समाज


उपत्यकामा संक्रमण घट्दै, गाउँगाउँमा बढ्दै

उपत्यकामा संक्रमण घट्दै, गाउँगाउँमा बढ्दै

यज्ञराज जोशी
जेठ १०, २०७८ सोमबार ११:९,

नेपालमा आइतबारसम्म सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ५४७ छ। त्यसमध्ये काठमाडौैं उपत्यकामा २९ हजार ५२५ छन्। ८६ हजार २२ जना संक्रमित उपत्यकाबाहिर छन्।

अघिल्लो हप्ता माओवादी नेता नारायणकाजी श्रेष्ठको सचिवालयले श्रेष्ठको निर्वाचन क्षेत्र रहेको गोरखामा कोभिड–१९ स्वयंसेवा समूह बनाएर स्थानीयको एन्टिजेन परीक्षण गरेको थियो। जसमा अधिकांश गाउँमा संक्रमित भेटिए। ५ सय ७४ जनाको कोभिड–१९ परीक्षण गर्दा ९७ जनाको कोरोना रिपोर्ट पोजिटिभ देखिएको टोलीका संयोजक डा. शिशिर देवकोटाले जनाए।

‘हामीले गरेको परीक्षणमा गाउँमा ३० देखि ४० प्रतिशतसम्म संक्रमित पाएका छौं,’ देवकोटाले भने, ‘५ प्रतिशतभन्दा बढी संक्रमित देखिए उच्च जोखिम मानिन्छ। ३० देखि ४० प्रतिशतमा संक्रमण देखिनु भनेको भयावह अवस्था हो। यसले गाउँभित्रभित्रै संक्रमण फैलिएको पुष्टि गर्छ।’

देवकोटाको टोलीले गोरखाको पालुङटार नगरपालिका, सिरानचोक, अजिरकोट, बारपाक सुलिकोट, सहिद लखन र भीमसेन थापा गाउँपालिकाका विभिन्न स्थानमा स्थानीयको एन्टिजेन परीक्षण गरेको थियो।

उनले ज्वरो आएका, खोकी लागेका शंकास्पदहरुको परीक्षण रिपोर्ट आउन पनि एकहप्ता बढीको समय लाग्ने गरेको र त्यतिञ्जेलसम्म ती संक्रमितले गाउँमा डुलेर संक्रमण झनै फैलाउने गरेको बताए।

‘रिपोर्ट ढिला आउँदा बिरामीलाई गाह्रो भई ज्यानै जाने समस्या समेत देखियो,’ देवकोटाले भने।

उनका अनुसार बारपाक, जौबारी, सिरानचोकलगायतका ठाउँमा पोजेटिभिटी दर बढी पाइएको छ। बारपाकमा ७० जनाको परीक्षण गर्दा ३३ जना (४७%) पोजेटिभ भेटिएको थियो। त्यसैगरी सिरानचोक चिलाउनेमा ५७ जनामा १५ (२६%) जना पोजेटिभ, जौबारीमा ७६ जनाको नमुना परीक्षण गर्दा जनामा २० जना (२६%) पोजेटिभ देखिएको थियो।

यस्तै रुकुम पूर्वको सिस्ने गाउँपालिकाले गाउँमै स्वास्थ्यकर्मी पठाएर शंकास्पद १२५ जनाको परीक्षण गर्दा ३७ जना अर्थात २९.६ प्रतिशतलाई संक्रमण पुष्टि भएको थियो।

‘लक्षण देखिएका शंकास्पदहरुको मात्रै हामीले परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएका हुन्,’ गाउँपालिकाका स्वास्थ्य संयोजक सुरेन्द्रप्रसाद यादवले भने, ‘त्यसबाहेक लक्षण नदेखिएका र परीक्षणको दायरामा नभएका थुप्रै हुनसक्छन्।’

पाँचथरको हिलिहाङ गाउँपालिकाका समेत एकै टोलमा ४४ जना संक्रमित भेटिएका छन्। टोलमा आयोजित विवाह समारोहबाट संक्रमण फैलिएको स्थानीयको अनुमान छ।

ज्वरो, रुघा खोकी, खाना नरुच्ने, शरीर दुख्नेजस्ता समस्या देखिएपछि आइतबार सुरुमा आठ जनाको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटारमा एन्टिजेन परीक्षण देखिएको थियो। परीक्षणका क्रममा सबैमा पोजिटिभ देखायो।

अहिलेसम्म ४४ जनाको रिपोर्ट पोजिटिभ आएको र बाँकीको आउनेक्रममा रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख चन्द्रप्रसाद घिमिरेले जानकारी दिए।

‘यहाँको स्थिति निकै भयावह छ। घर–घरमा बिरामी हुनुहुन्छ,’ घिमिरेले भने, ‘कतिपयले परीक्षण पनि गर्नुभएको छैन। परीक्षण गरिएकामध्ये अधिकांशमा संक्रमण पुष्टि भएको छ।’

अघिल्लो साता बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। दुई हप्ताअघि विवाहभोजबाट फर्किएका उनीहरुमा संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धौलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा पनि दोस्रो लहर फैलिएयता भर्ना भएका ९४३ संक्रमितमध्ये १४५ जनाको मृत्यु भएको छ। अस्पतालमा ठाउँ नभएर पाल टाँगेर उपचार गर्नुपरेको थियो।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार सुदूरपश्चिममा गाउँगाउँमा संक्रमण फैलिएका कारण अस्पताललाई एक महिनायता व्यवस्थापनमा निकै चुनौती थपिएको छ।

‘खुला सिमानाका कारण भारतबाट आउनेहरुको संख्या धेरै छ। सीमामा जाँच प्रभावकारी नहुँदा गाउँगाउँसम्म संक्रमण फैलिएको छ,’ उनले भने, ‘अप्ठेरो भएका संक्रमित मात्रै अस्पतालमा आउँदा पनि धान्न गाह्रो परिरहेको छ।’

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले पछिल्लो हप्ता काठमाडौंमा संक्रमण केही घटेको देखिए पनि उपत्यकाबाहिर भने बढिरहेको जानकारी दिए।

उनले भारत र काठमाडौंबाट मानिसहरु गाउँमा भित्रिने, धार्मिक सामाजिक कार्यक्रममा सहभागी हुने, जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने र समयमा परीक्षण हुन नसक्नेजस्ता कारणले गाउँगाउँमा संक्रमण फैलिरहेको बताए।

‘पछिल्लो हप्ता उपत्यकामा तुलनात्मक रुपमा संक्रमण केही कम भएको देखिन्छ,’ उनले भने, ‘काठमाडौं उपत्यकाभन्दा बाहिरका जिल्लामा संक्रमण ज्यादा भएको छ। गाउँगाउँमा संक्रमण फैलिएको देखिएको छ। भारत र काठमाडौंजस्तो जोखिमयुक्त स्थानबाट घर फर्कंदा अनिवार्य रुपमा क्वारेन्टिन बस्न भनेका थियौँ। त्यो अझै पनि धेरैले पालना गरेको पाइँदैन।’

उनले अहिले रुपन्देही, बाँके, मोरङ, कास्की, कैलाली, दाङ र चितवनमा अत्याधिक संक्रमित देखिएको बताए।

परिवार, गाउँ–टोलमा कोरोना संक्रमण रोक्न कोभिड–१९ सूक्ष्म योजना समेत ल्याइएको पौडेलले जानकारी दिए। उक्त योजनामा परिवार, टोल, अपार्टमेन्ट तथा आवासीय क्षेत्र वडा र पालिकाहरुमा संक्रमण देखिए संक्रमण नियन्त्रणका लागि अपनाउनुपर्ने काम समेटिएको उनले बताए।

‘सहरी क्षेत्रमा पाँचवटा घरमा र ग्रामीण क्षेत्रमा ७ वटा घरमा संक्रमित फेला परेमा सूक्ष्म रोकथामको उपाय अपनाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यस्तो देखिएमा टोलका सबै व्यक्ति क्वारेन्टिनमा बस्नुपर्छ, सबैले परीक्षण गर्नुपर्छ। त्यो टोलमा अत्यावश्यक मात्रै आवागमन गर्ने, व्यापार तथा अन्यमा सुरक्षाका मापदण्ड अपनाएर संक्रमण फैलन रोक्न सकिन्छ।’

७४ जिल्लामा निषेधाज्ञा कम हुँदा आवागमन ८० प्रतिशतसम्म कम हुने आकलन गरिए पनि आवागमन ६० प्रतिशत मात्रै कम भएको पौडेलले बताए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईअनुसार अहिलेपनि दैनिक २ देखि ३ हजारसम्म सवारी साधन उपत्यकाबाट बाहिरिने गरेका छन्। उपत्यकाबाट घर फर्कन चाहनेले समूहमा गाडी रिजर्भ गरी प्रशासनबाट पास लिएर जाने गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .