समाज


दुई दिन मनसुन सक्रिय रहने, आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

दुई दिन मनसुन सक्रिय रहने, आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालखबर
असार १२, २०७८ शनिबार १:४०,

आज देशका धेरै स्थानमा पानी पर्ने र पाँचवटा प्रदेशमा भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले पनि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको छ।

आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

बुलेटिनअनुसार यस क्रममा पाँचवटा प्रदेशमा भने भारी वर्षासमेत हुने सम्भावना देखिएको छ।

बुलेटिनमा भनिएको छ : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

मौुसमविद् मानन्धरका अनुुसार हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना त सबैतिर छ भने भारी वर्षाचाहिँ उल्लिखित प्रदेशका कुनै कुनै स्थानमा हुने हो।

‘प्रदेशभरि नै भारी वर्षा हुने त होइन, तर ती प्रदेशका थोरै स्थानमा, जुनसुकै ठाउँमा हुन सक्छ,’ मौसमविद् मानन्धरले शनिबार बिहान नेपालखबरसँग भनिन्।

बागमती प्रदेशअन्तर्गत आज काठमाडौं उपत्यकामा पनि भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। यस क्रममा प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद् मानन्धरका अनुसार आज (शनिबार) र भोलि मनसुन सक्रिय रहने देखिएको छ।

‘अहिले पानी पार्ने बादल सुदूरपश्चिम र कर्णाली प्रदेशयताका पाँचवटा प्रदेशमा बढी देखिएको छ,’ उनले भनिन्, ‘यो दुई दिन यिनै प्रदेशमा बढी वर्षाको सम्भावना देखिएको छ।’

मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .