समाज


६ वटा प्रदेशमा घट्यो संक्रमण, गण्डकीमा बढ्यो

६ वटा प्रदेशमा घट्यो संक्रमण, गण्डकीमा बढ्यो

यज्ञराज जोशी
जेठ १७, २०७८ सोमबार ११:३३,

वैशाख २८ गते नेपालमा एकै दिन ९ हजार ४ सय ८३ जना कोरोना संक्रमित भेटिए। सो संख्या हालसम्मकै उच्च हो। त्यो दिन २ सय २५ जनाको मृत्यु भएको थियो।

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि वैशाख अन्तिम साता संक्रमण उत्कर्षमा पुगेको थियो। हप्ता दिनयता भने संक्रमितको संख्या घट्न थालेको छ।

जेठ १२ गतेयता नेपालमा संक्रमित संख्या ७ हजारभन्दा तल झरेको छ। जेठ १२ गते ६ हजार ७४१, जेठ १३ गते ६ हजार ९३९, जेठ १४ गते ६ हजार ९५१ संक्रमित फेला परेका थिए। पछिल्लो तीन दिनमा भने यो संख्या साढे ४ हजार आसपासमा छ। जेठ १५ गते ४ हजार ४ सय ८७ र जेठ १६ गते ४ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका विज्ञ तथा सामुदायिक कार्यक्रम विभाग, धुलिखेल अस्पतालका निर्देशक डा. विराज कर्माचार्यका अनुसार अघिल्लो हप्ताको तुलनामा यो हप्ता नेपालमा कोभिड संक्रमितको संख्यामा १७.५ प्रतिशतले कमी आएको आएको छ।

पछिल्ला दुई हप्ताको तुलना गर्दा यस हप्ता नेपालका ६ वटा प्रदेशमा पनि संक्रमणमा कमी देखिएको छ। गण्डकीमा मात्रै संक्रमण बढेको तथ्यांकमा देखिन्छ भने अरु प्रदेशमा घटेको छ। गण्डकीमा ५०.८ प्रतिशतले संक्रमण बढेको छ।

त्यसबाहेक सुदूरपश्चिममा ५३.८ प्रतिशत संक्रमितको संख्यामा कमी आएको छ। बागमतीमा ९.८, कर्णालीमा ५२.५, लुम्बिनीमा ३२.५, प्रदेश २ मा ४.९ र प्रदेश १ मा २२.७ प्रतिशत संक्रमितको संख्या घटेको कर्माचार्यले बताए।

भारतमा पनि पछिल्लो केही दिन संक्रमितको संख्या निरन्तर घट्दै गएको देखिन्छ। नेपालले पनि त्यहि ट्रेन्ड पछ्याउन थालेको उनले बताए।

‘नेपाल र भारतमा प्रतिदस लाख संख्यामा देखिने संक्रमित संख्या ओरोलो लागेको छ,’ कर्माचार्यले भने, ‘भारतमा प्रतिदस लाखमा १४९.१ संक्रमण देखिँदा नेपालमा २५५.२ जनामा संक्रमित देखिएको छ। अघिल्लो हप्ताभन्दा घट्दै गएको हो।’

जनस्वास्थविद् डा. समीरमणि दीक्षित पनि नेपालमा संक्रमणदर ओरालो लागेको बताउँछन्।

‘भारतमा तीन हप्तामा लगभग पाँच गुणा संक्रमण घटेको छ। हामी भारतभन्दा चार हप्ता पछाडि छौँ,’ दीक्षितले भने, ‘हाम्रोमा अहिले अलिअलि घटेको देखिन्छ। अर्को एक हप्तादेखि व्यापक घटेको देखिनेछ।’

उनले अहिले संक्रमणको संख्या, अस्पतालमा भर्ना भएका बिरामी संख्या, अक्सिजनको माग पनि घट्दै गएको बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा.अनुप बास्तोलाले पनि अस्पतालमा संक्रमितको चापमा कमी आएको बताए।

