दाङमा स्रोत नखुलेको झण्डै १६ लाख भारतीय रकमसहित पाँच व्यक्ति पक्राउ परेका छन्। पक्राउपर्नेमा एक महिलासहित चार पुरुष रहेका छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँके जिल्लाको कोहलपुर नगरपालिका–२ प्रेमनगर निवासी ४२ वर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–९ निवासी ४३ वर्षीय प्रकाश केसी र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक रहेका छन्।
जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले उनीहरु सबैलाई सुराकीका आधारमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको लमही नगरपालिका वडा नं ९ जलकुन्डी क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए। उनीहरुको साथबाट स्रोत नखुलेको भारु १५ लाख ७९ हजार ५८० रकम बरामद भएको प्रहरी नायब उपलरीक्षक शाहले बताए। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया