समाज


तेस्रो लहरमा बालबालिका बढी संक्रमणको जोखिममा, तयारी सुस्त

तेस्रो लहरमा बालबालिका बढी संक्रमणको जोखिममा, तयारी सुस्त

यज्ञराज जोशी
जेठ २३, २०७८ आइतबार ११:३८,

कोरोनाको तेस्रो लहर आए बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार नै सबै अस्पताललाई कम्तीमा २० प्रतिशत बेड छुट्याउन निर्देशन दिइसकेको छ।

मन्त्रालयका प्रवक्ता तथा कान्ति बाल अस्पतालका पूर्वनिर्देशक डा. कृष्णप्रसाद पौडेलले भारत र युरोपमा देखिएको तेस्रो लहरमा बालबालिका बढी प्रभावित भएको देखिएकाले नेपालमा पनि सचेत हुनुपर्ने अवस्था आएको बताए।

‘भारतको उत्तराखण्ड, महाराष्ट्र र युरोपतिर पनि तेस्रो लहरमा बालबालिकाहरु बढी संक्रमित देखिएका छन्,’ डा. पौडेलले भने, ‘यहाँ पनि देखिनसक्छ भनेर तयारी अवस्थामा रहन भनेका हौँ। १८ वर्षमुनिका बालबालिकालाई खोप नलगाएकाले पनि उनीहरु तेस्रो लहरमा संक्रमित हुनसक्ने जोखिम बढी छ।’

नेपालमा पहिलो लहरमा देखिएका जम्मा संक्रमितमध्ये ८ प्रतिशत बालबालिका छन्। तर, दोस्रो लहरमा बालबालिकामा संक्रमण केही बढेको छ। दोस्रो लहरमा १० प्रतिशतको हाराहारीमा संक्रमण देखिएको छ।

मन्त्रालयको तथ्यांकअनुसार हालसम्म १८ वर्षमुनिका ४५ हजार जनामा संक्रमण देखिसकेको छ। कोरोनाबाट हालसम्म ६० जना बालबालिकाले ज्यान गुमाइसकेका छन्।

मन्त्रालयले तेस्रो लहरमा कति बालबालिका संक्रमित होलान् भन्ने आकलनका लागि सेरोप्रेभेलेन्स सर्भे समेत गर्ने जनाएको छ।

‘तेस्रो लहर देखिएका मुलुकमा बालबालिकामा संक्रमण तीव्र देखिएको छ। अहिले नै तयारी गरेनौँ भने पछि तेस्रो लहरका बेला हामी पछि पर्छौँ,’ पौडेलले भने, ‘आकँलन गर्दैछौँ। ठ्याक्क यति नै होला भन्ने छैन। सेरोप्रेभेलेन्स सर्वे गरेपछि यति प्रतिशतमा संक्रमण भएको छ र होला भन्ने आकलन गर्ने सकिएला।’

जोखिम कति?
कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा. रामहरि चापागाईंले नेपालमा जनसंख्याको ठूलो हिस्सा बालबालिका रहेकाले संक्रमणको जोखिम उनीहरुलाई बढी भएको बताए।

‘अघिल्लो लहरभन्दा दोस्रो लहरमा पनि बालबालिकालाई संक्रमण बढेको छ,’ डा. चापागाईंले भने, ‘भाइरस हरेक पटक रुप फेर्दै आउँछ। नयाँ भेरियन्टले बालबालिकालाई बढी प्रभावित परेको देखियो। नयाँ भाइरस र १८ वर्षमुनिकालाई खोप नलगाएकाले पनि उनीहरुमा जोखिम बढी देखिएको हो।’

बालबालिकालाई हात धुने, मास्क लगाउने, दुरी कायम गर्नेजस्ता कोरोनाबाट बच्ने उपाय गराउन कठिन हुने भएकाले पनि संक्रमणको जोखिम बढी हुने डा. चापागाईं बताउँछन्। यस्तै, स्कुलहरु पनि खुल्दै जाँदा भीडभाड बढ्ने र भाइरस फैलिेन जोखिम बढी रहेको उनले बताए।

नेपाल बालचिकित्सा सामाजका अध्यक्ष डा. गणेश राईले युरोपमा १२ वर्षबाट खोप लगाउन सुरु गरिसकेकाले बालबालिकालाई जोगाउन उक्त खोप ल्याउनेतर्फ पनि ध्यान पुर्‍याउनुपर्ने बताए। नेपालले पनि मापदण्ड अनुसार क्लिनिकल ट्रायलमा हिस्सा लिनुपर्ने उनको भनाइ छ। जसबाट खोपमा पनि अधिकार हुने उनले बताए।

कान्ति बाल अस्पतालका पूर्वनिर्देशक समेत रहेका राईले कोरोनाले बालबालिकाहरुमा ‘एमआईएस–सी’ रोग बढी देखिएकाले त्यसको रोकथाम तथा नियन्त्रणमा ध्यान दिनुपर्ने बताए।

‘बच्चालाई दुई हप्तादेखि ६ हप्तासम्म एमआइएस–सी नामक रोग देखिएको छ। यसले उच्च ज्वरो, उल्टी हुने, पखाला लाग्ने र अंगहरु बिग्रिँदै जाने समस्या निम्त्याएको छ,’ उनले भने, ‘यो एकदमै सिरियस अवस्था हो। त्यसबाट जोगाउन समयमै होस पुर्‍याउन आवश्यक छ।’

उपत्यकाबाहिर दुई वटा मात्र बाल अस्पताल
स्वास्थ्य मन्त्रालयले बालबालिका तेस्रो लहरबाट बढी जोखिम छ भनिरहे पनि यसको रोकथामको पर्याप्त तयारी भने गरेको छैन। मन्त्रालयले हालसम्म बेड छुट्याउने निर्देशन दिनुबाहेक केही काम गरेको छैन।

उपत्यकाबाहिर बालबालिकाका लागि डेडिकेटेड अस्पताल नभएकाले अबको समय चुनौतीपूर्ण हुने डा. चापागाईं बताउँछन्।

‘काठमाडौंबाहिर चितवन र लुम्बिनीबाहेक अरु क्षेत्रमा बाल अस्पताल छैन। अन्य अस्पतालमा डिपार्टमेन्टका रुपमा बाल रोग सेवा दिइन्छ,’ उनले भने, ‘विभागकै रुपमा मात्रै हुँदा त्यहाँ बालबालिकालाई चाहिने विशेषज्ञ, क्रिटिकल सेवाको अभाव हुन्छ। त्यस्तो अवस्थामा क्रिटिकल अवस्थामा पुगेका बालबालिकालाई जोगाउन मुस्किल पर्छ।’

अहिलेसम्म कोरोनाका लागि बनाइएका र थपिएका भौतिक पूर्वाधारहरु पनि बालबालिकामैत्री बनाउन ध्यान नदिइएको उनले बताए। बालबालिकाका लागि छुट्टै आईसीयूको आवश्यक पर्ने भएकाले तत्काल त्यसको व्यवस्थापनमा लाग्नुपर्ने उनको भनाइ छ।

‘जनसंख्याको ४० प्रतिशत बालबालिका छन्। उनीहरुले खोप पाएका छैनन्। उनीहरुमा कुपोषणको पनि समस्या हुने भएकाले धेरै प्रभावित हुनसक्छन् भन्ने आकलन हो,’ उनले थपे, ‘४० प्रतिशतमा एक तिहाइ मात्रै संक्रमित भए पनि ठूलो पूर्वाधार, जनशक्ति चाहिन्छ। त्यसको तयारीमा तत्काल जुट्नुपर्छ।’

उनले सरकारले २० प्रतिशत बेड छुट्याउन दिएको निर्देशन सकारात्मक भएपनि त्यो कागजमा मात्रै रहनसक्ने औँल्याए।

मन्त्रालयले सबै अस्पतालहरुलाई उपलब्ध गराएको बजेटबाट बालबालिकालाई २० प्रतिशत बेड छुट्याउन भनेको प्रवक्ता पौडेलले बताए।

‘मन्त्रालयले सबै अस्पतालहरुलाई आईसीयू, एचडीयू, बेड तयार पार्न बजेट दिएको छ। त्यही बजेटबाट बालबालिकालाई बजेट छुट्याउन भनेका छौँ,’ उनले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा पनि अस्पतालका लागि बजेट विनियोजन भएको छ। पूर्वाधारहरु थपिने क्रममा छन्।’

अभिभावकले पनि बालबालिकालाई कोरोनाबाट जोगाउन विशेष ध्यान पुर्‍याउनुपर्ने उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .