समाज


आज पाँचवटा प्रदेशका केही स्थानमा ‘अति भारी’ वर्षा र ‘उच्च वेग’को हावाहुरीको सम्भावना

आज पाँचवटा प्रदेशका केही स्थानमा ‘अति भारी’ वर्षा र ‘उच्च वेग’को हावाहुरीको सम्भावना

नेपालखबर
जेठ १४, २०७८ शुक्रबार ०:४३,

अहिले (शुक्रबार बिहान) देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको काठमाडौंस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो पनि पानी पर्ने क्रम जारी रहनेछ भने पाँचवटा प्रदेशका केही स्थानमा निकै ठूलो वर्षा हुने र हावाहुरीसमेत आउने सम्भावना छ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ : दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी/अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ।’

यसैगरी उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानमा र बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै राति पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी/अति भारी वर्षा र उच्च वेगको हावाहुरीको सम्भावना छ।

यस्तै उच्च हिमाली/पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली/पहाडी भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको शुक्रबार बिहान मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

महाशाखाले आगामी २४ घण्टा (शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा, उच्च वेगको हावाहुरि र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात यास भारतको पश्चिम बंगाल क्षेत्रमा प्रवेश गर्दा नेपालमा पनि त्यसको प्रभाव परेर मौसम बदली र वर्षा भइरहेको हो।

अहिले त्यो चक्रवात पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई न्यून चापीय क्षेत्र बनेको छ। त्यसैको असरले नेपालमा भारी वर्षा र हावाहुरीको सम्भावना बढेको हो।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार अहिलेसम्मको रेकर्डअनुसार म्याग्दी, पोखरा, इलामका एक/दुई ठाउँमा भारी वर्षा भएको छ भने देशका धेरैजसो स्थानमा मध्यम वर्षा भएको छ। यस्तै इलामलगायत पूर्वका केही स्थानमा हावाहुरीसमेत आएको छ। तर अहिलेसम्म अति भारी वर्षा भने कतै नभएको उनले बताए।

उनका अनुसार ५० मिलिमिटरभन्दा बढी वर्षालाई भारी तथा सयभन्दा माथि मिलिमिटर वर्षा भयो भने अति भारी वर्षा भनिन्छ। ‘सय मिलिमिटर अहिलेसम्म कतै मापन भएको छैन,’ मौसमविद् अर्यालले भने।

काठमाडौं उपत्यकामा ठूलो वर्षा भएको छैन
मौसमविद् मीनकुमार अर्यालयका अनुसार काठमाडौं उपत्यकामा अहिलेसम्म खासै ठूलो वर्षा भएको छैन। हल्का वर्षा मात्र भएको छ। अहिले बिहानको रेकर्ड ४ मिलिमिटर मात्र मापन भएको उनले जानकारी दिए। उपत्यकासहित विभिन्न स्टेसनको वर्षा मापनको रेकर्ड पौने ९ बजे आउने उनले बताए।

‘वर्षा खासगरी पश्चिम र पूर्वतिर केन्द्रित छ,’ शुक्रबार बिहान नेपालखबरसँग उनले भने,’ उपत्यकामा खासै छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .