ad ad

समाज


राक्सिराङमा हाटबजार : गिठ्ठा-सिस्नुबाट आम्दानी, बिक्न थाल्यो दही-मोही

राक्सिराङमा हाटबजार : गिठ्ठा-सिस्नुबाट आम्दानी, बिक्न थाल्यो दही-मोही

सुनिता विष्ट
माघ १८, २०८० बिहिबार ८:१२, हेटौँडा

मकवानपुरको राक्सिराङ गाउँपालिका- ५ सरिखेतकी ५२ बर्षीया उर्मिला कार्कीको बारीमा लटरम्मै कागती फल्थे बोटमै पहेंला भएर पाकेका कागती बजार अभावमा भूइँमा झरेरै सकिन्थे। 

करेसाबारीमा उम्रिएका पिंडालु खाएर नसकिने भएपछि घरछेउमा सानो खाल्टो खनेर पुरेर राखेकी थिइन्। त्यसरी पुरेर राखेकाे पिँडालु  केही समयपछि तरकारीको रुपमा खाने गरेकी  थिइन्।

आफ्नै करेसा बारीमा फलेका फलफूल र अन्य खाद्यान्न खान भ्याए खायो, नभ्याए कुहिएर जाने समस्या झेल्दै आएकी उनलाई अब यो चिन्ता हटेको छ।  यसको कारण हो, गाउँमै १५र१५ दिनमा लाग्ने हाट बजार।

घर नजिकै पाक्षिक रुपमा हाटबजार लाग्न थालेपछि उर्मिलाले उत्पादन गरेको कागती र पिडालुले भाउ (मूल्य) पाउँन थालेको छ। यति मात्रै होइन, गुन्द्रुक, मकै र कोदोको पिठो समेत गाउँमै राम्राे मूल्यमा बिक्न थालेपछि उनी दंग छिन्। 

‘यहाँ बजार लाग्न थालेपछि करेसाबारीमा फलेका तरुल, कागती, पिठो बिक्न थालेको छ,’ हाटबजारमा व्यस्त देखिएकी कार्कीले खुसी हुँदै  भनिन्, ‘आम्दानी पनि भएको छ। फलेका खाने कुराहरु खेर फाल्न पनि नपर्ने भयो। पहिला पहिला थोरै सामान बोकेर मनहरी बजार जानुपथ्र्यो। उता जाँदा आउँदा सामान बेचेकाे पैसाले भाडा तिर्न पनि पुग्दैनथ्याे। गाउँमै हाट बजार लागेपछि हामीलाई निकै सजिलो भएको छ।’

कार्कीसँगै बजारमा भेटिएकी सरीखेतकै नोज कुमारी कार्की पनि उत्तिकै खुसी देखिइन्। उनको घरमा एउटा दुहुनो भैंसी छ। भैंसीले दिएको दूध परिवारले मात्रै खाएर सकिँदैन।

विगतमा उनी परिवारका सदस्यले खाएर बचेको दुधबाट घ्यू बनाउँथिन्। परिवारका सदस्यले खाएर नसकेकाे घ्यु आफन्तले कोशेलीको रुपमा लैजान्थे। अचेल घ्यू बेचेर उनले भान्साको लागि आवश्यक पर्ने नुन, तेल जोहो गर्न थालेकी छन्।

‘मोही ५० रुपैयाँ बोतलमा बेच्ने गरेको छु। घ्यू एक हजार रुपैयाँ लिटरमा बेच्छु,’ उनले खुसी हुँदै भनिन्, ‘बारीमा फलेको मास र साग पनि बेच्न ल्याएको छु। अघिल्लो पटकको हाट लाग्दा १२ हजार रुपैयाँको सामान बेचेको थिएँ। यो पटक पनि त्यति नै आम्दानी हुन्छ होला।’

राक्सिराङ‍- ८ का जयबहादुर प्रजा हाट बजारमा जंगलमा पाइने गिठ्ठा पनि बिक्ने गरेको बताए। ‘अचेल त गिठ्ठा बेचेर पनि आम्दानी गर्दै आएका छौँ,’ उनले भने। 

अम्रिसोको कुचो र गिठ्ठा लिएर जयबहादुर श्रीमतीलाई पनि साथमा लिएर बजार आएका छन्। बजारमै उनले ग्राहकलाई गिठ्ठाको स्वाद चखाइरहेका छन्। 

स्वास्थ्यको लागि बहुउपयोगी समेत रहेको गिठ्ठा बिक्री गरेर घर फर्कने बेला आफ्ना छोराछोरीको लागि कापी र भान्साको लागि नुन तेल लैजाने सोच रहेको जयबहादुरले बताए। 

गाउँमै फलेका गिठ्ठाभ्याकुर, रायोको साग, कोदो, फापरको पिठो, पानी घट्टामा पिसेको मकैको पिठो पाइने भएपछि हाट बजारमा राक्सिराङका मात्रै होइन, मनहरी देखिका ग्राहक पुग्ने गरेका छन्। 

स्थानीय उत्पादनलाई गाउँमै बिक्रि गरेर आम्दानीको स्रोत बढाउने लक्ष्यसहित गाउँपालिकाले हाट बजार सञ्चालन गर्ने निर्णय गरेको हो। गत पुस १५ गतेबाट यहाँ हाटबजार लाग्न सुरु भएको हो। अहिलेसम्म तीनपटक यहाँ बजार लागिसकेको छ। 

सोमबार राक्सिराङ- ५ चैनपुरमा सञ्चालित हाट बजारमा गाउँमै उत्पादित रैथाने बालीदेखि सिस्नु र अर्गानिक च्याउदेखि वन तरुलसम्म बिक्री गर्नका लागि स्थानीयले ल्याएका थिए। 

गाउँमै फलेका कृषि वस्तुहरु गाउँमै बिक्री भएको अनुभव यहाँका बासिन्दामा यसअघि थिएन।  गाउँपालिकाले अघिल्लो वर्षबाट सुरु गरेको हाट बजार बर्खा लागेपछि केही समय रोकिएको थियो। 

यो वर्ष गत पुसबाट पुनः हाट बजरा सुरु गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए। 

‘स्थानीय संस्कृती र रैथाने बालीको संरक्षण र संवद्र्धनका लागि हामीले हाट बजार सञ्चालन गर्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘हामीले स्थानीयलाई आयआर्जनमा जोड्न र यहाँको संस्कृती संरक्षणका लागि हाट बजार सञ्चालन गर्ने निर्णय गरेका थियौँ। सोही अनुसार सञ्चालन गरिरहेका छौँ। यसको जिम्मा प्रत्येक वडालाई दिएका छौँ। उत्कृष्ट हुने वडालाई पुरष्कृत गर्ने याेजना पनि छ।’

गएको सोमबार हाट बजार उद्घाटन तथा सञ्चालनको जिम्मा वडा नम्बर- ८ को थियो। कार्यक्रममा चेपाङ जातिको पहिचान झल्काउने नाच, गान तथा नाटकहरु समेत प्रस्तुत गरिएको थियो। 

हाट बजारमा स्थानीय उत्पादनहरु जस्तै, चिउरीको मह, तरुल, गहत, मास, मस्याङ, भटमास, गोलभेँडा, काउली, गुन्द्रुक, लोकल कुखुरा, लोकल खसीको मासु, लोकल बंगुरको मासु, आरनमा उत्पादित फलामे औजारसहित स्थानीय उत्पादनको बिक्री हुने गरेकाे छ।

चालू आर्थिक वर्षमा १० पटक यहाँ हाटबजार मेला आयोजना गर्ने पूर्व याेजना छ। गाउँ कार्यपालिका कार्यालयले जनाए अनुसार फागुन १ र ५, चैत १ र १५, वैशाख १ र १५, जेठ १ र १५ मा यहाँ हाट बजार सञ्चालन हुनेछ। 

अध्यक्ष राजकुमार मल्लले दिएको जानकारी अनुसार हाटबजारलाई अब नितान्त मौलिक उत्पादन, कला, साहित्यको चौतारीको रुपमा विकास गरिनेछ।

अब हरेक हाट बजारमा फरक-फरक वडाले आफ्नो कला, साहित्य, संस्कृति प्रदर्शन गर्नेछन् भने प्रतियोगितात्मक रुपमा कार्यक्रमहरु गरिनेछन्। जस अनुसार अब फागुन १ गते ७ नं. वडा कार्यालय, फागुन १५ गते ६ नं. वडा कार्यालय, चैत १ गते ५ नं. वडा कार्यालय, चैत १५ गते ४ नं. वडा कार्यालय, बैशाख १ गते ९ नं. वडा कार्यालय, बैशाख १५ गते २ नं. वडा कार्यालय, जेठ १ गते १ नं. वडा कार्यालयले हाट बजारमा प्रस्तुतिको व्यवस्थापन गर्नेछन्।

जेठ १५ गते भने हाट बजार व्यवस्थापन समितिले औपचारिक कार्यक्रम गरी उत्कृष्ट प्रस्तुति दिनेलाई प्रमाणपत्र, पुरस्कारसहित हाट बजारको अन्त्य भएको घोषणा गरिने गाउँपालिका अध्यक्ष मल्लले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .