–भारतमा अक्सिजनको हाहाकार, अस्पतालमा चाप, मृत्युदर तथा घाटका दृश्य देखेर हामीलाई तनाव भएको छ। महामारीको समयमा यस्ता समाचार नहेर्नु उपयुक्त हुन्छ। हाल नेपालमा अक्सिजनको कमी भइसकेको छैन। सबै संक्रमितलाई अक्सिजन चाहिने पनि हैन। आईसीयू तथा भेन्टिलेटर खाली नभएका समाचारले पनि असुरक्षा महसुस गराएका छन्। सरकारले अक्सिजन बेड, आईसीयू तथा कोभिड अस्पताल थपिरहेको छ।विपत्तिको समयमा डराउने, आत्तिने हैन, कुशलतापूर्वक अघि बढ्नुपर्छ। अहिले परिस्थिति २० बिग्रेको छ भने हाम्रो मनस्थिति ८० बिग्रेको छ। सञ्चारमाध्यमले पनि मनोबल बढाउने समाचार दिनु उपयुक्त हुन्छ। नकारात्मक समाचारको महामारी झनै घातक हुन्छ।
–ज्वरो आउने,खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, स्वाद र गन्ध परिवर्तन हुने, पखाला लाग्ने, एकदम थकान हुने, निद्रा लागिरहने, खाना नरुच्ने आदि समस्या भएमा वा घरमा कुनै व्यक्तिलाई कोभिड भएमा वा कुनै कोभिड भएको व्यक्तिसँग भेटघाट गरेको भएमा तथा कतै यात्रा गरेको भएमा तुरुन्त पीसीआर टेस्ट गर्नुहोला।
–पीसीआर पोजिटिभ हुँदैमा आत्तिन पर्दैन। तापक्रम ९९.५ भन्दा माथि भएमा पारासिटामोल खान सकिन्छ। खोकी लागेमा एलर्जीको औषधि खान सकिन्छ। पखाला लागेमा प्रोबायोटिक खान सकिन्छ। जीवनजल पर्याप्त खानुपर्छ।
–परिवारमा एकजना संक्रमित भएमा सबैलाई संक्रमण सरेको अवस्था छ। सबै संक्रमित भए पनि आत्तिन पर्दैन। लक्षणअनुसारका सामान्य औषधिले अधिकांश संक्रमितलाई निको हुन्छ। कोभिडले १० दिन केही न केही गाह्रो हुनसक्छ। यसका लागि मानसिक तयारी र संयम आवश्यक हुन्छ।
–अक्सिजनको स्तर ९४ भन्दा माथि छ भने वा सास फेर्न गाह्रो भएको छैन भने कुनै चिकित्सकको सल्लाहअनुसार घरमै उपचार गर्न सकिन्छ। अस्पताल जानु पर्दैन।
–अक्सिजन ९० भन्दा माथि छ भने घोप्टो परेर सुत्ने तथा कोभिड अस्पतालको फिभर क्लिनिकमा गएर छातीको एक्सरे गर्नुपर्छ। त्यहाँ अक्सिजन, एक्सरे तथा जाँचबाट चिकित्सकले औषधि लेख्नुहुन्छ। त्यही औषधि र सल्लाहअनुसार घरमै बसेर स्वास्थ्य लाभ गर्न सकिन्छ।
–यदि अक्सिजनको स्तर ९० बाट तल झर्याे, सास फेर्न गाह्रो भयो, शरीर शिथिल भयो तथा खान नसक्ने अवस्था आयो भने तुरुन्तै कोभिड अस्पतालमा जानुपर्छ। भरे वा भोलि जान्छु भनेर पर्खिन हुँदैन।
–एक्सरे, सीटी-स्क्यान आदिबाट तपाईंलाई गम्भीर असर देखिएमा अस्पताल भर्ना हुनुपर्छ। अस्पताल भर्ना भएपछि आत्तिन पर्दैन। तपाईंको अवस्थाअनुसार उपचार हुन्छ।
–अक्सिजन सिलिन्डर किनेर घरमा अक्सिजन लगाएर बस्नु घातक हुन्छ। अक्सिजनको स्तर घट्ने निमोनियालगायत छातीको खराबीले हो। त्यसको उपचार र अक्सिजन सँगसँगै चिकित्सकको निगरानीमा गर्नुपर्छ।
–संक्रमित हुँदैमा आईसीयू र भेन्टिलेटरको चिन्ता गर्न पर्दैन। आईसीयू र भेन्टिलेटर प्याक हुने, खाली हुने क्रम चलिरहन्छ।
–सोर्सफोर्स लगाएर आईसीयू र भेन्टिलेटर पाउन गाह्रो छ। खाली नभएसम्म धैर्यता गर्नुपर्छ। आईसीयू वा भेन्टिलेटरबाट कुनै गम्भीर बिरामीलाई निकालेर अर्को व्यक्तिलाई राख्न मिल्दैन।
–केन्द्रका अस्पतालमा धेरै चाप हुने भएकाले सहरबाट अलिकति बाहिरका मेडिकल कलेज वा अस्पतालमा जानु राम्रो हुन्छ। त्यहाँ बिरामीको चाप कम हुन्छ।
–काठमाडौंबाहिरका अस्पतालमा पनि उपचार राम्रो छ। तसर्थ आफ्नो ठाउँको अस्पताल छाडेर काठमाडौं आउन जरुरी हुँदैन। उपचारको गाइडलाइन उही नै हो।
–आफूले उपचार गराएको अस्पतालमा आईसीयू वा भेन्टिलेटर छैन भने उक्त अस्पताललाई खाली भएको ठाउँ खोजेर पठाउन अनुरोध गर्नुपर्छ। हामी आफैंले खाली आईसीयू पत्ता लगाउन गाह्रो हुन्छ। आईसीयू नपाए पनि चिकित्सक तथा नर्सको राम्रो केयर भयो भने अक्सिजन बेडमा पनि आईसीयूसरहको उपचार हुन्छ।
–अहिले पनि ८५ प्रतिशत संक्रमितलाई घरमै बसेर निको भएको छ। १५ प्रतिशतलाई अस्पतालको सुविधा आवश्यक देखिएको छ। ५ प्रतिशतलाई आईसीयूको आवश्यकता परेको छ। मृत्युदर १ प्रतिशत मात्र छ।
–समाचार हेरेर, सुनेर आत्तिन हुँदैन। मनोबल उच्च राख्नुपर्छ। कोरोना लाग्दैमा मृत्यु हुँदैन।
–पोषिलो खाना, हल्का व्यायाम, सकारात्मक सोच, स्वस्थ जीवनशैली तथा योजनापूर्वक कदम चाल्ने हो भने अस्पताल जानुपर्दैन।
–सबैलाई थाहा नै छ, जनस्वास्थ्यका मापदण्ड पालना गर्ने हो भने कोरोना संक्रमण सर्दैन।
Shares

प्रतिक्रिया