पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून चापीय प्रणाली चक्रवातमा परिणत भइसकेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बिस्तारै त्यसको असर नेपालमा पनि देखिने भएकाले मौसमप्रति सजग रहन महाशाखाले सबैलाई आग्रह गरेको छ।
सोमबार दिउँसो ३ बजे विशेष मौसम बुलेटिन–३ जारी गर्दै महाशाखाले पूर्वीमध्य बंगालको खाडीमा बनेको चक्रवात (यास) उत्तर–उत्तरपश्चिम सर्ने क्रममा भोलि मंगलबार (जेठ ११) गते धेरै शक्तिशाली चक्रवातमा परिणत हुने र बुधबार (जेठ १२) गते सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएको जानकारी दिएको हो।
बुलेटिनमा भनिएको छ : उक्त चक्रवातको केही असर आउँदा केही दिनमा नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेकाले सबैलाई मौसमप्रति सजग रहन अनुरोध छ।
महाशाखाका अनुसार भोलि (मंगलबार) अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा हुने सम्भावना छ।
बुलेटिनमा भनिएको छ : तसर्थ उच्च हिमाली भूभागमा हावाहुरीसमेत आउन सक्ने सम्भावना रहेकाले मंगलबारदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसमअनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध छ।
महाशाखाका अनुसार बुधबार (१२ गते) देखि देशका धेरै स्थानमा केही दिन हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।
यसैगरी बिहीबार (१३ गते) कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा समेत भारी वर्षा हुने सम्भावना छ। उच्च हिमाली भेगमा हिमपात र वर्षा हुने सम्भावना रहेकाले पर्वतारोहीहरूलाई सतर्क रहन रहन मौसम महाशाखाले अनुरोध गरेको छ।
महाशाखाको बुलेटिनमा भनिएको छ : यो सिजनमा मेघगर्जन/चट्याङ/हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
चक्रवातबारे अध्ययन जारी राखिएको र यसको सूचना अध्यावधिक (अपडेट) गरिरहने मौसमविद्ले बताएका छन्। साथै सबैलाई मौसमबारे अपडेट भइरहन पनि उनीहरूले अपिल गरेका छन्।
Shares

प्रतिक्रिया