समाज


टोर्नेडोको नेपाली नाम ‘घुम्रपात’

टोर्नेडोको नेपाली नाम ‘घुम्रपात’

भीष्मराज ओझा
भदौ ८, २०७६ आइतबार १०:२४,

गत चैत १७ गते साँझ बारा र पर्सामा आएको ‘टोर्नेडो’को नेपाली नाम ‘घुम्रपात’ नामकरण गर्न सिफारिस गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले एक अध्ययन समिति बनाई सो नाम सिफारिस गरेको हो। लामो छलफल र अध्ययनपछि ‘टोर्नेडो’ घुमीघुमी आउने र त्यसले उत्पात मच्चाउने भएकाले उक्त दुवै कार्य समेटिने गरी सो शब्द सिफारिस गरिएको विभागका महानिर्देशक सरजु वैद्यले जानकारी दिए।

विभागका महानिर्देशकको संयोकत्वमा गठित आठ सदस्यीय मौसमविद्सहितको टोलीले स्थलगत तथा अन्य अध्ययन गरी विभिन्न छ नाम छनोट गरेको थियो। ती छ नाममध्ये समितिमा ‘भोटिङ’ गरी ‘घुम्रपात’ शब्दलाई छनोट गरेर सो नामकरण गर्न सिफारिस गरिएको हो। ‘घुम्रपात’ नयाँ शब्द भएकाले नेपाली शब्दकोषमा पनि राख्नका लागि पहल गरिने बताइएको छ।

उक्त भीषण हावाहुरीबाट भएको क्षति, नाम, टोर्नाडो भएको पुष्टिका आधार, कसरी आएको थियो भन्ने मौसमी अवस्थाको जानकारी, हावाको गति, लम्बाइ र चौडाइ, स्थानीयको अनुभवलगायत मौसमी गतिविधिको विश्लेषण गरेर समितिले प्रतिवेदन तयार गरेको महानिर्देशक वैद्यले बताए। समितिले उक्त प्रतिवेदन दुई हप्ताअघि मन्त्रालयमा बुझाइसकेको छ। मन्त्रालयले आवश्यक तयारी गरी उक्त प्रतिवेदन सार्वजनिक गर्ने जनाएको छ।

बारा र पर्सामा भीषण हावाहुरी आएलगत्तै जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) र द स्मल अर्थ नेपाल संस्थाका छ सदस्यीय मौसमविद्को टोलीले गत चैत २० देखि २४ गतेसम्म प्रभावित क्षेत्रको स्थलगत अध्ययन गरेको थियो। टोलीले उक्त मौसम प्रणाली ‘टोर्नेडो’ भएको तथ्य सार्वजनिक गरेको छ।

विभागका वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठ नेतृत्वको उक्त टोलीले ड्रोन क्यामेराबाट क्षतिको अवस्थाबारे भिडियो र तस्बिर लिनाका साथै प्रभावित क्षेत्रका स्थानीयवासीसँग जानकारी लिएको थियो। यसबाहेक भू–उपग्रहबाट लिइएका तस्बिरको समेत अध्ययन गरी विश्लेषण गरिएको थियो। ‘टोर्नेडो’ पर्साको जगत्नाथपुरबाट शुरु भई बाराको बैरियामा पुगेर कमजोर भएको थियो।

hawahuriगत चैत १७ गते बारा र पर्सामा आएको ‘घुम्रपात’ काे असर

उक्त मौसम प्रणाली पोखरामा उत्पन्न भई पर्सा राष्ट्रिय निकुञ्जबाट शुरु भएको अनुमान गरिएको थियो। भू–उपग्रहको तस्बिरका आधारमा ‘टोर्नाडो’ करीब ३५ किमी लम्बाइ र औसतमा २०० मिटर चौडाइ रहेको प्रारम्भिक तथ्याङ्क त्यसबेला सार्वजनिक गरिएको थियो। यद्यपि चौडाइ एकैनासको नभई फरकफरक रहेको देखिन्छ।

प्रभावित क्षेत्र नजिक मौसमी राडार नभएकाले उक्त मौसमी प्रणालीको तथ्याङ्क रेकर्ड गर्न नसकिएको विभागले जनाएको छ। टोर्नाडोमा परी बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए। हावाहुरीले घटना प्रभावित क्षेत्रका अधिकांश घरमा ठूलो क्षति पुर्‍याएको थियो। यसअघि नेपालमा ‘टोर्नेडो’ को घटना भएको अभिलेख छैन। रासस

याे पनि : बारामा यसरी आयो अमेरिकामा आइरहने आँधी ‘टोर्नेडो’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad