अहिले कोरोना संक्रमणको दोस्रो लहर तीव्र बनेकाले हामी सबै जोखिममा छौं। सरकारले यो रोक्न खोप लगाउने, निषेधाज्ञा जारी गर्नेजस्ता विभिन्न उपाय त गरिरहेको छ तर हामी आफूले पनि यसबाट बच्न सतर्कता अपनाउन जरुरी छ।
अझ कतिपयलाई त एकपटक निको भइसकेर पनि फेरि संक्रमण हुने खतरा हुन्छ। तसर्थ त्यसो हुन नदिन संक्रमण ठीक भइसकेका व्यक्तिले पनि केही कुरा ध्यान दिनुपर्ने विशेषज्ञ बताउँछन्।
यसै सन्दर्भमा भारतका विशेषज्ञले संक्रमण मुक्त हुनासाथ सर्वप्रथम टुथब्रस बदल्न सुझाव दिएका छन्। यसो नगर्ने हो भने फेरि संक्रमण हुने खतरा रहने उनीहरूको भनाइ छ।
टुथब्रस मात्र होइन, जिब्रो सफा गर्ने साधन पनि परिवर्तन गर्नुपर्ने नयाँदिल्लीस्थित लेडी हार्डिङ मेडिकल कलेजका एचओडी डेन्टल सर्जरी डा. प्रवीण मेहरा बताउँछन्।
यस्तै आकाश हेल्थ केयर सुपर स्पेसियलिटी हस्पिटलका दन्त सल्लाहकार डा. भूमिका मदान पनि कुनै पनि मौसमी फ्लु, रुघाखोकी, संक्रमण निको भएपछि टुथब्रस र जिब्रो सफा गर्ने साधन परिवर्तन गरिहाल्नुपर्ने बताउँछन्। यसो गर्दा पुनः त्यही रोग लाग्ने खतरा कम हुने उनको भनाइ छ।
डाक्टरहरू भन्छन्, ‘बाथरुममा राखिएका ती सबै सामान बदलेको राम्रो, जसबाट संक्रमण फैलिन सक्छ।’

प्रतिक्रिया