‘केही समयअघि हामीले अस्पतालबाहिरै बेडको व्यवस्थापन गरी उपचार गर्नुपर्ने अवस्था थियो। अहिले त्यस्तो अवस्था छैन,’ डा. बास्तोलाले भने, ‘लकडाउनले चेनब्रेकमा सघाउ पुर्‍याएको छ। यसले एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न रोकिएको छ।’

उनले संख्या घटे पनि जोखिम उत्तिकै रहेकाले सबैले मापदण्ड अपनाउन छाड्न नहुने बताए।

192013052_268151298431136_9054788760806194132_n.png

परीक्षण कम हुँदा संक्रमितको संख्या घट्यो, संक्रमण दर उस्तै
जेठ १४ गतेसम्म नेपालमा २० हजारको हाराहारीमा परीक्षण हुने गरेको थियो। तर जेठ १५ मा १४ हजार ७५२ र जेठ १६ गते १२ हजार ७७० मात्रै परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेल सार्वजनिक विदा, आवागमनमा कडाइ र केही ल्याबले इन्ट्री गर्न नसकेकाले परीक्षण कम देखिएको बताए।

‘नेपालमा संक्रमण घट्दै गएको जस्तो देखिएको छ। तर परीक्षणको तुलनामा संक्रमण दरमा भने कमी आएको छैन,’ पौडेलले भने।

डा. कर्माचार्यले नयाँ कोरोना संक्रमितको संख्यामा कमी आएको देखिए पनि संक्रमणदर घट्न नसकेकाले जोखिम यथावत रहेको बताए।

‘केही दिनयता नयाँ संक्रमित संख्या घटेको जस्तो देखिएको छ तर परीक्षण गरिएकोमध्ये कतिलाई पोजिटिभ देखियो भन्ने महत्वपूर्ण हुन्छ। नेपालको पछिल्लो टेस्ट पोजिटिभिटी रेट ३७.७ प्रतिशत छ। जुन निकै नै धेरै हो।’

विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमणदर ५ प्रतिशतभन्दा कम भए मात्रै जोखिम न्यून हुन्छ।

दीक्षितले भने चार हप्ताअघि भन्दा नेपालमा संक्रमण दरमा पनि कमी आएको दाबी गर्छन्।

‘चारहप्ता अघि नेपालको परीक्षण गरेकामध्ये संक्रमित हुनेको दर ५० प्रतिशत थियो। अहिले ३२–३५ प्रतिशत छ। यो पनि घट्नेक्रममै हो,’ उनले भने।

संक्रमण घट्दै जाँदा ध्यान दिनुपर्ने कुरा
संक्रमण घट्दै जाँदा तुरुन्तै पहिलेकै अवस्थामा फर्किन सम्भव नुहने डा. कर्माचार्यले बताए। निषेधाज्ञा पनि विस्तारै खुकुलो पार्नुपर्ने उनको भनाइ छ।

‘टेस्ट भएन भने कुन हदसम्म फैलिएको छ भन्ने आकलन गर्न सकिन्न। नियमित निगरानी, परीक्षण, कन्ट्याक्ट ट्रेसिङ बलियो बनाउने काम छाड्न हुन्न,’ उनले भने, ‘उच्च जोखिम क्षेत्रको निरन्तर अनुगमन तथा संक्रमण बढ्दै गए समयमै त्यहाँको मान्छेलाई सचेत गराउनु पर्छ।’

उनले तेस्रो लहरको जोखिम पनि कायम रहेकाले संक्रमण घट्दै गएका बेला अस्पतालमा शय्या, औषधि, उपकरण, अक्सिजनको तयारी चुस्त पार्नतर्फ लाग्नुपर्ने बताए। उनले अक्सिजन सुविधासहितको आइसोलेसन केन्द्र, सीमामा क्वारेन्टिन तथा जाँचको व्यवस्था गर्न सके भविष्यको लागि तयारी गर्न सकिने बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .