिए।

राजदूत अलेक्सेइ नोभिकोभले जतिसक्दो चाँडो स्पुतनिक भी खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए।

रुसबाट खोप किन्ने प्रक्रिया अघि बढेपनि मूल्य टुंगो लागेको छैन। स्वास्थ्यमन्त्री त्रिपाठीले केही अनुदान र केही सहुलियतका लागि पहल गरिरहेको बताए।

‘हामी केही अनुदान र केही सहुलियतका लागि प्रयास गर्दैछौँ। रुस सरकारको जवाफको प्रतीक्षामा छौँ,’ मन्त्री त्रिपाठीले भने, ‘सहुलियत नपाएपनि जतिसक्दो चाँडो किनैरै खोप ल्याउनेगरी लागेका छौँ।’

रुसी अधिकारीहरुले प्रतिडोज १७२० रुपैयाँमा दिन सक्ने प्रस्ताव गरेका छन्। नेपालस्थित रुसी दूतावासले सो मूल्य प्रस्ताव गरेको हो।

सरकारले जीटूजी प्रक्रियाबाट खोप किन्ने तयारी गरेको छ।

औषधि व्यवस्था विभागले वैशाख पहिलो साता नै रुसी खोपलाई नेपालमा प्रयोगका लागि आपतकालीन अनुमति दिइसकेको छ। यो खोप हाल दक्षिण एसियाको भारत र बंगलादेशमा समेत प्रयोगमा ल्याइएको छ।

अघिल्लो साता पनि मन्त्री त्रिपाठीले रुसी खोप ल्याउने करिब–करिब तय भइसकेको र केही दिनमा टुंगो लाग्ने बताएका थिए।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पनि रुसबाट खोप ल्याउने प्रक्रिया अघि बढेको बताए। उनले रुसबाहेक अन्य देशबाट पनि खोप ल्याउने पहल जारी रहेको बताए।

‘केही सिमित देशमा मात्रै खोप उत्पादन हुन्छ। हामीले सबै देश र कम्पनीसँग छलफल गरिरहेका छौँ,’ प्रवक्ता गौतमले भने, ‘रुसी अधिकारीहरुसँग सकारात्मक छलफल भएको छ। केही दिनमा कति, कुन मूल्यमा खोप आउने टुंगो लाग्नेछ।’

भारतबाट किनेको खोप आउने छैन टुंगो
फागुन ६ मा नेपालले २० लाख डोज खोपका किन्न सेरम इन्सिच्युट अफ इन्डियालाई ९३ करोड रुपैयाँ भुक्तानी गरेको थियो।

सेरमबाट खोप ल्याउन मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनमा भएको बैंक ग्यारेन्टी, अग्रिम भुक्तानी र भुक्तानीसम्बन्धी व्यवस्थाहरू नै निलम्बन गरेको थियो।

स्वास्थ्यमन्त्री त्रिपाठीले सेरमले दुई हप्ताभित्र १०–१० लाख गरी दुई पटकमा खोप आउने बताएका थिए। तर, १० लाख डोज खोप सेरमले नेपाल पठाएपनि दुई महिना बितिसक्दा पनि बाँकी १० लाख खोप आएको छैन।

भारत अहिले विश्वकै सबैभन्दा खराब संकटको सामना गरिरहेको छ। त्यसैले उसले खोप निर्यातमा प्रतिबन्ध लगाएको छ।

भारतीय खोप नआउँदा नेपालको खोप तालिका नै गडबड हुने भएको छ। असारदेखि दोस्रो डोज लगाउनुपर्नेहरुले खोप नपाउने देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पनि उक्त खोप आउने निश्चित नभएको बताए।

‘आउन त आइहाल्छ तर कुन दिन आउने भन्ने निश्चित भएको छैन। छलफल भइरहेको छ,’ प्रवक्ता गौतमले भने, ‘खोप उत्पादन नै थोरै भएकाले आउने मिति तय नभएको हो।’

यो पनिः
महामारीका तथ्यांकले देखाउँछन्– नेपालले पछ्याउँदैछ भारतकै ट्रेन्ड

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .