२०७४ साउनमा वैकल्पिक राजनीतिको नारा दिएर मैदानमा उत्रिएका तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबीच एकताको अन्तिम टुंगो लगाउने कसरत भइरहेको थियो।
विवेकशीलको नेतृत्व उज्वल थापाले गरिरहेका थिए भने साझाको रवीन्द्र मिश्रले। एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्ने विषयमा रस्साकस्सी चलिरहेको थिए।
विवेकशीलका तर्फबाट वार्ता टोलीमा थिए गोविन्द नारायण। उनले संयोजक थापालाई फोनमा सोधे, ‘हामीले नेतृत्वको दाबीमा के गर्ने?’
‘मलाई साधारण सदस्यमा राखिदिए हुन्छ। म पहिले विवेकशील बन्न चाहन्छु,’ थापाले तीन वर्षअघि भनेको कुरा नारायण अहिले पनि सम्झन्छन्।
‘उसले शक्तिभन्दा पनि देशको रुपान्तरण खोजेको थियो। सत्तामा पुग्नुअगाडि मान्छेको चेतनामा रुपान्तरण खोजेको थियो,’ नारायण भन्छन्।
कोरोनाबाट संक्रमित थापाको उपचारका क्रममा मंगलबार निधन भयो।
उनी बिरामी भएर अस्पताल भर्ना भएको थाहा पाएपछि सामाजिक सञ्जालमा हजारौँ शुभचिन्तकले स्वास्थ्यलाभको कामना गरेका थिए। उपचारका लागि देशविदेशमा रहेका साथीभाइ र शुभेच्छुकले २४ घण्टामै ५० लाख रुपैयाँ जुटाएका थिए।
थापाको निधनपछि उनका हजारौं समर्थकहरु स्तब्ध बनेका छन। प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका संघीय अध्यक्ष डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष कमल थापालगायतका नेता र नागरिक अभियन्ताहरूले दुःख व्यक्त गरेका छन्। यस्तै उनका हजारौं शुभचिन्तकले फेसबुक र ट्विटरमा श्रद्धान्जली व्यक्त गरेका छन्।
थापालाई प्राप्त सद्भावले राजनीति भनेको सत्ता प्राप्ति मात्रै होइन र राजनीतिज्ञ भनेको शक्तिमा नभई जनताको मनमा बस्ने व्यक्ति हुनुपर्ने रहेछ भन्ने सन्देश दिएको गोविन्द नारायणको बुझाइ छ।
‘उसले सेवक सरकार, उद्यमशील सामाज, विवेकशील व्यक्तिको बारेमा कुरा गरेको थियो। नेपाल अब यही लाइनतर्फ जानुपर्छ। उसप्रति देखिएको सद्भावले पनि त्यसै कुरामा बल पुगेको छ,’ नारायणले भने, ‘मान्छे विवेकशील भएपछि ठिक–बेठिक छुट्याउन सक्छ र ठिक गर्ने मान्छेहरुले ठिक स्थान प्राप्त गर्छन्। त्यसैले मान्छे विवेकशील हुनुपर्छ उसको आधारभुत सन्देश पनि यही हो।’
थापासँग सामाजशास्त्री दिनेश प्रसाईंको तीन दशक लामो चिनजान थियो। विद्यालय कालदेखि नै उनीहरु एकअर्कासित परिचित थिए। थापा विभिन्न अभियानमार्फत समाजमा भिजेको व्यक्ति भएकाले नै अहिलेको सद्भाव देखिएको प्रसाईं बताउँछन्।
‘अहिले उज्वल थापाको चर्चा किन भयो भन्ने सुन्छु,’ प्रसाईं भन्छन्, ‘ऊ धेरै अभियानमार्फत धेरै मान्छेसँत व्यक्तिगत रुपमा भिजेको थियो। मूलधारको राजनीति, बौद्धिकवर्ग, मिडियाले केही नजरअन्दाज गरेका थिए। अहिले उसप्रति देखिएको सदभावबाट समग्र समाजले पनि ऊ र उसको काम चिनेको झैँ लाग्छ। बाँचेर यो देखेको भए ऊ पक्कै खुसी हुन्थ्यो।’
आईटी उद्योगको स्थापना गर्दै सयौँ युवाहरुसँग जोडिएको, चिकित्सा शिक्षा सुधारको अभियान, नेपाल खुल्ला अभियान, संविधान निर्माणका लागि दबाब आन्दोलन, विदेशमा भएका नेपालीलाई पनि भोटिङ अधिकार दिनुपर्ने अभियान, आदिमा थापा धेरै मानिससँग जोडिएको प्रसाइँ बताउँछन्।
‘ऊ उद्यमशीलतामा लागेको व्यक्ति हो। तर, राजनीतिक संस्कार नसुध्रिएसम्म सबैतिर समस्या हुने महसुस गर्यो। युवाहरुलाई उद्यमशीलतामा पनि अप्ठेरो परेको देखेपछि डेलिभरी दिनसक्ने राजनीतिमा होमिएको हो,’ प्रसाईं भन्छन्, ‘सुरुमा उसलाई धेरैले खिल्ली उडाउँथे। तर मनमा लागेको कुरा गर्दै जाने मान्छे हो। त्यसमै घोत्लिरहने र सिर्जनात्मक ढंगले काम गर्ने भएकाले वैकल्पिक राजनीतिलाई यहाँसम्म डोर्याएर ल्यायो।’
कतिपयले थापाप्रतिको सद्भावलाई वैकल्पिक राजनीतिप्रतिको आकर्षणका रुपमा पनि अर्थ्याएका छन्। तर, प्रसाईं यो सम्मान वैकल्पिक राजनीतिभन्दा बढी थापाको कामप्रतिको सद्भाव भएको बताउँछन्।
‘परिवर्तनका लागि नेपालीहरुले एउटा खुट्टा उचालेको जस्तो देखिन्छ। पछिल्लो ३० वर्षमा युवाहरुको संख्या बढेको छ तर नेतृत्वमा युवा छैनन्। युवाहरु नहुँदा उनीहरुको एजेन्डा पनि सम्बोधन भएनन्,’ प्रसाईं भन्छन्, ‘अरु राजनीतिक दलले युवाहरुको त्यो उकुसमुकुस सदुपयोग गर्न नसकेका बेला युवाहरुलाई समेट्दै उज्वलले नयाँ आशा देखाएका हुन्। जसप्रति केही हदसम्म युवाहरुको आकर्षण पनि देखियो।’
विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शना मान्छेको अनुपस्थितिमा मात्रै उसले उठाएका मुद्दा, महत्व देख्ने संस्कारमा परिवर्तन आउनुपर्ने बताउँछिन्।
‘उहाँले छाड्नुभएको संस्कार हो। भौतिक शरीर नरहेपनि संस्कार अमर रहन्छ,’ दर्शना भन्छिन्, ‘उहाँको आइडियामा धेरै जनाको विश्वास भएको हामीले देखिसकेका छौँ। उहाँको देहत्याग भएपछि धेरैजनाले रिग्रेट, रियलाइजेसन गरिरहनुभएको छ। मान्छेको अनुपस्थितिमा मात्रै त्यो कुराको महत्व देख्ने संस्कारमा परिवर्तन हुनु आवश्यक छ।’
प्रतिक्रिया