बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात यास भारतीय जमिनमा प्रवेश गरी कमजोर क्रममा विकसित प्रणालीको प्रभावले केही दिनयता नेपालमा वर्षा र हिमपात जारी छ।
यस क्रममा आज राति देशका धेरै स्थानमा वर्षासहित हावाहुरीसमेत आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी/अति भारी वर्षा र उच्च वेगको हावाहुरीसमेत आउने सम्भावना छ।
यस्तै उच्च पहाडी, हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षा र गण्डकी प्रदेशका केही स्थानमा बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी/हिमाली भूभागका १/२ स्थानमा भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : ‘प्रदेश १ ,प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा, उच्च वेगको हावाहुरी र १/२ स्थानमा अति भारी वर्षाको सम्भावना छ। गण्डकी, बागमती प्रदेश र प्रदेश १ र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी/हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया