सरकारले गत फागुन २३ गतेबाट ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई कोभिसिल्ड खोपको पहिलो मात्रा लगाउन सुरु गरेको थियो। त्यसबेला झन्डै ९ लाख जेष्ठ नागरिकले खोपको पहिलो मात्रा लगाएका थिए।
अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको र भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपको दोस्रो डोज ८ देखि १२ हप्तासम्म लगाइसक्नुपर्ने हुन्छ।
फागुन २३ देखि खोप लगाएकाहरुको दोस्रो मात्रा लगाउने बेला भइसकेको छ। तर, १२ हप्ता पुगे पनि उनीहरुले खोप पाउने टुंगो छैन।
खोप अभियान सुरु गर्दा सरकारले सेरम इन्स्टिच्युटलाई २० लाख मात्रा खोप खरिदका लागि अग्रिम भुक्तानी गरेको थियो। सेरमले तुरुन्तै १० लाख मात्रा खोप दियो।
सो खोप पाउने बित्तिकै नेपालले खोप अभियान सुरु गरेको थियो। तर, हालसम्म पनि सेरमले बाँकी १० लाख खोप नदिएपछि अहिले दोस्रो मात्रा लगाउन खोप अभाव भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको परिवार कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले खोप अभावका कारण दोस्रो मात्रा दिनसक्ने अवस्था नरहेको बताए।
‘करिब ९ लाखले पहिलो मात्रा खोप लगाउनुभएको छ तर खोप अभावले अहिले नै उहाँहरूलाई दोस्रो मात्राको खोप दिन सक्ने अवस्था छैन,’ उनले भने, ‘खोप आउने, नआउने वा कहिले आउने भन्नेबारे केही भन्न सकिने अवस्था छैन।’
मन्त्रालयका सहप्रवक्ता डा. समीरमणि अधिकारीले खोप ल्याउन पहल भइरहेको बताए।
‘दोस्रो मात्रा खोप लगाउने बेला भएको छ। तर खोपको अभावले कहिलेबाट लगाउने सुनिश्चित भएको छैन,’ डा. अधिकारीले भने, ‘पहिलो मात्रा विभिन्न चरणमा दिइएकाले जेठ अन्तिमबाट पनि दोस्रो मात्रा सुरु गर्न सकिन्छ। त्यसका लागि खोप प्राप्तिको पहल भइरहेको छ।’
सोमबार सेरमले समेत एक विज्ञप्ति जारी गर्दै खोप निर्यात गर्न नसक्ने जनाएको छ।
‘भारतीय जनताको जीवनको मूल्यमा हामीले खोपको निर्यात कहिले पनि गर्ने छैनौँ भनेर दोहो¥याउन चाहन्छौँ। देशको खोप लगाउने अभियानमा गर्नुपर्ने सबै काम गर्न हामी प्रतिबद्ध छौँ’ सेरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
बेलायत गुहार्दै सरकार
भारतले खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालले कोभिसिल्डको दोस्रो मात्रा दिन पुग्ने खोपका लागि बेलायत सरकारसँग अनुरोध गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बेलायती राजदूत निकोला पोलिटसँग भेट गर्दै खोप उपलब्ध गराउन अनुरोध गरेका थिए। बेलायती राजदूत निकोला पोलिटले आज बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेकी थिइन्।
‘भेटका अवसरमा दुई देशबीचको आपसी सम्बन्ध, मख्यतः कोभिड–१९ विरुद्धको लडाइँमा परस्पर सहयोगको आदानप्रदानबारेमा छलफल भयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्, ‘प्रधानमन्त्रीज्यूले यस क्रममा बेलायतले गरेको सहयोगका लागि धन्यवाद गर्नुभएको छ र नेपाली जनताको लागि अस्ट्राजेनेका कोभिड–१९ खोप उपलब्ध गराउन अनुरोधसमेत गर्नुभएको छ।’
त्यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवलीले बेलायती समकक्षीमार्फत खोप उपलब्ध गराइदिन अनुरोध गरेका हुन्। बेलायत सकारात्मक देखिएपनि ठोस जवाफ भने आइनसकेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जनाइन्।
‘परराष्ट्रमन्त्रीज्यूले बेलायतका समकक्षीसँग खोप उपलब्ध गराइदिने बारे कुराकानी गर्नुभएको छ,’ लम्सालले भनिन्, ‘कम्तीमा पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहेकाहरुका लागि खोप उपलब्ध गराइदिन अनुरोध भएको छ। यसमा बेलायत सरकार सकारात्मक देखिएको छ।’
अमेरिकासँग पनि खोपका लागि कूटनीतिक पहल भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जनाएका छन्।
अमेरिकाले सुरुमा ८ करोड डोज कोभिसिल्ड खोप बुक गरेको थियो। तर आफ्नै देशमा फाइजर, मोर्डना र जोनसोन एन्ड जोनसोन खोप पर्याप्त भएपछि अमेरिकाले कोभिसिल्ड खोप अन्य राष्ट्रलाई सहायतास्वरुप दिने जनाएको छ।
‘हामीले नेपाल तपाईंको पुरानो मित्र हो। उच्च प्राथमिकता राखेर त्यसको एउटा हिस्सा उपलब्ध गराइदिनुस् भनेर कूटनीतिक पहल गरेका छौँ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘उनीहरुका केही प्रक्रिया छन्। त्यो टुंगो लागेपछि खोप पाउनेमा विश्वास गरेका छौँ।’
अमेरिकाको फुड एन्ड ड्रग्स एडमिनिस्ट्रेसन तथा सेन्टर फर डिजिज कन्ट्रोलले कोभिसिल्डको गुणस्तर सुनिश्चित गर्न बाँकी रहेको र त्यो प्रक्रिया पुरा गर्नेबित्तिकै नेपालले खोप पाउने ज्ञवालीको विश्वास छ।
यस्तै ज्ञवालीले कोभ्याक्स सुविधामार्फत नेपालले पाउनुपर्ने खोपका लागि पनि डब्लूएचओको सचिवालयलाई पत्राचार गरिरहेको जानकारी दिए। कोभ्याक्सबाट नेपालले १ करोड ४० लाख मात्रा खोप पाउनुपर्ने भएपनि अहिलेसम्म ३ लाख ४८ हजार मात्रा मात्रै पाएको छ।
दोस्रो मात्रा खोप नपाए के हुन्छ?
स्वास्थ्य मन्त्रालयले गठन गरेको कोभिड १९ खोप सल्लाहकार समितिका संयोजक तथा खोप विज्ञ डा. श्यामराज उप्रेतीले दोस्रो मात्रा खोप समयमा नपाए संक्रमणको जोखिम रहने बताए।
उनले पहिलो मात्राको खोपले तीन महिनासम्म कोरोनाबाट आंशिक सुरक्षा गर्ने तर त्यसपछि दोस्रो मात्रा नपाए संक्रमणको जोखिम रहने बताए।
‘अहिले तीन महिनासम्म पहिलो डोजले केही प्रोटेक्सन गर्छ भन्ने छ। तीन महिनापछि पहिलो डोजको सुरक्षा कम हुने भएकाले दोस्रो डोज लगाउनुपर्ने हो,’ उनले भने, ‘यतिबेला दोस्रो डोज नपाए संक्रमण जोखिम हुन्छ। प्रोटेक्सन जिरो हुने होइन। नकारात्मक असर पनि केही हुन्न। आत्तिनुपर्ने छैन। केही ग्याप भएर दोस्रो मात्रा लगाएपछि त्यसले फेरि काम गर्न थाल्छ।’
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सलटेन्ट तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाले दुवै डोज लगाएपछि मात्रै खोपले काम गर्ने भएकाले दुवै डोज लगाउन आवश्यक भएको बताए।
‘पहिलो चरणमा लगाएको खोपले केही हदसम्म एन्टिजेन हो भनेर चिनाउँछ। दोस्रो खोपले प्रचुर मात्रामा रोग प्रतिरोधात्मक शक्ति बन्ने हो,’ उनले भने, ‘खोपको पहिलो मात्रा मात्र लगाउँदा संक्रमण हुनसक्छ अरुलाई संक्रमण सार्न सकिन्छ। त्यसैले दुवै मात्रा खोप लगाउनु जरुरी छ।’
यो पनिः
- बाइडेनको ८ करोड खोप सहयोगमा के नेपाल प्राथमिकतामा पर्ला?
- नेपाललाई कोभिड खोप प्रदान गर्न बेलायतसँग प्रधानमन्त्री ओलीको अनुरोध
प्रतिक्रिया